मर्जरले बनेका दोस्रो दर्जाका कर्मचारी
एक वर्ष अगाडि आइएमई रेमिट र जीएमई रेमिटको मर्जर भएको थियो । त्यतिबेला आइएमई रेमिट र जीएमई रेमिटको मर्जर कार्यक्रममा मैले पनि सहभागी हुने अवसर पाएको थिए । साथै, आइएमई पे र खल्तीबीचको मर्जरमा पनि सहभागी हुने अवसर पाए । यी दुईटा फिनटेक कम्पनीको मर्जर नेपालमा प्रथम पटक भएको हो । नेपाल राष्ट्र बैंकले २०७५ सालमा भुक्तानी सम्बन्धी ऐन ल्याउँदा डिजिटल भुक्तानीमा यति धेरै विकास हुन्छ सोचेको पनि थिएन । जुन किसिमको विकास भएको छ, त्यसबाट हामी अत्यन्त खुसी छौं । तैपनि अझै भुक्तानी प्रणालीको डिजिटाईजेशनमा धेरै कामहरू गर्नुपर्ने देखिन्छन् । युवापुस्तामा लोकप्रिय खल्तीको आफ्नै क्रेज थियो । एनपीएल हेर्न जाँदा टिकेट काट्नका लागि खल्तीबाट काट्न सुझाव दिन्थे । आइएमईको पनि आफ्नै किसिमको ब्राण्ड थियो । यी दुई वटा कम्पनीको मर्जरले सिनर्जी प्राप्त पक्कै गर्नेछ । आइएमई खल्तीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ र १२७ लाख प्रयोगकर्ता पुगेका छन् । राष्ट्र बैंकका लागि यो सबैभन्दा महत्वपूर्ण विषय हो । सुरक्षित, सबल र भरपर्दाे भुक्तानी प्रणाली हुनुपर्छ भन्ने मान्यता नेपाल राष्ट्र बैंकको रहेको छ । मर्जरपछि कुनै पनि किसिमको समस्या नआओस् । एउटा एपमा भएको रकम अर्काे एपमा पठाउँदा कुनै किसिमको दुविधा भयो भने १ करोड २७ लाख प्रयोगकर्तालाई सम्झाउन सक्ने क्षमता विकास गर्नुपर्छ । कुनै एक जना मान्छेले मात्रै समस्या खडा गर्याे भने पनि मर्जरको कुनै औचित्य रहँदैन । त्यसकारण यो टिमलाई सचेत रहन अनुरोध छ । आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काको मन्तव्य सुने । नेपालमा युवापुस्ताहरुको उबरता सितारा जस्तो लाग्यो । मैले व्यक्तिगत रुपमा उहाँ ( विनय खड्का)लाई चिनेको छैन र धेरै संगत पनि गरेको छैन । तर, उहाँको मन्तव्यबाट म अत्यन्त खुसी भए । यहि हिसाबमा अगाडि बढ्न शुभकामना छ । खल्ती बाइ आइएमईले उहाँको नेतृत्वमा भोलिका दिनमा राम्रो काम गरोस् । म धेरै मान्छेहरुलाई फाट्फुट्ट प्रसंशा गरिहाल्ने मान्छे होइन । यद्यपी मलाई त्यस्तो लागेकाले उहाँको प्रशंसा गरेको हो । नेपालमा मान्छेहरु बस्दै बस्दैनन्, यहाँ बसेका मान्छेहरु पनि काम लाग्दैनन् भन्ने भाष्य मेरो मनबाट हटेको छ । आइएमई रेमिट र जीएमई रेमिटको मर्जर, आइएमई पे र खल्तीको मर्जरको विषय चन्द्रजी (चन्द्र प्रसाद ढकाल)सँग पनि जोडिन्छ । मर्जर गरिहालौं भन्ने उहाँको विचार छ । उहाँले २०/२२ वटा संस्था मर्जर गरिसक्नु भएको छ । यसले नेपाल राष्ट्र बैंकलाई सहयोग गरेको छ । राष्ट्र बैंकले व्यवस्था गरेपछिको आइएमई र खल्तीको पहिलो मर्जर हो । बैंक तथा वित्तीय संस्थाहरुको मर्जरमा पोस्ट मर्जर सिन्ड्रोम हुने गरेको छ । एकथरिका कर्मचारीहरू नेपाल राष्ट्र बैंकमा आएर हामीलाई अपहेलना भयो, मर्जरले दोस्रो दर्जाका कर्मचारी भयौँ भन्दै विगतमा बैंक तथा वित्तीय संस्था मर्जर भएका कर्मचारीहरुले गुनासो गर्नुहुन्छ । यस विषयमा विभिन्न समयमा छलफल पनि भएको छ । भविष्यमा पोस्ट मर्जर सिन्ड्रोम खल्ती बाइ आइएमईमा नदेखियोस्, स्वस्थ रुपमा मर्जर पछिको कर्मचारी व्यवस्थापन होस् । स्वभाविक रुपमा दुईटा फिनटेक कम्पनी मर्जर हुँदा एक जना मात्रै सीईओ र अध्यक्ष हुने हो । संस्थाभित्रका समस्यालाई समाधान गर्न र कुर्नै पनि किसिमको गुनासो आउने छैन भन्नेमा विश्वस्त छु । नेपालको इतिहासमा मर्जर पछि धेरै राम्रा कामहरु पनि भएका छन् । नेपाल सरकारले डिजिटल फ्रेमवर्क भनिरहँदा राष्ट्र बैंक भुक्तानीसँग मात्रै सम्बन्धित छ । राष्ट्र बैंक अनलाइन फर्म भराएर सीआरओ राष्ट्र बैंकले गर्दैन । तर, भुक्तानी प्रणाली जुनसुकै विषयमा पनि आउने गर्छ । जस्तो विदेश जानका लागि परराष्ट्र मन्त्रालयमा छाप लगाउनुपर्याे र २ रुपैयाँ तिर्नुपर्याे भने त्यहाँ क्यूआर राखिएको हुन्छ, त्यो क्यूआरबाट तत्काल भुक्तानी हुने गरी व्यवस्थापनको काम राष्ट्र बैंकले गर्ने हो । डिजिटल पेमेन्टको माध्यमबाट पारदर्शीताको बढोत्तरी हुने भएकाले भुक्तानी प्रणालीलाई अझै व्यवस्थित, भरपर्दाे र सबैले पत्याउन सकिने बनाउनुपर्नेछ । त्यसैले नेपाल राष्ट्र बैंकले हरेक क्षेत्रमा डिजिटल भुक्तानीलाई बढाइरहेको छ । ९ वर्ष अगाडि आइएई र खल्ती स्थापना हुँदा राष्ट्र बैंकमा विभाग मात्रै थियो । सुरुमा विभाग बनाएपछि मात्रै ऐन जारी भएको हो । राष्ट्र बैंकमा भुक्तानी प्रणाली विभागको स्थापनाकालको सदस्य पनि हो खल्ती बाइ आएमईको अध्यक्ष कृष्ण प्रसाद शर्मा । कम्प्लायन्समा तलमाथि पर्न गयो भने फिनटेकमा हुन सक्ने सम्भावित कारवाहीका विषयमा उहाँ जानकार हुनुहुन्छ । नेपला राष्ट्र बैंकले जारी गरेका निर्देशनलाई पालना गरी कम्पनीलाई कम्प्लायन्स राख्नेमा विश्वस्त छौं । कम्पनीहरु दीर्घकालसम्म टिक्नु महत्वपूर्ण विषय हो । एउटा डिजिटल कारोबारमा ३८ पैसा लागत लाग्छ । सित्तैमा कुनै पनि वस्तु प्राप्त हुँदैन । सित्तैमा दिँदा कम्पनीलाई टिकाउँदैन । सुरुसुरुमा मान्छेहरुलाई जानकारी दिने उद्धेश्यका लागि डिजिटल भुक्तानी राम्रो छ भन्नका लागि निशुल्क गरिएको हो । विस्तारै राष्ट्र बैंकले शुल्क निर्धारण गर्ने विषयमा उचित निर्णय गर्नेछ । भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन यस क्षेत्रमा हुने नवीन अभ्यास तथा नवप्रवर्तन प्रवद्र्धन गर्न रेगुलेटरी स्यानबक्स सञ्चालनमा ल्याइने विषय मौद्रिक नीतिमा आएको छ । आगामी दिनमा प्रविधि विकासको विषयमा राष्ट्र बैंकले सधैँ सहजीकरण गर्नेछ । सबैको भूमिकाले भुक्तानी प्रणालीको डिजिटाइजेशनमा सहयोग पुगेको छ । आइएमई र खल्तीको मर्जरले सिनर्जी इफेक्ट ल्याएर सबैलाई फाइदा पुग्नेछ । सबै जना पढेका छैनन्, जाजरकोटका जनताले बुझ्न सक्ने किसिमको एप बनाउनुपर्छ । काठमाडौंको दरबारमार्गमा बसेर मात्रै भुक्तानी प्रणालीको काम हुँदैन । (नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आइएमई पे र खल्तीको एकीकृत कारोबार कार्यक्रममा राखेको विचार)
राष्ट्र बैंकको कामको विदेशमा पनि चर्चा हुन्छ (बमबहादुर मिश्रको विचार)
भारतीय मुद्रालाई विस्थापित गरी नेपाली मुद्राको चलनचल्ती बढाउने प्रमुख उद्देश्यका साथ विसं २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो । वित्तीय क्षेत्रको सर्वांगिण विकासमा राष्ट्र बैंकको योगदान अतुलनीय रहँदै आएको छ । राष्ट्र बैंकले वित्तीय विकासमा खेलेको भूमिका राष्ट्र बैंकको प्रतिष्ठा स्वदेश तथा विदेशमा समेत तारिफयोग्य रहँदै आएको हामीले महसुस गर्दै आएका छौं । विगत पाँच वर्षमा विश्व अर्थतन्त्रमा विभिन्न आयाम देखा परे । हामीले पनि त्यसको प्रत्यक्ष तथा परोक्ष असर भोग्नु पर्याे । कोरोना महामारीको असर नसकिँदै रुस–यूक्रेन, इजराइल–हमास तनाव जारी रहेकै बेला संयुक्त राज्य अमेरिकाले विभिन्न देशका लागि नयाँ भन्सारदरको घोषणा गर्नुका साथै व्यापार तथा वैदेशिक सहायता नीतिमा परिवर्तन गरेपश्चात् विश्व अर्थतन्त्रमा आर्थिक अनिश्चितता अझै बढेर गएको छ । यसबाट विश्व व्यापार विस्तार एवं आर्थिक वृद्धिदर समेत खुम्चिने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । आन्तरिक अर्थतन्त्रका सवालहरू क्रमसः सम्बोधन गर्दै जाँदा यसरी बढ्दै गएको वाह्य अनिश्चितताले राष्ट्र बैंकको उद्देश्य एवं कार्यभित्र पर्ने मुद्रास्फिति, वाह्य क्षेत्र, वित्तीय स्थायित्व लगायत समग्र आर्थिक विकासमा असर पर्न सक्ने सम्भावना छ । विगतका वर्षहरूमा विकसित अन्तर्राष्ट्रिय परिस्थितिले केही छिमेकी मुलुक एवं विकसित अर्थतन्त्रमा समेत मुद्रास्फिता नियन्त्रण, वाह्य क्षेत्र र वित्तीय स्थायित्व कायम राख्न चुनौतिहरू श्रृजना भएको अवस्थामा यस्ता चुनौतीहरू सफल व्यवस्थापन हामीले गरेका थियौं । दुई वर्ष कमजोर देखिएको आन्तरिक माग र न्यून आर्थिक वृद्धिमा विस्तारै सुधार हुन थालेको देशको पछिल्ला अन्तर्राष्ट्रिय व्यापार, कर्जा विस्तार र चालु आर्थिक वर्षको दोस्रो त्रैमासको आर्थिक वृद्धि लगायतका तथ्याङ्कले देखाएको छ । पछिल्लो समय मुद्रास्फितिमा उल्लेख्य कमी आएको छ भने वाह्य क्षेत्र थप सबल हुँदै गएको छ । चालु आर्थिक वर्षको औसत मुद्रास्फिति ५ प्रतिशतको लक्ष्यभन्दा निकै तल छ भने चालु खाता तथा सोधानान्तर दुवैमा बचत रही विदेशी विनिमय सञ्चिति १४ महिनाभन्दा बढी समयका लागि वस्तु तथा सेवा धान्ने देखिन्छ । अल्पकालीन तथा दीर्घकालीन ब्याजदरमा उल्लेख्यनीय कमी आएको छ भने कर्जा विस्तारले समेत गति लिँदै गएको छ । अर्थतन्त्रमा देखिएका केही संरचनागत आन्तरिक व्यवस्थापन र बाह्य कारणले समेत वित्तीय क्षेत्रको निष्क्रिय कर्जा क्रमसः बढ्दै गएको भएपनि चालु पुँजी प्रयाप्तता, तरलता लगायत वित्तीय स्थायित्व सम्बन्धी सूचकहरू नियामकीय व्यवस्थाभन्दा माथि नै रहेको हुनाले यसमा समस्या देखिनु पर्ने अवस्था छैन । निष्कृय कर्जाको वृद्धिबाट सिर्जना हुने चुनौतीको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गरी सुपरीवेक्षणका लागि अझ प्रभावकारी बनाइएको छ । राष्ट्र बैंकको कानूनी, संस्थागत एवं पुर्वाधार विकास र उच्च प्राथमिकताका कारण आज विद्युतीय भुक्तानीले ठूलो फड्को मारेको छ । वित्तीय पहुँत, विद्युतीय भुक्तानीका साधनको प्रयोग लगायतमा उच्च विस्तार भएको छ । वित्तीय साक्षरता अभिवृद्धि एवं ग्राहक संरक्षणमा समेत राष्ट्र बैंकको पहल सार्थक हुँदै गएको छ । साथै आफ्ना कामबारबाहीलाई प्रभावकारिता बनाउनका लागि विभिन्न नीतिगत, संस्थागत, प्रक्रियागत सुधार गरिँदै लगिएको छ । साथै मौद्रिक नीतिको आधुनिकीकरण गरिँदै मौद्रिक व्यवस्थापनलाई प्रभावकारी लगिएको छ । विविध प्रयासका बाबजुत हाम्रासामू आन्तरिक तथा वाह्य चुनौतिहरू विद्यमान छन् । राष्ट्र बैंक कार्यक्षेत्रभित्र रहेका चुनौतिहरूको उचित विश्लेषणबाट क्रमसः सम्बोधन गरिँदै लगिने र आर्थिक स्थायित्व कायम गरिने, वित्तीय प्रणालीको विकास एवं विस्तार गर्ने लगायतका राष्ट्र बैंकको प्रमुख जिम्मेवारीलाई केन्द्रमा राखी आगामी नीतिमा यस किसिमका व्यवस्थाहरू गरिने प्रतिवद्धता जाहेर गर्दछु । (मिश्र राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् । उनले राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवमा राखेको विचारको सम्पादित अंश ।)