सिबी अधिकारी

सकसपूर्ण दशैं यात्रा, १० दिनमा १ लाख ३४ हजार हवाई यात्रा

काठमाडौं । सामान्य अवस्थामै पनि हरेक वर्ष दशैंको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चाहे त्यो हवाइजहाजको यात्रा होस् या सडक यात्रा दुवै कष्टकरपूर्ण हुन्छ । सङ्घीय राजधानी काठमाडौँ बाहिरका गन्तव्य जाने र दशैं सकिएपछि गन्तव्य फर्किने नागरिकको सङ्ख्या अत्यधिक भएकाले हरेक वर्ष दशैंको यात्रा कष्टकर हुने गरेको छ । हवाई उडान महँगो भए पनि यात्रुले सहज रूपमा टिकट नपाउने समस्या छ । बसको टिकट पाउन पनि मुस्किल पर्छ । सधैँ जसो दशैंको सकसपूर्ण यात्रालाई यसपटकको प्राकृतिक विपत्तिले झनै सकसपूर्ण बनायो । दशैंको विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ देखि २० सम्म निरन्तरको भारी वर्षाले मुलुकभरको जनजीवन प्रभावित भयो । मानवीय क्षति व्यहोर्नुपर्यो । राजधानी प्रवेश गर्ने मुख्य नाकाहरू अवरुद्ध भए । हवाई आवागमन पनि एक दिन पूर्ण रूपमा अवरुद्ध भयो । असोज १८ गते उडान प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्दसमेत भयो । उक्त दिन प्रतिकूल मौसम तथा खराब ‘इनरुट’का कारण हवाई उडान रद्द हुँदा उडानमा समेत अत्यधिक चाप बढ्यो । वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हरेक वर्ष दशैंको बेला उडान चाप व्यहोरिरहेका हवाई कम्पनीलाई यसपटक दशैंमै भएको प्राकृतिक विपत्तिले उडान चाप हुँदा यात्रुले निकै सकस व्यहोर्नुपरेको बताए ।  ‘दशैंमा सामान्य अवस्थामा पनि हवाई उडान अत्यधिक चाप हुन्थ्यो । यसपटक प्राकृतिक विपत्तिले झनै सास्ती दियो । गन्तव्य पुगेकालाई फर्कन झनै सकस भयो । सडक अवरुद्ध हुँदा हवाई उडान चाप बढ्यो,’ उनले भने । दशैंमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रूपमा हवाईसेवालाई लिइन्छ । बर्सेनि दशैंका बेला यात्रुलाई हवाई जहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैंआउन एक महिनाअघि नै जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । उसै पनि दशैंमा चाप हुने गरेको हवाई उडान वर्षात्पछिका बाढीपहिरोको विपत्तिले थप समस्या निम्त्यायो । यात्रुले महँगो मूल्य तिरेर पनि हवाई टिकट पाउन सकेनन् । समस्यामा परेका यात्रु २/४ दिनसम्म टिकटका लागि भौतारिनु पर्यो । हवाइसेवा कम्पनीलाई पनि यात्रुको चाप र प्रेसर धान्न ठूलै सकस भयो । यात्रुलाई माग बमोजिम टिकट उपलब्ध गराउन नसक्नु र हवाई उडान व्यवस्थापनको चुनौतीले एयरलाइन्स कम्पनीले पनि उत्तिकै सकस व्यहोरे । यात्रुको चाप बढेपछि एयरलाइन्सले केही गन्तव्यमा उडान थपेर पनि सेवा दिए । राति २ बजेदेखि ३ बजेसम्म पनि उडान गर्नुपर्ने बाध्यता रह्यो । १० दिनमा १ लाख ३४ हजारले गरे हवाई यात्रा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार १० दिनमा करिब डेढ लाखले हवाई यात्रा गरेका छन् । असोज १२ देखि २१ गतेसम्म कुल १ लाख ३४ हजार ५१५ यात्रुले हवाई यात्रा गरेका हुन् । यसमध्ये ७४ हजार ५९१ यात्रु बाहिरिए भने ५९ हजार ५४४ यात्रु काठमाडौं भित्रिएका छन् । उक्त अवधिमा १ हजार २८५ उडान र १ हजार २६३ अवतरण गरी कुल २ हजार ५४८ उडान भएका छन् । एकै दिन १९ हजार २५५ हवाई यात्रु विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार गत असोज २० गते आन्तरिक तर्फ एकैदिन १९ हजार २५५ यात्रु आवतजावत गरेका छन् । जसमध्ये ९ हजार ९३६ हवाई यात्रु काठमाडौं भित्रिए भने ९ हजार १३८ बाहिरिएका छन् । १८१ यात्रुले पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरेका छन् । उक्त दिन आन्तरिक तर्फ १६४ उडान र १६० अवतरण गरी ३२४ उडान भएका थिए । आकडा अनुसार असोज १२ गते १४ हजार १८९, १३ गते १३ हजार १३५, १४ गते ११ हजार ७६९, १५ गते ११ हजार ८९१, १६ गते १३ हजार ३०९, १७ गते १६ हजार ३४५, १८ गते मात्र ६०३, १९ गते १६ हजार ३००, २० गते १९ हजार २५५ र २१ गते १७ हजार ७२२ यात्रुले हवाई यात्रा गरेका छन् । वर्षाले सडक अवरुद्ध भएपछि सडक सवारीसाधनबाट यात्रा गर्ने यात्रुले पनि हवाई यात्रा रोज्नुपर्ने बाध्यता भएकाले यसपटक हवाई उडानमा बढी चाप भएको सङ्घका अध्यक्ष कार्कीले बताए । यात्रुको चापले एयरलाइन्सलाई उडान व्यवस्थापन गर्न पनि कठिनाइ भएको उनको भनाइ छ । दशैंको समयमा भएको प्राकृतिक विपत्तिले एयरलाइन्सलाई उडान व्यवस्था गर्न निकै चुनौती भएको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए ।  ‘दशैंको एक दिन सम्पूर्ण उडान रद्द हुँदा त्यसको ३/४ दिनसम्म उडान व्यवस्थापन गर्न कठिन भयो,’ उनले भने, ‘बिहीबारसम्म एयरलाइन्सलाई उडान व्यवस्थापनमा समस्या भएको छ । शनिबारदेखि सामान्य अवस्थामा आउला ।’ बुद्ध एयरले मात्रै असार २० गते एकै दिन ११ हजार र २१ गते ११ हजार हाराहारी उडान गरेको छ । कम्पनीले अहिले दुईतर्फी दैनिक १६० उडान गर्दै आएको छ । उडान चाप बढेका बेला प्रतिकूल मौसमले उडान अवरोध हुँदा थप समस्या भएको निर्देशक जोशीको भनाइ छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दशैंको बेलाको प्राकृतिक विपत्तिले हवाई उडान व्यवस्थापन निकै सास्ती व्यहोर्नुपरेको बताए ।  ‘दशैंमै एक्कासी परेको वर्षाले प्रतिकूल मौसम हुँदा उडानमा समस्या भयो । गत वर्ष दशैं अगाडि नै मनसुनी वर्षा भएकाले तुलनात्मक रूपमा दशैंमा उडान व्यवस्थापन गर्न कठिन भएको थिएन । यो पटक हवाई यात्रा सकसपूर्ण रह्यो,’ उनले भने ।  क्षमताभन्दा बढी उडान गर्नुपर्ने र टिकटका लागि यात्रुको प्रेसर थेगिनसक्नु रहेको प्रवक्ता बर्तौलाले बताए । यतीले अहिले दैनिक दुईतर्फी ६० देखि ७० उडान गरिरहेको छ । यता श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि यसपटक उडान व्यवस्थापन र यात्रुको चाप धान्न निकै कठिन भएको बताउँछन् । केही गन्तव्यमा उडान थपिए पनि उडान ‘डिले’ हुँदा व्यवस्थापनमा चुनौती बढेको बताए । टिकटका लागि यात्रुको निकै प्रेसर थेग्नुपरेको उनले उल्लेख गरे । श्रीएयरले पनि दैनिक दुईतर्फी करिब ७० उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादर अनुसार काठमाडौंदेखि सबैभन्दा लामो गन्तव्य धनगढीमा १७ हजार ५७९ रुपैया र सबैभन्दा नजिक काठमाडौं-सिमरामा ३ हजार ९७८ रुपैयाँ रहेको छ । अविरल वर्षापछि आएको बाढीले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा हवाई यात्रा गर्ने यात्रुलाई समेत निकै सास्ती भयो । हाइवेको बाटो लामो घुम्ती पार गरेर यात्रा गर्नुपर्ने भएकाले करिब ८ देखि १० घण्टाको यात्रा थप १० घण्टा लामो सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भयो । बसको भाडा पनि झण्डै दोब्बर तिर्नुपर्यो यात्रुले । उदाहरणका रूपमा धरानबाट काठमाडौं आउने बोलेरो जिपले साबिकमा २ हजार रुपैयाँ भाडा लिने गरेकामा दशैंमा ३ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म भाडा लिएको पाइयो । त्यसैगरी, कटारी–काठमाडौं साविकमा १ हजार २ सय रुपैयाँ भाडा थियो । अहिले यात्रुले ३ हजार रुपैयाँसम्म तिरेर यात्रा गर्न बाध्य भएका छन् । हरेक वर्ष दशैंमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रामाइलो गर्ने चाहना सबैलाई हुन्छ । तर, दशैंमा एयरलाइन्सको टिकट पाउन मुस्किल हुन्छ । हवाई यात्रुको चाप बढ्छ । सीमित जहाज र पर्याप्त उडान नहुँदा बर्सेनि हवाई यात्रुले सास्ती व्यहोर्दै आएका छन् । हवाई यात्रा सहज, सुलभ र उडान सहजीकरण बनाउन सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।

दसैँमा वर्षेनी महङ्गो भाडाको मारमा हवाई यात्रु, कसरी बढ्छ हवाई भाडा ?

काठमाडौं । दसैँमा गाउँघर पुगेर आफन्त र साथी भाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला ! तर, दसैँका बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरूको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले अनलाइनबाट टिकट पाउन मुस्किल छ । सहुलियत दरका टिकट त परैको कुरा महँगो टिकट पनि पाउन सकस छ । काठमाडौंदेखि सबैभन्दा लामो गन्तव्य धनगढीका लागि १७ हजार रुपैयाँभन्दा बढी हवाई भाडा पर्छ । काठमाडौं-विराटनगरमा ९ हजार ७ सय रुपैयाँ छ । धनगढीकी निशा पाण्डे महंँगै भए पनि हवाई टिकटको खोजीमा निकै दिन भौतारिन् । मुस्किलले महँगो दरमा हवाई टिकट पाइन् । उनलाई धनगढीबाट कसरी फर्किने भन्ने अर्को चिन्ता छ । बझाङका वसन्तराज जोशीलाई विगतका वर्षझैँ यसवर्ष पनि दसैँमा टिकट पाउन निकै सास्ती बेहोर्नुपर्यो । मोरङकी सङ्गीता सापकोटाले विराटनगरका लागि हवाई टिकट नपाएपछि गाडीबाटै गन्तव्यतर्फ लागिन् ।  हवाई भाडा महँगो भएको गुनासो बढेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडादर सस्तो बनाउन पटक–पटक वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । दसैँमा यात्रुको चापलाई मध्यनजर गरी उडान सहजीकरण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले, क्यानका पदाधिकारी, वायुसेवा कम्पनीका प्रतिनिधिसँग हालै छलफल पनि गरेको थियो । किन हरेक वर्ष दसैँमा हवाई भाडा महँगो हुन्छ भन्ने जिज्ञासामा क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, ‘अहिले सबै मानिसले हवाई भाडा महँगो भयो भनिरहेका छन् । हामीले हवाई भाडा सस्तो गर्नु निरन्तर वायुसेवा कम्पनीलाई निर्देशन दिइरहेका छौँ । सोही निर्देशन बमोजिम बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले धनगढीका लागि उच्चतम भाडा १७ हजार रुपैयाँ रहेकामा १२ हजार ५०० रुपैयाँसम्ममा टिकट बिक्री गरेको सिस्टममा देखाएको छ ।’ सूचना अधिकारी भूलले यो समस्या हरेक पटक दोहोरिरहेकाले हवाई भाडा प्रणालीबारे स्पष्ट हुन जरुरी रहेको उल्लेख गरे । नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ का अनुसार नेपालको हवाई यातायातमा यदि यात्रु वा कार्गोको भाडा दर तोक्नु परेमा क्यानले सिफारिस गर्ने, नेपाल सरकारले निर्धारण गर्ने र त्यो लागू भए/नभएको क्यानले अनुगमन गर्ने र कार्यान्वयन नभएमा क्यानको महानिर्देशकले सम्बन्धित एयरलाइन्सलाई कारबाही गर्ने व्यवस्था छ । सूचना अधिकारी भूलका अनुसार प्राधिकरण ऐन अन्तर्गत बनेको दुई वटा नियमावली छन् । सेवा प्रदायक र नियामक । जसमा विमानस्थल सेवा शुल्क नियमावली २०७८ र नागरिक उड्डयन नियमावली २०५८ । नागरिक उड्डयन नियमावलीमा अन्तर्राष्ट्रिय हवाई भाडा चाहिँ जुन देशसँग हवाई सम्झौता हुन्छ त्यो सम्झौताका आधारमा निर्धारण हुन्छ । अहिले नेपालले ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । अधिकतम मुलुकसँग ‘ओपन फेयर पोलिसी’ (फ्रि प्राइसिङ) माग र आपूर्तिका आधारमा हवाई भाडा निर्धारण गरिन्छ । सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा अधिकतम र न्यूनतम् हवाई भाडा तोक्ने हुनाले तोकिएको भन्दा बढी भाडा एयरलाइन्सले लिन नपाउने सूचना अधिकारी भूलले बताए । उनका अनुसार आन्तरिक तर्फ दुई प्रकारले भाडा निर्धारण हुन्छ । नियमित र चार्टर्ड उडान । यी दुवै उडानको भाडा दर क्यानबाट स्वीकृत हुनुपर्छ । उनले भने, ‘नियमित उडानमा यदि ५ हजार ७०० केजीभन्दा सानो जहाज अर्थात् १९ सिट क्षमता भन्दा सानो जहाज छ भने ‘सिङ्गल फेयर सिस्टम’ हुन्छ ।’ उदाहरणका रुपमा काठमाडौंबाट लुक्ला उड्ने ट्वीनअटर जहाजको भाडा दर एउटै हुन्छ । तर, १९ सिट क्षमताभन्दा माथिका एटीआर जहाजमा सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा न्यूनतम् र अधिकतम भाडा दर तोक्ने र एयरलाइन्सले न्यूनतम्, अधिकतमको भाडा निर्धारण गर्न पाउँछन् । हाल विराटनगरको हवाई भाडा ५ हजार १ सय रुपैयाँबाट ९ हजार ७ सय रुपैयाँ कायम छ । एयरलाइन्सले ५ हजार १ सय रुपैयाँदेखि ९ हजार ७ सय रुपैयाँसम्मका प्रत्येक टिकट बिक्री गर्न पाउँछ । तर, ५ हजार १ सय रुपैयाँ भन्दा कम र ९ हजार ७ सय रुपैयाँभन्दा बढी लिएमा गैरकानुनी हुन्छ ।  उनले काठमाडौंबाट विराटनगरको भाडा दर निर्धारण वायुसेवा कम्पनीको लागत दरका आधारमा हुने जानकारी दिए । सरकारले विसं २०७३ मा निर्धारण गरेको हवाई भाडा नै हालसम्म कायम छ । लागत दरमा हवाई इन्धनको मूल्य, जहाजको प्रकृतिको आधार, यात्रु सेवा शुल्क र १३ प्रतिशत कर यी चार कुराको आधारमा हवाई भाडा निर्धारण हुने क्यानले उल्लेख गरेको छ । पहिला साना जहाजको आधारमा भाडा निर्धारण गरिएको थियो । अहिले बजारमा एटीआर-७२ र सिआजे जहाज सञ्चालन भइरहेको छ यसले पनि हवाई भाडा बढेको बताइन्छ । नेपालमा हाल दक्षिण एसियाकै महँगो हवाई इन्धन रहेको अधिकारीहरू बताउँछन् । एयरलाइन्सले हवाई इन्धन, विमानस्थल शुल्क र १३ प्रतिशत करका कारण भाडा महङ्गो भएको जनाउँदै आएका छन् ।  राज्यकातर्फबाट इन्धन, विमानस्थल शुल्क र करमा सहुलियत दिएमा मात्रै भाडा घटाउन सकिने विमान सेवा कम्पनीहरू बताउँछन् । कसरी बढ्छ हवाई भाडा ? यसैपनि काठमाडौंबाट एकतर्फी खाली सिट जहाज चलाउनुपर्ने भएकाले सञ्चालन खर्च व्यवस्थापनका लागि भाडा महँगो हुने विमान सञ्चालक कम्पनीहरू बताउँछन् ।  रुस र युक्रेनको युद्धले जहाजका पार्ट पुर्जा महँगो भएको छ । हवाई इन्धनको मूल्य चुलिएको छ । यिनै लगायत कारण हवाई भाडा महँगो भएको कम्पनीहरूको भनाइ छ । सरकारी स्वामित्वको नेपाल वायुसेवाको आन्तरिक बजारमा उपस्थिति कमजोर छ । करिब ९० प्रतिशत आन्तरिक हिस्सा निजी वायुसेवा कम्पनीको छ । ‘प्रत्येक वर्षको दुई महिना यस्तो समस्या आउँछ । सुगम गन्तव्यमा उड्ने जहाज ३० वटा छन् । दुर्गममा उड्ने जहाज १० वटा छन् । सिट क्षमता निश्चित छ । दैनिक १० हजार यात्रु उड्छन् । अहिले आन्तरिकमा वार्षिक ४५ लाख र अन्तर्राष्ट्रियमा ५० लाख यात्रुले हवाई यात्रा गर्छन् । अब, दुई महिनाका लागि मात्रै जहाज थप्ने कुरा भएन । यसकारण उडान चापले हवाई भाडा सस्तो गराउन समस्या हुन्छ,’ क्यानका सूचना अधिकारी भूल भन्छन् ।  उनले कानुनी रुपमा पनि एयरलाइन्सलाई कम मूल्यमा हवाई टिकट बिक्री गराउन नसकिएको उल्लेख गरे । हवाई भाडा दर कम गर्न कि एकल भाडा दरमा जानुपर्छ कि, इन्धनमा सहुलियत र करमा छुट दिनुपर्छ । तब मात्रै समस्याको समाधान हुने उनी बताउँछन् । नभए एयरलाइन्सलाई भाडा कम गर भनेर मात्रै विमान कम्पनी सञ्चालन गर्न समस्या हुने उनको जिकिर छ । वायुयान कोष सञ्चालन गरेर दसैँलगायत चाडपर्वको अवसरमा सम्बन्धित एयरलाइन्सलाई सहयोग गर्ने गरेको खण्डमा भाडा दर सस्तो हुने उनको भनाइ छ । नीतिगत सुधार गरेर वायुसेवा कम्पनी र यात्रु दुवै मर्कामा नपर्ने गरी हवाई भाडा समायोजन गर्नुपर्ने देखिन्छ । वायुसेवा सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले दसैँमा हवाई कम्पनीले तोकिएको उच्चतम भाडा दर भन्दा बढी भाडा नलिएको बताउँछन् । काठमाडौंबाट बाहिरका जिल्ला जाने यात्रुको अत्यधिक चाप रहेको र फर्किने यात्रु नभएकाले भाडा केही महङ्गो भएको उनले बताए । वायु सेवा प्रदायक कम्पनीले दसैँ आउन एक महिनाअघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा महङ्गो भाडा असुल्ने गरेको गुनासो सुनिन्छ । दसैँका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक विजयादशमीसम्म उडानमा चाप छ । आन्तरिकमा एकतर्फी दैनिक १६० हाराहारी उडान भइरहेका छन् । अन्तर्राष्‍ट्रियमा दैनिक १२० हाराहारी उडान भइरहेका छन् । निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले तोकिएको भन्दा बढी भाडा दर नलिएको दाबी गरेका छन् । दसैँमा यात्रुको चाप रहेकाले केही गन्तव्यमा हवाई टिकट पाउन समस्या रहेको उनीहरुको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फ गरी दैनिक ३५० हाराहारी उडान हुने गरेकामा हाल दैनिक ४५० भन्दा बढी उडान भइरहेका छन् । आन्तरिक तर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । 

हिमालहरूको आम्दानी १८.२१ करोड रुपैयाँ, आरोहीहरूको आकर्षण मनास्लुमा

काठमाडौं । शरद ऋतुमा हिमाल आरोहीहरूको आकर्षण मनास्लु (८ हजार १६३ मिटर) मा देखिएको छ । असोज १२ गतेसम्म मनास्लु आरोहणका ३१ समूहका ९५ महिला र २७९ पुरुषसहित ३७४ आरोहीले आरोहणको अनुमति लिएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । निर्देशक गौतमका अनुसार केही आरोहीले मनास्लु आरोहण गरिसकेका छन् भने केहीले तयारी गरिरहेका छन् । उनका अनुसार गत वर्षको यही याममा मनास्लु आरोहणका लागि २८ आरोही समूह थिए । मनास्लु आरोहणका लागि सेभन समिट ट्रेक्स प्रालि, सतोरी एड्भेन्चर प्रालि, इलाइट एक्सपेडलगायतका कम्पनी मनास्लुको आधार शिविर पुगिसकेका छन् । हाल मौसम अनुकूल रहेकाले विश्वको आठौँ अग्लो मनास्लुसँगै धौलागिरि हिमाल आरोहण जारी छ । त्यसबाहेक आमादब्लम, मेरापिक, आइल्यान्ड पिकलगायत हिमाल आरोहणका लागि आरोहीहरू गन्तव्यमा पुगेको विभागको भनाइ छ ।  विभागका अनुसार यस याममा विभिन्न ३६ हिमाल तथा पिक आरोहणका लागि नेपालसहित ६७ देशका १५२ महिला र ५१५ पुरुष गरी ६६७ आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार सगरमाथा आरोहणका लागि दुई आरोही समूहले अनुमति पाएका छन् । धौलागिरिमा एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् भने मकालु र ल्होत्सेमा समान एक समूहले अनुमति पाएको छ । हिम्लुङ हिमालमा ६ आरोही समूहका ४८ जनाले अनुमति लिएका छन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि यस याममा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको निर्देशक गौतमको भनाइ छ । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य ऋषिराम भण्डारीले यस वर्ष समग्र रुपमा मनास्लु आरोहण उत्साहजनक रहेको बताए । सतोरी एडभेन्चर प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका ऋषिराम भण्डारीले ३५ भन्दा बढी आरोही मनास्लु आरोहणमा गएका छन् । आमादब्लमलगायत हिमालमा पनि आरोहीको आकर्षण छ । नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष मिङ्मा ग्याबु शेर्पाले पनि मनास्लु आरोहण उत्साहबद्र्धक रहेको बताए ।  ‘विगतको भन्दा यो पटक धेरै सङ्ख्यामा आरोही आएका छन् । समग्रमा पर्वतारोहण उत्साहजनक रहेको छ,’ उनले भने ।  सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङमा शेर्पाले यस पटक मनास्लु आरोहण राम्रो भएको बताए ।  ‘यसपटक मनास्लुमा आरोहीको आकर्षण देखिएको छ, मनास्लु आरोहणमा पठाउने सबै व्यवसायीको आरोहणमा कुनै समस्या भएन । विगतमा जस्ता कुनै किसिमका अप्रिय घटना भएनन् । अहिलेसम्म आरोहण उत्साहजनक छ,’ उनले भने ।  उनका अनुसार समग्रमा पर्वतारोहणमा यस याममा उत्साह छ । तर पदयात्रामा केही बुकिङ भने रद्द भएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष सागर पाण्डेका अनुसार यस पटक तुलनात्मक रुपमा कम पदयात्री गन्तव्य गएका छन् । पछिल्लो परिस्थिति सृजना भएपछि सेप्टेम्बरसम्मका लागि मात्रै २५ प्रतिशत बुकिङ रद्द भएको छ । यद्यपि अक्टोबरमा भने उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउने विश्वास गरिएको छ । जेनजी आन्दोलनले केही दिन नेपालको पर्यटन आगमन खुम्चिएको थियो । अहिले विस्तारै पर्यटक आगमन बढिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । आन्दोलन पूर्व दैनिक तीन हजार २०० हाराहारी विदेशी पर्यटक आइरहेकामा विषम परिस्थितिपछि यो सङ्ख्या घटेर दैनिक १६ सयको हाराहारीमा आएको थियो । यद्यपि यस साता भने दैनिक औसतमा २९ सयको हाराहारीमा यात्रु आइरहेका छन् । १८ करोडभन्दा बढी रोयल्टी पर्यटन विभागका अनुसार यस याममा हिमाल आरोहणबाट हालसम्म १८ करोड २१ लाख ६८ हजार ६२४ रुपैयाँ रोयल्टी जम्मा भएको छ । मनास्लुबाट मात्रै १५ करोड रुपैयाँ रोयल्टी उठेको छ । विभागका निर्देशक गौतमले शरद ऋतुमा मनास्लुसहित विभिन्न हिमाल आरोहणमार्फत हालसम्मकै बढी रोयल्टी जम्मा भएको बताए । विगतमा यस याममा ७ करोड रुपैयाँदेखि ८ करोड रुपैयाँको हाराहारी रोयल्टी उठ्ने गरेको थियो । मनास्लुमा नयाँ रेकर्ड निमा छिरिङ शेर्पाले सबैभन्दा कम उमेरमा मनास्लु आरोहण गरी नयाँ कीर्तिमान कायम गरेकी छिन् । उनले असोज १२ गते बिहान ६:२४ बजे १६ वर्ष ४ महिना १८ दिनको उमेरमा मनास्लु आरोहण गरेकी हुन् । साथै मनास्लुमा यस याममा स्पेनका ८६ वर्षका आरोहीले आरोहण गरेर रेकर्ड बनाएका छन् । पोल्याण्डका साहसिक पर्वतारोही आन्द्रेज बार्गिएलले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट कृत्रिम अक्सिजन प्रयोग नगरी स्की चढेर हिउँमा चिप्लेटी खेल्दै तल ओर्लिएर रेकर्ड बनाएका छन् । उनी सेभेनसमिट ट्रेक्स प्रालिमार्फत स्कीका लागि सगरमाथा गएका थिए ।  सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको २ दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लो आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए । लामो आरोहण इतिहास कायम रहेको गोरखामा अवस्थित मनास्लु हिमालको विसं २०७३ मा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । नेपालको सुदूरपश्चिम भागमा रहेको मनास्लु जसलाई कुताङ भनेर पनि चिनिन्छ । यो हिमाललाई हृदयको हिमाल पनि भनिन्छ । मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो ।​​​​​​​ विसं २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर मनास्लु हिमाल र नेपालको चर्चा चुलिएको थियो । रासस

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराइरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका प्रा.डा केशव बस्याल निकै भावुक देखिन्थे । तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उनी उत्तिकै आशावादी हुनुहुन्छ छन् ।  रसिलो आँखा पार्दै उनले भने, ‘यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन । पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु ।’ सिंहदरबार आगजनी र तोडफोडले कुरूप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहे झैँ लाग्छ । धुवाँ धुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनः निर्माण पर्खिरहेका छन् । आकर्षक शिल्पी र कला धुवाँको पोतोले लतपतिएका छन् । सिंहदरबारको तस्बिर कैद गरिरहेकी कानुन व्यवसायी देवमाया घिमिरेले भनिन्, ‘सिंहदरबार जलेको दृश्यले मन जलायो । हृदय भारी भयो । भवनको तस्बिर कैद गर्दा आफैंलाई बिझेजस्तो भयो । यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन ।’ अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ । सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन् । कैयौँका आँखा रसाएको हुनुपर्छ । जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पङ्क्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो । अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए । तस्बिर कैद  गर्दा अधिकांशमा मौनता देखिन्थ्यो । आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा चहलपहल थियो । बाक्लो सङ्ख्यामा कर्मचारी एवं अन्य व्यक्तिहरू सिंहदरबार अवलोकन गरिरहेका थिए । सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछ की भन्ने चिन्ता छ । उनी भन्छन्, ‘सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो । यो देख्दा अत्यन्तै दुःख लागेको छ । यो ‘रिनोभेट’ गर्न नसकिने त हैन । मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ । फेरि आशा गरौँ सिंहदरबार उठ्नेछ ।’ गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनः निर्माणपछि निकै आकर्षक देखिएको थियो । सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनः निर्माणपछिका दृश्य सम्झिँदै थपे, ‘धेरै राम्रो भएको थियो । अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ । नेपाल आफैंले ठूलठूला पूर्वाधार बनाउन कठिन छ । बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो । अहिले यो दृश्यले भावुक बनायो ।’ सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताए ।  ‘एकदम दुःखदायी अवस्थामा देखियो । अत्यन्तै भावुक र चिन्तित बनायो । देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो । सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउँदा उपयुक्त हुन्छ,’ उनले भने । पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताए । जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको उनको भनाइ छ ।  सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो । सिंहदरबारभित्रै काम गर्ने उनले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाए । यो राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरू रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा २५ लाख रुपैयाँ खर्च गरेर यो निर्माण गरिएको थियो । विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरू थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरू युरोपबाट मगाइएको थियो । आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन् । आशा गरौँ सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरी पनि उभिनेछ सिंहदरबार । जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन् । रासस

होटल जलाउँदा अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर

काठमाडौं । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो ।  राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् ।         यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्‍यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो ।         आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भयो । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको थियो । पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको छ । तर, कालोबादलभित्र चाँदीको घेरादेखिएझै पर्यटन क्षेत्रमा अझै आशाका किरण प्रसस्त छन् । र फेरि मुलुकको पर्यटन उठ्ने छ । विगतका विपदजस्तो अवस्था नरहेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान बन्ने विज्ञ एवं सरोकारवालाको विश्वास छ ।         पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने आशा व्यक्त गरे । 'पहिलो कुरा पर्यटकलाई थ्रेट छैन । अब, नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार गर्न जरुरी छ', पूर्वसचिव खनालले भने, 'विगतका विपद्जस्तो पनि हैन अहिलेको अवस्था । जुन मुलुकबाट ट्राभल एडभाइजरीका कारणले घट्ने सङ्ख्या चाही ज्यादै सानो छ । मुख्य स्रोत बजार भारत र चीन हो । पर्यटकीय सिजन पनि सुरु हुनै लागेकाले केही पूर्वाधारमा मात्रै क्षति भएको छ । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर छैन । यो अवस्था चाँडै सुधार हुन्छ ।'         खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए । अर्थशास्त्री डा. समिर खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए । उनले भने, 'अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तरराष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।'         अर्थशास्त्री खतिवडाले पर्यटनको आम्दानीमा केही ह्रास आए पनि पर्यटन क्षेत्र चाँडै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे । 'विगतमा पनि विपद्पछि चाँडै पुनःरुत्थान भएको अनुभव छ । यसलाई चाँडो पुनःरुत्थानका लागि प्राथमिकता दिनुपर्छ । जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको छ । सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ ।'         नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको पर्यटन पुनःरुत्थानका लागि पहल थालिएको बताए । उनले पर्यटन पुनःरुत्थानलाई कसरी प्रभावकारी बनाउने भनेर यस क्षेत्रका अगुवा सङ्गठनहरूसँग छलफल गरेर ‘ड्राफ्ट प्लान’ बनाएको र यो छिट्टै प्रस्तुतीकरण हुने जानकारी दिए। सिइओ जोशीले भने, 'पर्यटन पक्कै पनि फेरि उठ्ने छ । विगतको अनुभवका आधारमा तथा पर्यटनसँग आवद्ध अन्तरराष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुनःरुत्थान हुनेछ ।'         उनका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन् । उनीहरूमध्ये अधिकांश गन्तव्यमा छन् भने कतिपय पर्यटक यात्रा सकेर स्वदेश फर्किने प्रतीक्षामा छन् । नेपालमा रहेका पर्यटकलाई कुनै पनि नकारात्मक धारणा नबनोस भनेर बढी प्राथमिकता दिइएको छ । बोर्डले जेनजीको प्रदर्शनका क्रममा होटल र पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ समग्रमा अध्ययनको काम पनि अघि बढाइएको उनले बताए । बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो अगष्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल भित्रिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवालाहरू एकताबद्ध भएर पर्यटन पुनःरुत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । 'पर्यटकीय सिजन सुरु हुन लागेकाले नेपालबाट सकारात्मक सन्देश प्रबाह गर्न जरुरी छ', उनले भने, 'विगतका विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनःरुत्थान भएको थियो ।'         नेपालमा रहेका पर्यटकलाई सुरक्षित तवरले गन्तव्य पठाउने र फर्किएकालाई सहज रूपमा स्वदेश फर्किने वातावरण बनाउनुपर्ने हुन्छ । उनले भने, 'देशलाई आर्थिक समृद्धि दिनसक्ने महतवपूर्ण क्षेत्र पर्यटन नै हो । होटललगायत पूर्वाधारमा ठूलो लगानी छ । विमानस्थल बनेका छन् । यिनको प्रभावकारी व्यवस्थापन र सञ्चालन गरेर दुई ठूला छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न सकिन्छ ।'         प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे । उनले भने, 'पर्यटकीय सिजनमै सिर्जित विषम परिस्थितिले पर्यटनमा नकारात्मक असर त परेको छ तर, आशा गरौँ छिट्टै सामान्य अवस्था आउनेछ र पर्यटन क्षेत्र पनि चलायमान बन्ने छ ।'         नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको शाखको रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सबै प्रयत्न गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विषम् परिस्थितिबाट मुलुकलाई निकास दिएर शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल गरेका हुन् । होटलमा करिब २५ अर्बको नोक्सानी  जेनजीको प्रदर्शनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा  तोडफोड, आगजनी, लुटपाट भएको छ ।  काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै रु आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिको छ । हिल्टनसहित देशैभरि करिब रु २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ । रासस

अब पोखराबाट अष्ट्रेलिया उडान, भूटान एयरलाइन्सले माग्यो चार्टर्ड, भैरहवामा जजिरा र थाई एयर

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए । आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ । ‘सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ । पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ । औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ । छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला,’ सूचना अधिकारी भूलले भने । यो उडान भएमा अष्ट्रेलिया आवत-जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ । यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो । असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ । यसैबिच भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले पोखराबाट पारो इन्टरनेशनल एयरपोर्टका लागि दुई/तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए । उनका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ । भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो ।  ‘चार्टर्ड उडान दिगो भएमा काठमाडौंजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ । सुरुमा भूटान एयरलाइन्सले काठमाडौं-पारो-काठमाडौं उडान गर्नेछ । उडान नियमित भएको खण्डमा पारो-पोखरा-दिल्ली र दिल्ली-पोखरा-पारो उडान गर्ने एयरलाइन्सको योजना छ,’ सूचना अधिकारी भूलले भने । भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ । हाल हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं जोड्ने गरी हिमालयले उडान सञ्चालन गरिरहेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान सुरु गरेको थियो । विमानस्थलमा हिमालयका साथै सिचुवान र भूटान एयरलाइन्सको उडान भएमा विमानस्थल चलायमान बन्ने र गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने प्राधिकरणको विश्वास छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार हुने क्रम जारी छ । ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब लागतमा निर्माण भएको हो । वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमताको यस विमानस्थलमा २ हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावन मार्ग रहेको छ । हाल भूटानको सरकारी वायुसेवा कम्पनी ड्रुक एयर र भूटान एयरलाइन्सले काठमाडौंमा नियमित उडान गरिरहेका छन् । भूटान एयरलाइन्सले ‘फिफ्थ फ्रिडम फ्लाइट’ प्रयोग गरेर पारो-काठमाडौं-दिल्ली र दिल्ली-काठमाडौं-पारो भएर हप्ताको चार दिन उडान गरिरहेको छ । ड्रुक एयरले पारो-काठमाडौं-पारो-दिल्ली-काठमाडौं ‘ओभर फ्लाइट’ गरिरहेको छ । आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडान अनुमति पाएर सेवा सञ्चालन भएमा त्यसले पनि यसको प्रचारमा टेवा पुग्ने विश्वास गरिएको छ । प्राधिकरणका अनुसार चार्टर्ड उडान अनुमति दिन केही समस्या नभए पनि नियमित उडानका लागि भने अब पोखरा र भैरहवा वेस भएर उडान गर्ने गरी अनुमति दिइनेछ । नेपालले हाल ४२ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । हवाई सम्झौता पुनरावलोकन गर्दा भैरहवा र पोखरा उडान थपिनेछ ।  कुनै पनि वायुसेवा कम्पनीलाई पोखरा र भैरहवाबाट चार्टर्ड उडान गर्न दिन कुनै समस्या नभएको सूचना अधिकारी भूलले बताए । प्राधिकरणको विवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपालका तीन हवाई सेवा प्रदायक कम्पनीसहित ३० एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् । भैरहवामा जजिरा र थाई एयर एसियाले उडान गर्दै भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन् । यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित भएको थियो । थाई एयर एसियाले अक्टोबाटर २६ देखि सुरु हुने ‘विन्टर सेडुअल’ मा उडान गर्नेगरी तयारी गरेको छ । हप्तामा दुई उडान गर्ने एयरलाइन्सको योजना छ । यस्तै, जजिरा एयरले पनि विन्टर ‘सिजन’मा उडान गर्ने योजना बनाएको छ । हाल भैरहवाबाट नियमित उडान गरिरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान लामो समयदेखि हुन सकेको छैन । काठमाडौं मलेसिया र मलेसियाबाट भैरहवा उडान गरिरहेको एयरलाइन्सले विमानको अभावमा उडान स्थगित गरेको जनाइएको छ । गौतम बुद्ध विमानस्थलमा विभिन्न चार्टर्ड उडान सञ्चालन भइरहेका छन् । प्राधिकरणका सूचना अधिकारी भूलले विन्टर सिजनबाट थाई एयर एसिया र जजिरा एयरलाइन्सले नियमित उडान गर्ने विश्वास व्यक्त गरे ।  जजिराले हाल कुवेतबाट काठमाडौं उडान गर्दै आएको छ । भैरहवाबाट जजिरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुवै विमानस्थलमा अरू विदेशी वायुसेवा पनि आकर्षित हुने प्राधिकरणको विश्वास छ ।​​​​​​​​​​​​​​ जजिराले यसअघि दुईपटक भैरहवाबाट उडान गरिसकेको छ । विसं २०७९ फागुनमा दोस्रोपटक उडान सुरु गरेको यस वायुसेवाले त्यसअघि साढे दुई महिना उडान गरेर प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो । एयरलाइन्सले पुनः नियमित उडान सुरु गर्न लागेको हो । पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ । हाल यहाँबाट हुने अन्तर्राष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नु पर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो । सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो । यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ । यी दुवै विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ । रासस