स्टारडमसँगै स्टार्टअप, व्यवसायमा जम्दै सेलिब्रेटी
क्यामेराको फ्ल्यास, सिने पर्दाको झिल्को र स्टेजको तालीभन्दा पर सेलिब्रेटीहरूको जीवनमा अर्को संसार छ- साइड व्यवसाय । जुन उनीहरुको आम्दानीको मुख्य स्रोतमात्र होइन पहिचानको दोस्रो आयाम, सुरक्षित भविष्य र आत्मनिर्भरताको प्रतिबिम्ब पनि हो । विगतमा हलिउड र बलिउडका कलाकार तथा सेलिब्रेटीहरु व्यवसायमा आबद्ध भएका कथाहरू सुन्ने तपाईं हामीहरू अब नेपालकै सेलिब्रेटीहरु पनि व्यवसायमै आबद्ध भए भन्ने खबर सुनिरहेका छौं । जसरी सेलिब्रेटीहरुले आफ्नो कलामार्फत कौशलता देखाए, त्यसैगरी व्यवसायमा पनि जमिरहेका छन्, चम्किरहेका छन् । नेपाली अर्थतन्त्रको सानो बजारमा रहेको सीमित अवसर र सङ्कुचित पारिश्रमिक प्रणालीमा सुख सयलको जीवन जिउन कठिन नै छ । यही यथार्थलाई आत्मसात गर्दै धेरै सेलिब्रेटीहरु व्यवसायमा आबद्ध भएका छन् । कतिपय घरजग्गा कारोबार, कतिपय कृषि, शिक्षा, कफी सपदेखि इलेक्ट्रोनिक्सदेखि रेष्टुरेन्टसम्मकका व्यवसायमा सक्रिय बनेका छन् । आज हामीले व्यवसायमा आबद्ध भएका कलाकारको विषयमा यो सामग्री तयार गरेका छौं । कृषिमा सरोज पुर्ख्यौली व्यवसायलाई आधुनिक रुप दिएर व्यवसाय गरिरहेका नेपाली सेलिब्रेटी हुन् सरोज खनाल । ‘भस्मासुरको नली हाड’ नामक चलचित्रबाट सन् १९८७ बाट नेपाली सिनेमामा प्रवेश गरेका खनालले हाल सम्म छ दर्जन नेपाली सिनेमामा अभिनय गरेका छन् । उनी नेपाली चलचित्रको नायक मात्र नभएर कृषि प्रधान देशमा कृषक नायक भन्ने उद्देश्यका साथ कृषिमा लागेका छन् । चितवनको रत्ननगरमा रहेको उनको पारिवारिक व्यवसाय ‘खनाल पोल्टि’ मा अहिले उनी आबद्ध छन् । केही समय अमेरिकामा बस्दा त्यहाँको कृषि देखेपछि प्रभावित भएर नेपालमा पनि कृषि सुरु गरेको धारणा उनको छ । त्यस फार्मबाट उनले उन्नत जातको कुखुरा, कुखुराको दाना र मल उत्पादन गर्ने गरेका छन् । क्रिकेटसँगै कफी व्यवसायमा रोहित उसो त क्रिकेटर रोहित कुमार पौडेललाई कफी खासै मन पर्दैन । तर, उनले कफी पारखीका लागि कफी सप सञ्चालनमा ल्याएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन रोहितले एक साताअघि मात्र बुद्धनगरमा आफ्नो जर्सीको १७ नम्बरबाट १७ बिन्स क्याफे सञ्चालनमा ल्याएका छन् । खेलजस्तै व्यवसायमा पनि उनी रणनीतिक सोचका साथ अघि बढेका छन् । स्वप्निल शर्मा गायनसँगै व्यवसायमा स्वप्निल शर्मा ‘दि स्याडाेज ब्यान्ड नेपाल’का महत्त्वपूर्ण सदस्य हुन् । सन् १९९७ बाट साथीहरूसँग मिलेर रक ब्यान्डमा संलग्न भई ‘सुन हाम्रो सानो आवाज’ नामको एल्बममार्फत गायन यात्रा सुरु गरि चर्चित बनेका हुन् । उनी अहिले गायनसँगै व्यवसायमा पनि आबद्ध छन् । उनको पर्पल हाज रक बार, एडुक्वेस्ट नेपाल नामक शिक्षा परामर्श कम्पनी, फज स्टुडियो नेपाल, संगीत पाठशाला, फुच्चे रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । पर्पल हाज रक बार ठमेलमा छ भने एडु-क्वेस्ट नेपाल कमलादीमा रहेको छ । यस कम्पनीमार्फत विदेश अध्ययनको परामर्श, भिसा आवेदन सहायता, करिअर काउन्सिलिङ, लगायत सेवा दिइन्छ । रेष्टुरेण्ट व्यवसायमा पुजा पूजा शर्मा नेपाली कलाकारिता जगतमा चर्चित नायिका तथा निर्माता हुन् । सन् २०१२ को ‘थ्रि लभर’ चलचित्रबाट सिनेमामा डेब्यू गरेकी उनी ‘प्रेम गीत’ बाट चर्चामा आएकी हुन् । उनले हाल सम्म डेढ दर्जन चलचित्रमा काम गरिसकेकी छन् । उनी अहिले व्यवसायमा पनि व्यस्त छिन् । उनको ललितपुरको झम्सिखेलमा ‘ट्याग स्पोर्ट्स एण्ड लाउन्ज बार’ सञ्चालन गरिरहेकी छन् । उनले रेष्टुरेण्टबाट कमाएको पैसाले चलचित्र निर्माणमा खर्च गर्ने बताउँदै आएकी छन् । थिएटर र रेष्टुरेण्टमा दयाहाङको लगानी नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा व्यस्त नायक हुन् दयाहाङ राई । लामो समयसम्म रङ्गमञ्चमा नाटक गरेर पछि चलचित्रमा प्रवेश गरेका उनले दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । सन् २००६ मा ‘अनागरिक’ चलचित्रबाट डेब्यु गरेका उनी ‘लुट’ चलचित्रबाट चर्चामा आएका हुन् । उनले अभिनयसँगै रेष्टुरेण्टमा पनि लगानी गरेका छन् । ‘मण्डला थिएटर’ मा पनि उनकाे लगानी रहेकाे छ । लेञ्चा खिम रेष्टुरेण्टमा बङ्गुरको मासुको स्पेशल परिकार पाइने गरेको छ भने यस रेस्टुरेन्ट मा प्रायः कलाकारको जमघट हुने गरेको छ । उनले जीवनशैली सहज बनाउन र साथीहरूको जमघट स्थल पनि आवश्यक पर्ने भएकोले रेष्टुरेण्ट व्यवसाय थालेको बताउँदै आएका छन् । दिपक-दीपा र वर्षा-संजोग जोडी पनि व्यवसायमा पछिल्लो समय दिपक-दीपा र वर्षा-संजोगको जोडी पनि व्यवसायमा सक्रिय छ । कलाकारितामा जोडी बनाएका दीपकराज गिरी र वर्षा राउत पनि व्यवसायमा छन् । कोरोना भाइरस (कोभिड -१९) को कारण व्यापार ठप्प हुँदै गर्दा वर्षा-संजोग जोडीले नयाँ बानेश्वरमा ‘चिया अड्डा’ नामको चिया पसल सुरु गरेका थिए । अहिले सो पसलका विभिन्न ठाउँमा शाखाहरू छन् । उनीहरुको ‘गेजु’ चाइनिज रेष्टुरेण्टमा समेत लगानी छ । संजोग सेयर बजारका लगानीकर्ता समेत हुन् । चिया अड्डामा दीपकराज गिरी र दीपाश्री निरौलाको समेत लगानी छ । हेर्दा चिया व्यापार सामान्य देखिन्छ तर नेपालीमा चिया पिउने संस्कृति रहेकाले यो व्यापार थालेको उनीहरुले बताउँदै आएका छन् । हिट फिल्म ‘छक्का पञ्जा’ सिरिजका अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको लगानीमा सिनेमा हल समेत सञ्चालनमा छन् । फुटबलसँगै चियामा किरण राष्ट्रिय फुटबल टोलीका प्रमुख गोलकिपर किरण चेम्जोङ नेपालमा मात्र नभएर विदेशमा समेत प्रख्यात रहेका छन् । उनले राष्ट्रिय टिममा सन् २००८ मा स्थान बनाएका थिए भने हाल उनी नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै १०४ खेल खेल्ने खेलाडी हुन् । उनको उपस्थितिमा नेपालले पहिलो पटक साफ चेन्पेनसिप फाइनल (२०२१), साफ यू-२३ (२०१६) विजेता लगायत थुर्पै उपलब्धि नेपालले हासिल गरेको छ । किरण फुटबलको मात्र नभएर व्यवसायको पनि खेलाडी हुन् । उनी बानेश्वरमा रहेकको चिया टाइम्सको सञ्चालक हुन् । चियाका पारखीहरुको यहाँ भीड लाग्ने गरेकाे छ । शिल्पा मास्केको कोरियन रेस्टुरेन्ट शिल्पा मास्के नेपाली चलचित्रमा मात्र नभएर हलिउडमा समेत चर्चित छिन् । उनको चलचित्र यात्रा ‘दि ब्रेकअप’ बाट सन् २०१९ बाट सुरु भएको थियो । हालसम्म उनले एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । उनले कुपन्डोल हाइट्समा भएको डोक्डो साराङ रेस्टुराँ सञ्चालन गर्दै आएकी छन् । रेस्टुरेन्ट व्यवसायको बाहेक छोटा फिल्म, व्यावसायिक विज्ञापनमा व्यस्त रहने मास्केले आफ्नै रुचीका कारण अन्य व्यवसायमा लागेको बताउँदै आएकी छन् । हिमालय जावामा श्वेता खड्का नेपाली चलचित्रको अभिनेत्री श्वेता खड्का ‘कान्छी’ चलचित्रको निर्माता पनि हुन् । ‘कहाँ भेटिएला’ चलचित्रबाट सन् २००८ मा नेपाली सिनेमामा प्रवेश गरेकी उनले अभिनय गरेका चलचित्र पनि हिट भएका छन् । उनी अहिले चलचित्रबाट टाढिएर व्यवसाय क्षेत्रमा जमेकी छन् । उनले लामो समयदेखि विभिन्न ठाउँमा हिमालय जावा ब्राण्डको कफी सप तथा क्याफे र रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेकी छन् । हिमालयन जावामा कफी, खाना, प्रख्यात छ भने बारिस्टा र बेकरीको प्रशिक्षणसँगै उपकरण बिक्री, फ्रेन्चाइज अवसर, मोबाइल एपमार्फत अर्डरको समेत सुविधा दिँदै आइरहेकाे छ । साथै उनको ‘अल्टिमोडिल’ भन्ने अनलाइन व्यवसाय, ‘ट्रिकी एण्ड पिंक्सी’ भन्ने एक ट्रेनिङ सेन्टर, इन्टिरियल डिजाइनिङको व्यवसाय पनि छ । केदार र जितु होटल व्यवसायमा केदारप्रसाद घिमिरे (माग्ने) र जितु नेपाल हाँस्य व्यङ्ग्य क्षेत्रमा चर्चित कलाकारको छवि बनाएका कलाकार हुन् । यी दुवै जनाले लेखन, निर्देशक तथा निर्माताको काम पनि गर्दै आएका छन् । घिमिरे टेलिसिरियल मेरी बास्सैबाट र नेपाल जीरे खुर्सानीबाट चर्चामा आएका हुन् । उनीहरू छक्का पञ्जा चलचित्रमा पनि सँगै थिए । उनीहरू दुवै जना रङ्गमञ्चसँगै होटल व्यवसायमा पनि जमेका छन् । उनीहरुको काठमाडौंको चेन क्याफे तथा होटल ‘ए वान’मा लगानी रहेको छ । ए वानले राम्रो आम्दानी गरिरहेको उनीहरुको धारणा छ । नेपालमा २०७२ मा विनाशकारी भूकम्प आएपछि व्यवसाय आवश्यक छ भन्ने महसुस गरेर होटल सञ्चालन गरेको उनीहरुको धारणा छ । सलोन बस्नेतको बार बाल कलाकारको रुपमा सन् १९९९ मा ‘नेपाली बाबु’ चलचित्रबाट डेब्यु गरेका सलोन बस्नेत अहिलेका चर्चित नायकका रुपमा चिनिन्छन् । उनले तीन दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । अभिनेता बस्नेतको ललितपुरको पुल्चोकमा ‘बैठक लाउन्ज बार’ सञ्चालन गर्दै आएका छन् । उनले रेष्टुरेण्ट एण्ड बारबाट राम्रै आम्दानी भइरहेको प्रतिक्रिया दिँदै आएका छन् । उनको बुबा र काका पनि चलचित्र क्षेत्रमै सक्रिय छन् । पर्यटन व्यवसायमा रेजिना आफ्नो मान्छे चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका रेजिना उप्रेती पनि चर्चित अभिनेत्रीकै रुपमा परिचित छन् । उनले करिब पाँच दर्जन चलचित्रमा अभिनय गरेकी छन् । रेजिनाको पारिवारिक व्यवसाय नै ट्राभल एण्ड टुर हो । उनको एजेन्सीले युरोप, अमेरिका लगायतका देशमा ट्राभल तथा टुरको व्यवस्थापन गर्दै आएको छ । उनी पनि अहिले सोही व्यवसायमा सक्रिय छिन् । उनले पनि चलचित्रमा अभिनय गरेर मात्र कलाकारले जीविकोपार्जन गर्न नसकिने भएकोले साइड व्यवसायका रुपमा पर्यटन रोजेको बताउँदै आएकी छन् । करिश्मा मानन्धरको इलेक्ट्रोनिक्स व्यापार नेपाली फिल्म क्षेत्रमा सदाबहार अभिनेत्रीको परिचय निर्माण गरेकी करिश्मा मानन्धर पनि व्यवसायमा आवद्द छिन् । उनले इलेक्ट्रोनिक्स सामानको व्यापार गर्दै आएकी छन् । उनले ‘रिसिक ट्रेडिङ कन्सर्न’ कम्पनीमार्फत व्यापार गर्दै आएकी छन् । यस कम्पनीले इन्टेक्स ब्रान्डका इलेक्ट्रोनिक्स सामानको बिक्री गर्छ । यो कम्पनी बोस ब्राण्डका होम सप्लायर्स, इन्टेरियर र भवन निमार्णका सामग्रीको आधिकारिक वितरक पनि हो । सन् १९८८ मा सन्तान चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी अहिले पनि सक्रिय छिन् । उनले दर्जनौं चलचित्रमा अभिनय गरेकी छन् । स्वास्थ्य र घरजग्गा कारोबारमा खुस्बु नेपाली चलचित्रमा परिचित अभिनेत्री तथा गायिका हुन् खुस्बु खड्का । सन् २०१२ मा चलचित्रमा अभिनय गरेर यो क्षेत्रमा प्रवेश गरेकी उनले आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । अहिले उनको ‘रियलस्टेट’ को व्यवसाय छ, साथै उनी स्वास्थ्य सामग्रीको समेत व्यापार गर्दै आएकी छन् । उनले विदेशबाट स्वास्थ्य सामग्री आयात गरेर नेपालमा बिक्री गर्ने गरेकी छन् । रेष्टुरेण्टमा नम्रताको लगानी मोडलिङ, चलचित्रमा अभिनय तथा निर्माताको रुपमा पनि राम्रो परिचय बनाएकी नम्रता श्रेष्ठ पनि अहिले व्यवसायमा व्यस्त छिन् । उनले सन् २००८ बाट नेपाली चलचित्र सानो संसारमा अभिनय गरेर रङ्गमञ्चमा प्रवेश गरेकी थिइन् । उनले दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छन् । थुप्रै हिट फिल्ममा अभिनय गरेकी नम्रताको काठमाडौंको ज्ञानेश्वरमा एटिक रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा छ । साथै यो रेस्टुरेन्टको लाजिम्पाट र ठमेलमा पनि शाखा रहेको छ । हँसाउने ठाउँमा केकीको लगानी अभिनेत्री केकी अधिकारी पनि कलाकारिताको अलावा टेलिभिजन कार्यक्रम निर्माणमा व्यस्त छिन् । बहुचर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्माताका रुपमा केकी सक्रिय छिन् । पछिल्लो समय दीपक श्रेष्ठको निर्देशन रहेको फिल्म ‘घिन्ताङ’को अभिनय सकेकी उनी चलचित्र निर्माताको रूपमा पनि परिचित छिन् । केकीले ‘कमेडी च्याम्पियन’नामक हँसाउने चर्चित टेलिभिजन रियालिटी शोमा निर्माताको रुपमा कार्यरत छिन् । घरजग्गा कारोबारमा भावना सन् २०१२ बाट ‘मस्ती’ चलचित्रमार्फत कला क्षेत्रमा सक्रिय बनेकी भावना गुरुङ पनि व्यवसायमा सक्रिय छिन् । विभिन्न चलचित्रमा राम्रो पफर्मेन्स गरेर चर्चा पाएकी उनी अहिले घरजग्गाको व्यवसायमा आबद्ध छिन् । उनले जीवनलाई सहज रुपमा अगाडि बढाउनुका लागि व्यवसाय गरेको बताउँदै आएकी छन् । वर्षा पनि व्यवसायमा नेपाली चलचित्रमा परिचित नाम हो वर्षा सिवाकोटी । सन् २०१४ ‘नाई नभन्नु ल २’ चलचित्रबाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी उनी त्यसपछि चर्चामा आएकी थिइन् । उनी मोडल पनि हुन् । वर्षा सिवाकोटीको नेपाल मेडिसिटि हस्पिटल अन्तर्गत स्किन सिटी नामको क्लिनिक छ । सो क्लिनिकको उनी प्रमुख कार्यकारी अधिकृत हुन् । यो क्लिनिकले छाला, कपाल र नङ्ग सम्बन्धी समस्याको उपचार गर्छ । सिवाकोटीको नेतृत्वमा स्किन सिटीले अन्य ठाउँमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । रेष्टुरेण्ट र बुटिक व्यवसायमा पवित्रा चर्चित कोरियोग्राफरका रुपमा परिचित पवित्रा आचार्यले पनि अहिले व्यवसायमा व्यस्त छिन् । अभिनयलाई मुख्य पेशाका रुपमा अगाडि बढाइरहेकी उनले मोडलिङ, नित्याङ्गना, कोरियोग्राफीमा समेत राम्रो छाप बसालेकी छन् । उनले आधा दर्जन चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । केही समय यता उनी नित्य बुटिक नामक व्यवसाय सञ्चालन गर्दै आइरहेकी छन् । उनले हातबाट निर्मित विभिन्न डिजाइनको कपडा बिक्री गर्ने गरेकी छन् । बुटिकका कपडाका लागि उनले अनलाइन सेवा पनि दिने गरेकी छन् । बुटिकसँगै उनको रेस्टुरेन्ट व्यवसाय समेत रहेको छ । उनले त्यसलाई खाली समयको सदुपयोग स्वरूप व्यवसाय गरेको बताउँदै आएकी छन् ।
चियामा नयाँ ट्रेण्ड : गफ, गेम र गिलास
काठमाडौं । तपाईंको फेभरेट चिया कुन हो ? यो प्रश्न अहिले काठमाडौंका युवाबीचको सबैभन्दा प्रचलित ‘आइसब्रेकर’ जस्तो बनिसकेको छ । अदुवा, मसला, ब्ल्याक, लेमन, ग्रीन, मट्का, बबल वा ‘डम्प टी’ ! नाम जेसुकै होस्, भेटघाट गर्ने थलो भने चिया पसल नै । अहिले युवा जगतको आदत बनेको छ चियाको चुस्की र चुरोट । स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएपनि काठमाडौंको अधिकांश ठाउँमा खुलेका चिया पसलमा चिया र चुरोटसँग मस्त देखिन्छ युवा पुस्ता । कसैले चिया पिउँछ थकान मेट्न, कसैले गफको बहाना गर्न, कसैले तनाव मुक्त गर्न, कसैले टाइम पास गर्न त कसैले चिया पिउँछन् आदत भुलाउन र मन डुलाउन । जे होस्, अहिले काठमाडौंमा सबैभन्दा बढी व्यापार कुनै चिजको चम्केको छ भने त्यो हो चियाको । गन्हाउने काठमाडौंका गल्लीगल्लीमा उकुसमुकुस बनेर चियाको बाफ सुँघ्न युवा जगत लागि परेको छ । जहाँ चियाको स्वादमात्रै होइन, सम्झना र सम्भावनाको बातचित पनि पर्याप्त बुनिन्छन् । स्कुले जीवनका चार जना साथीहरू, जुन समयसम्म उनीहरू जीवनको दिशाबारे मात्र होइन, चियाको स्वादबारे पनि निश्चित थिएनन् । स्कुले जीवन सकिएसँगै उनीहरूको गोरेटो पनि बदलियो । तर, सपना भने बदलिएन । स्कुले जीवनमा छुटिएका चार जना साथीहरू पनि मिलेर ललितपुरको इमाडोलमा दुई वर्षअघि खोले ‘चिया पसल’ । सिंगो घर, सेकेन्ड ह्यान्ड सामान र केही गरौं भन्ने हुटहुटी भएका चार जना युवाले खोलेको चिया पसलले अहिले राम्रै कमाइ गरिरहेको छ । उनीहरूले अहिले कपनमा पनि एउटा चिया पसलको शाखा खोल्न भ्याइसकेका छन् । उनीहरू फरक-फरक पेसामा छन् । समय र स्रोतको उपयोग गरेर चिया पसलमा लगानी गरिरहेका छन् । चिया पसललाई विस्तार गर्दै लैजाने योजना छ उनीहरूको । उनीहरूले पकाएको चिया सबैले मन पराएका छन् । शिक्षक, विद्यार्थी, अन्य र घरपरिवारले पनि चिया पसलमा चिया पिउने गरेको सञ्चालक अनिश सुवेदीले बताए । चियासँगै आलुचप, समोसा, पकौडा र भेज मःम बिक्री गर्ने गरेका छन् । चिया पसलजस्तै युवाहरूको जमघटको केन्द्र बनेको छ ‘चिया बाटिका’ । घट्टेकुलो चोक नजिकै रहेको चिया बाटिका अहिले स्थानीय युवाहरूको जमघटको केन्द्र बनेको छ । जहाँ चियामात्रै होइन विभिन्न खेलको पनि सुविधा छ । लुँडो, चेस र क्यारमसँगै विभिन्न खेलहरू राखेर सञ्चालकले युवाको ध्यान तानेका छन् । पाँच जना साथी-दाजुभाइ मिलेर सुरु गरिएको ‘चिया बाटिका’ अहिले रमाइला गफ र खेलले भरिएको मिनी क्लब बनेको छ । पाँच महिनाअघि खोलिएको चिया बाटिकाले राम्रो व्यापार गरिरहेको छ । सञ्चालक अनिश माझीका अनुसार अहिले दैनिक चार हजार बढीको व्यापार हुने गरेको छ । पाँच जना दाजुभाइ तथा साथीहरू मिलेर खोलिएको चिया बाटिकामा अहिले साँझ ९ बजेसम्म युवाहरूको भीड लाग्ने गरेको छ । माझी भन्छन्, ‘कुनै बेला विदेश जाने सोच थियो । अब विदेश गए पनि केही सीप सिकेर स्वदेशमै केही गर्नुपर्छ भन्ने मानसिकता बनिसक्यो, देशमै केही पृथक काम गर्न सकिन्छ भन्ने जाँगर आइसक्यो ।’ काठमाडौंको थापागाउँमा सञ्चालित ‘रस्टटी चिया’को चियाको स्वादमा पनि युवाहरू लिप्त बनिसकेका छन् । जसले चिया मात्र होइन, लोकल स्वाद पनि बिक्री गर्ने गरेको छ । ‘रस्टटी चिया’का सञ्चालक विवश रायमाझी पहिलेदेखि नै व्यापार गरिरहेको बताउँछन् । ‘पहिला घरको माथिनिर सानो पसल थियो, अहिले भीड बढ्न थालेपछि यसलाई विस्तार गर्यौं,’ उनले भने, ‘ पहिलेको तुलनामा अहिले चिया पिउनेको संख्या धेरै बढेको छ ।’ मसला चिया, चटपटे, आलुचप र बटारे यस चिया पसलका उत्पादन हुन् । जहाँ शिक्षक, विद्यार्थी, अफिसर र व्यापारीहरु पनि आउने गरेका छन् । उनले पनि नेपालमा धेरै सम्भावना रहेकोले काम गर्न सकिने धारणा राखे । बुद्धनगरको चिया गुफाको पनि आफैमा रहस्यमयी नाम छ । नाममै रहस्य र कथा पनि छ । सो चिया पसलका सञ्चालक महेन्द्र खड्का एक दिन साथीसँग चिया पिउँदै गफिरहेका थिए । त्यतिबेलै उनको साथीले भने, ‘पाँच दिनपछि मेरो चिया पसलको ओपनिङ छ निमन्त्रणा छ ।’ महेन्द्रले सो कुरा सुनेपछि आफ्नो साथी आफूभन्दा एक स्टेप अगाडि भएको महसुस गरे । त्यहाँबाट उठ्ने बित्तिकै साथीभन्दा अगाडि चिया पसल खोलेर देखाउने प्रतिज्ञा गरे । त्यसपछि सुरु गरे ‘लोकेसन’ खोज्न । बालकुमारीमा ठाउँ भेट्टाए र साथीको भन्दा अगाडि पसल सुरु गरे । ‘बाघ गुफामा बस्छ र गुफामा ढोका हुँदैन, ग्राहकलाई पनि केही प्राइभेट ठाउँमा बस्न मनपर्छ, सोही कारणले मैले पसलको संरचना नै त्यस्तो बनाएँ,’ उनले भने, ‘रङ्ग पनि कालो र सेतो मात्र प्रयोग गरें ।’ उनको पसलमा ८० प्रतिशत ग्राहक युवा नै हुन् । सूचना प्रविधि क्षेत्रमा काम गर्ने बढी आउने गरेको उनले सुनाए । एक वर्ष अगाडि मात्रै उनले पसल सारेर बुद्धनगर ल्याएका छन् । अहिले बुद्धनगरमै पसल राखेका छन् । शंखमूलमा रहेको टी टक पनि अहिले युवाको रोजाइमा छ । स्कुले साथीहरू अंकित, राहिन र निसानको संयुक्त प्रयासले सञ्चालनमा आएको टी टकमा अहिले युवाहरूको भीड लाग्छ । उसो त उनी आफू पनि यसअघि चिया पसलमा गएर चिया पिउँदै गफ गर्थे । त्यसैबाट आफूहरूले पनि चिया पसल खोल्ने योजना उनीहरूले बनाए । चियाको चुस्की सँगैको गफगाफले उनीहरूलाई व्यवसायी बनायो । अब उनीहरू यसको शाखा विस्तार गर्ने योजना बुनिरहेका छन् । उनीहरू पनि युवाहरू विदेश जानुको सट्टा नेपालमै केही रचनात्मक काम गर्न सुझाव दिन्छन् । उनीहरू चियालाई एउटा आदतभन्दा पनि आफूलाई रचनात्मक र सिर्जनशील बनाउने एउटा प्लेटफर्मका रुपमा अगाडि बढाउन सुझाव पनि दिन्छन् । अहिले काठमाडौंका गल्लीगल्लीमा खोलिएका नयाँ-नयाँ चिया पसलहरू स्वाद र सम्बन्धका सारथीमात्रै बनिरहेका छैनन्, संघर्ष र सफलताका संवाहक पनि बनिरहेका छन् । नयाँ चिया संस्कृतिले युवाहरूको सोच र सिर्जनासँगै सम्भावनालाई सार्थक बनाउने साहस पनि दिइरहेको छ ।