पात्रमा प्राण भर्ने कलाकार
मानिसको जीवन, मनोविज्ञान र भावनाका कथाहरूमा डुब्ने नायिका । सिनेमाको पात्रमा प्राण भर्ने अभिनेत्री । सिनेमा हेर्ने र कलाप्रेमीहरूले चिन्ने, बुझ्ने र ग्रहण गर्ने यसरी नै हुन् अभिनेत्री सुरक्षा पन्तलाई । सिर्जनशीलता, रचनात्मकता र समाजलाई केही पाठ र सन्देश दिन खोज्ने कथामा डुबेर अभिनयमा अब्बलता देखाउनु उनको विशेषता हो । कथामा नयाँपन खोजिरहने सुरक्षा सधैं सुरक्षित बाटोभन्दा फरक, नयाँ र चुनौतीपूर्ण कथाहरूको माग गर्छिन् । किनकि उनका लागि कला प्रख्याति मात्र नभई समाजमा प्रभाव छोड्ने जिम्मेवारपूर्ण पनि हुनुपर्छ । ‘हामीले जे काम गरिरहेका हुन्छौं, त्यो कामले अन्य व्यक्तिको जीवनमा कति प्रभाव पारिरहेको रहेछ भनेर हामीले भेट्ने मान्छेहरूबाट थाहा पाउँछौं, यसले ठूलो आत्मसन्तुष्टि दिन्छ,’ सुरक्षाले भनिन् । इन्जिनियरिङ पृष्ठभूमिबाट आएर नेपाली सिनेमा क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल सुरक्षा आज दर्शकले ‘राम्रो कलाकार’ भनेर सिफारिस गर्ने नाममध्येमा पर्छिन् । आफू सफल भए पनि असफल भए पनि कलालाई माया गर्ने कलाकारलाई यस क्षेत्रले अन्ततः अँगाल्छ भन्ने उनको विश्वास छ । ‘कला क्षेत्रलाई विशुद्ध माया गरेर काम गर्ने कलाकारहरूलाई सिनेमा क्षेत्रले पनि अँगाल्दो रहेछ, माया गर्दाे रहेछ, ठाउँ दिँदोरहेछ । त्यसमा ढिलो चाँडो होला । तर, खुला रुपमा स्वागत गर्दो रहेछ,’ उनले अनुभव सुनाउँदै भनिन् । सरलदेखि जटिल मनोविज्ञान बोकेका महिला पात्रहरूमा उनले दिएको जीवन्त प्रस्तुति दर्शकमाझ चर्चित बन्दै गएको छ । कला प्रख्याति मात्र नभई, समाजमा प्रभाव छोड्ने जिम्मेवारपूर्ण हुनुपर्छ भन्ने बुझाइ सुरक्षाको छ । सुरक्षाले सन् २०१५ मा चलचित्र ‘अझै पनि’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरिन् । उक्त चलचित्रबाट सहायक भूमिकामा डेब्यू गर्दा उनले साइँलीको चरित्र निभाइन् । चरित्र लेखनदेखि कथावस्तु र फिल्म सबैतिर समस्या भएकैले यो फिल्म चलेन । तर, दर्शक र चलचित्र निर्माताको नजरमा भने उनी परिसकेकी थिइन् । उनी एउटा राम्रो समूहको फिल्ममा पुगिन्, ‘धनपति’। एक ड्राइभर धनपतिले परिवार पाल्न गरेको संघर्षमा आधारित यो फिल्म अन्य मसालेदार फिल्मभन्दा धेरै फरक छ । चरित्र निर्माणमा सुरक्षाले गरेको मिहिनेत धनपतिमा देखियो । धनपति पनि खासै पैसा कमाउने फिल्म बन्न नसकेपनि दर्शक र समीक्षकहरूले सुरक्षाको अभिनयलाई खुलेरै प्रशंसा गरे । धनपति पछि उनले लगातार ‘भैरे’, ‘रोमियो एण्ड मुन्ना’ र ‘चङ्गा चेट’ मा काम गरिन् । त्यसपछि उनले फिल्म ‘गोपी’मा अभिनय गरिन् । सुरक्षाको अभिनय र चरित्रले गोपी फिल्ममा राम्रै प्रशंसा बटुल्यो । त्यसपछि उनी चरित्रमा झनै घुस्न थालिन् । ‘आमा’ फिल्ममा चरित्रका लागि भन्दै सुरक्षाले कपालसमेत काटिन् । उनले कपाल काटेकै भरमा समेत फिल्मको प्रचारप्रसार चुलीमा पुग्यो । फिल्मले राम्रै प्रशंसा पायो । चरित्रमा डुब्नका लागि कपाल काटेको विषयले निकै चर्चा पायो । सिनेमा र चरित्रप्रतिको सुरक्षाको इमानदारिता, लगनशीलता र त्यागको निकै तारिफ भयो । आमापछि उनले धेरै फिल्ममा काम गरिन् । ‘घर’ नामको हरर फिल्मदेखि ‘के घर के डेरा’सम्ममा उनले अभिनय गरिन् । यसैबीच उनले इटालियन चलचित्र ‘द एट माउन्टेन’मा पनि अभिनय गरिन् । जसले उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनायो । मेरो सफलताको सारथि मेरो इच्छाशक्ति नै हो । नयाँ र फरक विषयवस्तु दर्शकमाझ पुर्याउने काममा प्रयासरत रहनेछु । अब अभिनयसँगै निर्देशन र सिनेमा निर्माणमा पनि काम गर्ने योजना छ । ‘बहाव‘देखि ‘बुलाकी’सम्ममा सुरक्षाले फरक चरित्रमा काम गरिन् । बुलाकी फिल्ममा सुदूरपश्चिमको भाषामा बोल्ने मात्रै होइन, उनले आफ्नै आवाजमा सुदूरपश्चिमकै भाषामा गीतसमेत गाइन् । यसले उनको कला र क्षमताको थप पुष्टि गर्यो । ‘बहाव’देखि ‘बुलाकी’सम्म फरक–फरक चरित्रमा देखिँदै आएकी उनी हिटको पछि होइन, चरित्रको पछि दौडिरहेकी कलाकार हुन् भन्ने प्रमाणित गर्यो । छोटा फिल्महरूदेखि म्युजिक भिडियोसम्म सबैमा काम गरेको अनुभव उनीसँग छ । सुरक्षाका लागि सफलताको सारथि नै इच्छाशक्ति हो । कला क्षेत्रमा नयाँ र फरक विषयवस्तु दर्शकमाझ पु¥याउने उद्देश्यसहित निरन्तर प्रयास उनको छ । उनका अनुसार फिल्म पढेर आएका नयाँ पुस्ताका फिल्ममेकरहरूलाई मूलधारको सिनेमामा ल्याउन सामूहिक प्रयास आवश्यक छ । आफूले अभिनयमार्फत नयाँ कथालाई समर्थन गर्ने कोसिस गरिरहेको बताउँदै सुरक्षाले यसलाई आफ्नो उद्देश्यकै रूपमा अघि बढाइरहेको बताइन् । ‘अलिकति नयाँ, फरक किसिमका विषयवस्तुलाई अझै दर्शकमाझ पुर्याउन खोजिरहेकी छु, हजारौंको संख्यामा नयाँ फिल्म मेकरहरू पढे–लेखेर बाहिर निस्कनु हुन्छ । कहिलेकाहीँ ममार्फत पनि उहाँहरूलाई मेनस्ट्रीम फिल्म मेकिङमा ल्याउन सकुँ भन्ने लाग्छ,’ सुरक्षाले आफ्नो उदारता पोखिन्। अभिनयसँगै निर्मातातर्फको बाटो अब अभिनयमात्रै होइन, निर्देशन र निर्माताको बाटो समाउने योजना सुरक्षाको छ । कथा लेखन, निर्माण वा निर्देशनतर्फ पनि लाग्ने योजना सुनाइन् उनले । ‘भविष्यमा अझै विभिन्न पात्रहरूमा उभिन पाऊँ भन्ने छ । आफ्नो इच्छाशक्ति रहेसम्म अभिनयबाहेक पनि कथा भन्नेतिर आउने योजना छ,’ उनले भनिन्, ‘विस्तारै कथा लेखन, निर्देशक र निर्माता भएर काम गर्न मन छ, कला क्षेत्रमा अझै धेरै काम गर्ने योजना छ ।’ कला क्षेत्र धमिलो नहोस् भन्ने चाहनासहित राम्रो कथा, बलियो पटकथा, उत्कृष्ट अभिनय र निर्देशनमार्फत सक्षम टिमवर्क निर्माण गर्नु नै आफ्नो मूल लक्ष्य रहेको सुरक्षाले सुनाइन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको प्रतिनिधित्व गर्ने अनुहार बनेकी उनले अभिनय, रंगमञ्च, टेलिभिजन र अन्तर्राष्ट्रिय चलचित्रसम्मको यात्रा तय गर्दै आफूलाई स्थापित कलाकारका रूपमा दर्ज गराएकी छन् । नेपाली चलचित्र उद्योगमा अभिनयको गहिराइ, चरित्रप्रतिको इमानदार समर्पण र फरक धारका भूमिकामार्फत चिनिएकी सुरक्षा पुरस्कार र सम्मानको हिसाबले पनि उत्तिकै स्थापित छिन् । आफ्ना लागि दर्शकको माया नै सबैभन्दा ठूलो सफलता भएको उनी बताउँछिन् । ‘कला क्षेत्रमा काम गर्ने कलाकारहरूको सफलताको मुख्य मापन भनेको दर्शकहरूको माया हो,’ उनी भन्छिन्, ‘जहाँ जाँदा पनि राम्रो कलाकार हो भनेर चिनिनु गर्वको विषय हो, जुन मैले दर्शकबाट पाइरहेकी छु ।’ व्यावसायिक स्टारडमभन्दा बाहिर रहेर अभिनयलाई प्राथमिकता दिएकी सुरक्षाले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चबाट महत्त्वपूर्ण सम्मान र उचाइ प्राप्त गरेकी छन् । उनले सन् २०१९ मा चलचित्र ‘गोपी’बाट नेफ्टा फिल्म अवार्ड प्राप्त गरेकी गरिन् । यस फिल्ममा उनले मुख्य पात्रसँग जोडिएको संवेदनशील महिला चरित्र निभाएकी थिइन् । भूमिका आकारमा ठूलो नभए पनि कथामा यसको प्रभाव निर्णायक थियो । नेफ्टा अवार्डले उनलाई सह–भूमिकामा समेत प्रभाव छोड्न सक्ने अभिनेत्रीका रूपमा चिनायो । यस्तै, सन् २०२० मा फिल्म ‘आमा’ राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषित भएसँगै उक्त फिल्मबाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री बनिन् । फिल्म ‘बुलाकी’बाट उनले नेपाल–अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)बाट पनि उत्कृष्ट अभिनेत्रीको सम्मान प्राप्त गरिन् । ‘बुलाकी’ फिल्ममा सुरक्षाले सुदूरपश्चिमेली महिलाको जीवन, पीडा र सामाजिक यथार्थलाई प्रस्तुत गरेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरको महोत्सवबाट सम्मानित हुनु सुरक्षाको अभिनय यात्रामा महत्वपूर्ण उपलब्धिका हो । सुरक्षाले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनेर प्राप्त गरेको मान्यता पनि उनको सम्मान सूचीमै जोडिने विषय हो । इटालियन फिल्म ‘द एट माउन्टेन’को टिमसँग कान्स पुगेकी सुरक्षाको उपस्थितिलाई नेपाली फिल्म क्षेत्रका लागि अन्तर्राष्ट्रिय मान्यता र गौरवको रूपमा लिइएको थियो । यस उपलब्धिले उनलाई केवल पुरस्कार प्राप्त अभिनेत्री मात्र होइन, अन्तर्राष्ट्रिय पहिचान बनाउने कलाकारको रूपमा पनि स्थापित गरेको छ । चिकित्सक बन्ने सपना, इन्जिनियरिङ पढाइ बुटवलमा जन्मिएकी सुरक्षा सानैदेखि पढाइमा अब्बल थिइन् । चार दिदी बहिनी र एक भाइसहित बाबुआमाको संरक्षणमा हुर्किएकी उनी घरपरिवारमै सीमित जीवनबाट बाहिर निस्केर केही फरक गर्ने चाहना बोकेर बसेकी थिइन् । तर, एसएलसीअघि उनले घर छाडेकी थिइनन् । उनको सपनाको सहर भने सधैं काठमाडौं नै थियो । तर, त्यो सपना घरमा राख्नु र व्यक्त गर्नु सजिलो थिएन । पढाइप्रतिको लगाव र निरन्तर मिहिनेतले अन्ततः उनलाई काठमाडौं आउने अवसर दिलायो । छात्रवृत्तिमा नाम निकालेर डाक्टर बन्ने परिवारको सल्लाहले उनी सपनाको सहर काठमाडौं आइन् । आफू काठमाडौं आउँदा कुखुरा बोक्ने गाडीमा आएको अनुभव सुनाइन् । काठमाडौंमा सुरक्षाले आफूलाई प्रमाणित गर्दै अघि बढ्ने बाटो रोजिन् । डाक्टर बन्ने सपना बोकेर काठमाडौं आइपुगेकी उनको जीवनले यहाँ आएपछि नयाँ मोड लियो । चिकित्साशास्त्र पढ्ने लक्ष्यसहित राजधानी प्रवेश त गरिन् तर अपेक्षित छात्रवृत्तिमा नाम निस्केन । परिस्थितिले उनलाई विकल्प खोज्न बाध्य बनायो र अन्ततः उनले इन्जिनियरिङ पढ्ने निर्णय गरिन् । पढाइप्रतिको लगाव र इमानदारिताका कारण उनी इन्जिनियरिङमा पनि सफल भइन् र यही विषयमा उच्च अध्ययनतर्फ अघि बढिन् । इन्जिनियरिङमा मास्टर्स अध्ययन सुरु गर्नुअघि नै सुरक्षाको जीवनमा अर्को अप्रत्याशित अवसर आयो फिल्म अभिनय । त्यसपछि उनले नेपाली कला क्षेत्रको यात्रा तय भयो । २०७९ फागुनमा प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी सुरक्षाले आफ्नो अभिनय करिअरलाई निरन्तरता दिइरहेकी छन् । व्यक्तिगत जीवनमा महिला अधिकार, समानता र सामाजिक न्यायका विषयमा सचेत देखिने उनी अभिनय गरेका चलचित्रहरूमा महिला पात्रलाई कमजोर वा सजावटी रूपमा नभई सोच्ने, निर्णय गर्ने र प्रश्न उठाउने पात्रका रूपमा आफूलाई प्रस्तुत गरिरहेकी छन् । नेपाली कला क्षेत्रमा जीवनको कुनै सुनिश्चितता नभएको सुरक्षाको गुनासो छ । उनका अनुसार यो क्षेत्रलाई अझै चलायमान बनाउन नसकेको र नीतिगत तहसम्म पनि यसले प्राथमिकता पाएको छैन । ‘अझै धेरै कथाहरू छन्, जुन हामीले भन्न सकेका छैनौं, यो क्षेत्रलाई चलायमान बनाउन प्रयास गर्नुपर्छ,’ उनले भनिन्, लगानीकर्ताको ध्यान फिल्म उद्योगमा पनि जानुपर्छ ।’ सुरक्षाकै शब्दहरू : कलाकारले गर्ने हरेक कामले कसैको जीवनमा प्रभाव पारिरहेको हुन्छ । कतिपय मानिसहरू आएर ‘मेरो जस्तै कथा रहेछ, राम्रो लाग्यो’ भन्नुहुन्छ । उहाँहरूले आफैलाई कथामा भेटे झैं महसुस गर्न पाउनुहुन्छ र कलाकारले आत्मसन्तुष्टि अनुभव गर्छन् । त्यो अनुभव गर्न पाउँदा धेरै खुसी लाग्छ । मानिसभित्रको सहानुभूति र संवेदनशीलता जगाउनु नै कलाको मूल प्रभाव हो । कलालाई माया गर्ने कलाकारलाई सिनेमा क्षेत्रले पनि अँगाल्दो रहेछ । म फरक पृष्ठभूमिबाट आएको हुनाले मेरो फिल्म क्षेत्रमा प्रवेश केही नौलो रह्यो । यसले कला क्षेत्रमा फरक विधाबाट आएका, पढेलेखेका मानिसले पनि राम्रो गर्न सक्छन् भन्ने सन्देश पनि प्रवाह भएको छ । म नयाँनयाँ कथामा काम गर्न रुचाउँछु, किनकि नयाँपन नै कला क्षेत्र विकासको आधार हो । कलाकारका लागि सफलताको सबैभन्दा ठूलो मापन भनेको दर्शकको माया हो, राम्रो कलाकार भनेर चिनिनु, फिल्म नचले पनि हौसला दिनु आफ्नो सफलता हो जस्तो लाग्छ । यस यात्रामा सबैभन्दा ठूलो सारथि मेरो आफ्नै इच्छाशक्ति हो । इच्छाशक्ति बिना कलाकार दिगो रूपमा टिक्न सक्दैन । यसको पछि दर्शकको माया, परिवार, साथीभाइ र सकारात्मक सोचले बल दिन्छ । समाज, देश र अझ ठूलो अर्थमा संसारका लागि के गर्न सक्छु भन्ने दृष्टिकोणले पनि निरन्तर अघि बढ्न प्रेरित गर्छ । नयाँ र फरक कथावस्तु दर्शकमाझ पुर्याउने मेरो निरन्तर प्रयास रहनेछ । कहिलेकाहीँ चुनौती आउँछन्, नयाँ फिल्म–मेकिङ सिकेर आएका युवालाई मेनस्ट्रीममा ल्याउने चाहना पनि हुन्छ । सबै कुरा एक्लैले सम्भव हुँदैन, सामूहिक प्रयास आवश्यक हुन्छ र यही कुरा नै मेरा उद्देश्यहरूसँग जोडिएको छ । म फिल्म करिअरलाई अझ विविध बनाउन चाहन्छु । नयाँ पात्र, नयाँ अभिनय, र भविष्यमा कथावाचन, लेखन, निर्माण वा निर्देशनतर्फ पनि अघि बढ्ने योजना छ । विकास मिडियाले गरेको ‘विकास नायक’ सम्मानलाई म विभिन्न क्षेत्रका व्यक्तिलाई एकै मञ्चमा ल्याउने राम्रो प्लेटफर्मका रूपमा हेरेकी छु । यस्तो प्लेटफर्मले फरक क्षेत्रका प्रभावशाली व्यक्तिसँग कलाकारलाई जोडिदिन्छ, सहकार्य र नेटवर्किङको नयाँ ढोका खोलिदिन्छ ।
पतञ्जलिलाई जग्गा दिएर पछुताएका छन् बनेपाका स्थानीय
काभ्रे । १५ वर्षअघि बनेपा नगरपालिका- १४ साविकको काभ्रेपलाञ्चोक जिल्लाको नासिकबासथान (साँगा) र महेन्द्रज्योति गाविस तथा चलाल गणेश स्थान (अहिलेको बनेपा नगरपालिका)मा पर्ने गाउँका अधिकांश घरधुरीले आफूले भोगचल गर्दै आएको जग्गा खुसीसाथ पतञ्जलिलाई बेचे । कोहीले उधारोमा बेचे त कोही बिचौलियाको फन्दामा परे । केही घरधुरीले अहिलेसम्म पनि आफ्नो जग्गाको रकम पाएका छैनन् । पाए पनि जग्गाको २५ प्रतिशत रकम मात्रै। यी मध्येका एक हुन् शुक्रराम तामाङ । शुक्ररामका बुवा रामकृष्णले जग्गा बेचेका हुन् । दोस्रो चरणको जग्गा बिक्री गर्दा रामकृष्णले पहिलो किस्तामा आफूले ७० हजार रोपनीका दरले बेचेको जग्गाको रकम माग्दा उल्टै कुटाइ खाए । शुक्ररामका अनुसार पूर्ववडाध्यक्ष रामहरि श्रेष्ठलगायतका व्यक्तिले रामकृष्णलाई जुत्ता फुकालेर कुटेका थिए । अहिले उक्त जग्गाको मूल्य करोडौं पर्छ । तर जसको जमिन थियो, उसले न पैसा पायो, न उनीहरूका सपना पूरा भए । शुक्रराम भन्छन्, ‘हामीले १४ रोपनीमा ३ लाख पायौं, त्यो पनि अपमानसँगै । आफ्नो जग्गाको पैसा माग्दा मेरा बुवाले जुत्ताले कुटाइ खानु पर्यो । अब न फिर्ता पाउने आश छ, न न्याय ।’ स्थानीय कमला खत्री भने जुन सपना देखाएर जग्गा खरिद गरिएको थियो त्यस्तो नभएकोमा दुःखी छिन् । भन्छिन्, ‘मेडिकल कलेज बनाउँछु, फुटबल खेल्ने ग्राउन्ड बनाउँछु भनेको थियो सुरुमा तर गर्न सकेनन् । हामीसँग जग्गा किनेर कता हाउजिङलाई बेचेको रे भनेको सुनेको हो । हामीलाई सपनामात्रै देखाइयो ।’ अर्का स्थानीय हरिप्रसाद तिल्मिसनाको पनि उस्तै गुनासो छ । पतञ्जलिले आफूहरूसँग जग्गा किनेर फटाइँ गरी फरार भएको उनको आरोप छ । ‘मैले पतञ्जलिका लागि ४ रोपनी ४ आना बेचेको हो । मैले मालपोतमा जग्गा पास गर्ने बेला पनि पतञ्जलिलाई नै भनेर पास गरेको हो । पछि पो पतञ्जलि योगपीठ नै आउने भनेर यहाँ गाईपालन, आयुर्वेदिक औषधालय, विद्यालय हुन्छ भन्या थियो । हरिद्वार जस्तै बनाइन्छ भने तर केही पनि हुन सकेन ।’ पतञ्जलिलाई रोपनीको ८० हजारका दरले २५ रोपनी बेचेकी अर्की स्थानीय अम्बिका राउत पनि अहिले पछुताइरहेकी छन् । विभिन्न सपना बाँडेर जग्गा खरिद गरेको पतञ्जलिले आफूहरूलाई धोका दिएको स्थानीयको आरोप छ । यस्तो छ घटनाको नालीबेली २०६४ पुसमा कम्पनी रजिष्टार कार्यालयमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी दर्ता भयो । जुन नाफाभन्दा पनि सेवाका रूपमा दर्ता गरिएको कम्पनी थियो । त्यसपछि दर्ता भएको २ वर्षपछि २०६६ माघमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलिलाई स्वीकृति दियो । जबकि त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनिसकेको थियो । भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर जुन प्रयोजनका लागि त्यो सुविधामा खरिद गरेको जग्गा भने बिक्री गर्न पाइँदैन । २०६६ फागुनमा पतञ्जलिका नेपाल प्रमुख शालीग्राम सिंहले हदबन्दी छुटको जग्गा बेच्न पाऊँ भनी स्वीकृति माग्दै तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निवेदन दिए । त्यसपछि सोही वर्षको चैतमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार भन्दै मन्त्री श्रेष्ठले पतञ्जलिले हदबन्दी छुटको जग्गा बेच्न पाउने प्रस्तावसहित मन्त्रिपरिषद्मा फाइल पुग्यो । फाइल पुगेको ३ दिनपछि अर्थात चैत ६ गते पतञ्जलिले हदबन्दी छुटको जग्गा बेच्न पाउने मन्त्रिपरिषदबाट निर्णय भयो । चैत १७ गते मन्त्रिपरिषद्को सोही निर्णय गैरकानुनी भन्दै भूमिसुधार विभागका महानिर्देशक केशरबहादुर बानियाँले कार्यान्वयन गर्न नसकिने जवाफ दिई भूमिसुधार मन्त्रालयलाई पत्र पठाए । त्यसको भोलिपल्ट चैत १८ गते तत्कालीन प्रधानमन्त्री नेपालले पतञ्जलिले धुलिखेलमा ८८ रोपनी जग्गा किनेर त्यसमा बनाउन लागेको संरचनाको शिलान्यास गरे । चैत २६ गते हदबन्दी छुट जग्गा बिक्री गर्ने स्वीकृतिलाई चुनौती दिएको भन्दै मन्त्रिपरिषदले महानिर्देशक बानियाँलाई स्पष्टीकरण सोध्ने निर्णय गर्यो । र त्यसको भोलिपल्टै बानियाँलाई हटाएर मन्त्रालयका सहसचिव जितबहादुर थापालाई विभागको महानिर्देशकको जिम्मेवारी दिइयो । जिम्मेवारी सम्हालेकै दिन थापाले हदबन्दी छुट जग्गा बिक्रीका लागि स्वीकृति दिन मालपोत कार्यालय, काभ्रेलाई पत्र पठाए । २०६७ असार ११ गते पतञ्जलिले काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई ३५३ रोपनी १५ आना जग्गा बिक्री गर्यो । त्यसको १४ वर्षपछि अर्थात २०८१ साउनदेखि चैतमा हदबन्दी छुट जग्गा किनबेच निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री नेपाललगायतसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लियो । उक्त बयान लिएको एक वर्षपछि गत जेठ २२ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारको आरोपपत्र अनुसार पतञ्जलिले नेपालले माघ, २०६६ अघि नै काभ्रेका तीन गाविसमा ५ सय ५७ रोपनी जग्गा खरिद गरिसकेको थियो । कतिपय विवरणमा भने ५ सय ५५ रोपनी भन्ने उल्लेख छ । पतञ्जलिले निवेदनमा काभ्रेलगायत देशभरका एक दर्जनजति जिल्लामा २ हजारदेखि २५ सय रोपनी जग्गा आवश्यक पर्ने र त्यसका लागि एक वर्ष लाग्ने भनेको थियो । २०२१ सालमा भूमिसम्बन्धी ऐन जग्गाको हदबन्दीको अवधारणा कार्यान्वयनमा आएको हो । त्यो व्यवस्था अनुसार भित्री मधेश र तराईमा ११ विगाहा, काठमाडौं उपत्यकामा ३० रोपनी र उपत्यका बाहेकका पहाडी क्षेत्रमा ७५ रोपनी जग्गा मात्रै राख्न पाइन्छ । सीमित परिवारले असीमित जग्गा कब्जा गरेर नागरिकहरू भूमिहिन हुन नपरोस् भन्ने अवधारणा कार्यान्वयन गर्न यस्तो व्यवस्था गरिएको हो । जडीबुटी कारखाना र आयुर्वेद अनुसन्धान केन्द्र खोल्ने भनेको पतञ्जलिलाई ७५ रोपनी जग्गाले मात्रै पुग्ने थिएन । त्यसैले उसले ‘हदबन्दी छुट’को जग्गा राख्न पाउन आवेदन दिएको हो । तर, पतञ्जलिका सञ्चालकले त्यसक्रममा बदमासी गरेको र सरकारबाट अनुमति पाउनुअघि नै हदबन्दीभन्दा बढीको जग्गा किनेर राखेको अख्तियारको आरोप हो। २०६२ सालमा नै सरकारले ‘हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने कार्यनीति २०६२’ जारी गरेको थियो । त्यतिबेलाको कार्यविधिअनुसार ठूलो प्रकृतिको उद्योगलाई पनि ४ सय रोपनी जग्गा मात्रै छुट दिन पाइने व्यवस्था थियो । तर पतञ्जलिले मागेको ७०० रोपनीको छुट दिन नसकिने भनी मालपोत कार्यालय, काभ्रेले भूमिसुधार विभागमा पत्र पठायो । फाइल तहगत हुँदै मन्त्रिपरिषदमा पुग्यो । जग्गा राख्ने सुविधा पाउनासाथ जग्गा बेच्ने प्रयास थालेका शालीग्राम सिंहले बैशाख, २०६७ मा कम्पनीको प्रबन्धपत्र परिमार्जन गरी जग्गा खरिद र बिक्री गर्न पाउने व्यवस्था थपेका थिए । सरकारले पतञ्जलिलाई जग्गा बेच्दा प्राप्त हुने सबै रकम अर्को ठाउँमा जग्गा किन्न प्रयोग हुनुपर्ने शर्त तोकेको थियो । विवरणअनुसार जग्गा बेचेर ४ करोड २२ लाख रुपैयाँ पाएको पतञ्जलिले एक करोड ७ लाख रुपैयाँ मात्रै अन्यत्र जग्गा खरिद गर्न खर्चेको थियो । पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएसँगै उनको सांसद पदसमेत निलम्बन भइसकेको छ । यो प्रकरणले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । ओली सरकारले नेपालमाथि प्रतिशोध साँधेको सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ । पतञ्जलिलाई जग्गा बेच्दा बिचौलियाको फन्दामा परे रामकृष्ण, पैसा माग्दा उल्टै कुटिए
पतञ्जलिलाई जग्गा बेच्दा बिचौलियाको फन्दामा परे रामकृष्ण, पैसा माग्दा उल्टै कुटिए
काभ्रे । २०६४ सालतिर शुक्रराम तामाङका बुवा रामकृष्ण तामाङले आफ्नो १४ रोपनी पुर्ख्यौली जग्गा बेचे । गाउँमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फर्म सञ्चालन हुने र त्यहाँ जागिर पाइने आशामा उनले जग्गा बिक्री गरेका हुन् । रामकृष्णको मात्रै नभई सिंगो गाउँको जग्गा नै खरिद गर्दै थियो- भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले । जग्गा हेरेर कुनै ६० हजार रोपनी त केही ७० हजार रोपनीका दरले सयौंको रोपनीमा कम्पनीले जग्गा किन्यो । रामकृष्णले पनि गाउँमै रोजगारी पाइने स्वास्थ्य उपचार हुने जस्ता सपनासँगै २ चरणमा जग्गा बेचे । पहिलो पटक नै उनको जग्गा पतञ्जलि कम्पनीले बिचौलियामार्फत उधारोमा किन्यो । जग्गा दलाल र बिचौलिया रामकृष्णले चिनेका गाउँकै थिए । दोस्रो चरणको जग्गा बिक्री गर्दा रामकृष्णले पहिलो किस्तामा आफूले ७० हजार रोपनीका दरले बेचेको जग्गाको रकम माग्दा उल्टै कुटाइ खाए । छोरा शुक्ररामका अनुसार पूर्ववडाध्यक्ष रामहरि श्रेष्ठलगायतका व्यक्तिले रामकृष्णलाई जुत्ता फुकालेर कुटेका थिए । रामकृष्ण सोझा स्वभावका थिए, अलि-अलि रक्सी पनि खान्थे । जसले जे भन्यो त्यही मान्ने हुँदा फाइदा अरूले उठाए । शुक्रराज भन्छन् , ‘बुवा त अब हामीमाझ हुनुहुन्न तर सोझोको फाइदा उठाएर यत्रो गाउँमा हामीलाई मात्र पैसा दिइएन । अरू त सबैले उतिबेला जतिमा बेच्नु भयो त्यति नै पाउनु भयो । हामीले मात्र पाएनौं ।’ रोपनीको ७० हजारमा किनबेच भएको जग्गा १४ रोपनीको ८ लाख ४० हजार रकम हुन आउँछ । तर तीन लाख मात्रै पाएका शुक्रराम बताउँछन् । भन्छन्, ‘म त काठमाडौंमै थिएँ, ६-७ महिनापछि थाहा पाएँ कि बुबाले जग्गा बेच्नुभयो । पछि यस्तो भयो भनेर मुद्दा हाल्न सीडीओ अफिस धुलिखेल पनि गयौं, तर प्रमाण छैन भन्दै फर्काइदियो । यसरी खाएको त के पो प्रमाण हुँदो रहेछ र ?’ अहिले शुक्ररामलाई मात्रै होइन, सिंगो गाउँलाई नै त्यतिबेला पतञ्जलि कम्पनीलाई जग्गा बिक्री गरेकोमा पछुतो छ । पतञ्जलि कम्पनीले आफूहरूलाई सपना देखाएर धोका दिएको उनीहरूको भनाइ छ । स्थानीयले जग्गा बेचेको केही महिनामै काष्ठमण्डप हाउजिङ कम्पनीले डोजर लगाएर जमिन खन्न थालेपछि तलको बस्ती जोखिममा पर्यो । खेती गर्ने जमिन भासिन थाल्यो । गाउँलेको देउता थानसमेत भत्काइयो । ‘पतञ्जलिले हामीसँग न कुरा गर्यो, न क्षतिपूर्ति दियो । बिचौलियामार्फत जग्गा किन्यो अनि बेचिदियो । डोजर लगाएर गाउँ नै अहिले जोखिममा छ । यतापट्टिको पाखातिर त पानी पर्दा त्यहाँ नगए पनि हुन्छ,’ उनले बस्तीमाथि तिर देखाउँदै भने, ‘पहिरो पो आउँछ त । पहिले केही हुँदैनथ्यो ।’ आज त्यो जग्गा करोडौंको मूल्यमा पुगेको छ । तर जसको जमिन थियो, उसले न पैसा पायो, न उनीहरूका सपना पूरा भए । शुक्रराम भन्छन्, ‘हामीले १४ रोपनीमा ३ लाख पायौं, त्यो पनि अपमानसँगै । आफ्नो जग्गाको पैसा माग्दा मेरा बुवाले जुत्ताले कुटाइ खानुपर्यो । अब न फिर्ता पाउने आश छ, न त न्याय नै ।’ पतञ्जलिले किन्यो, काष्ठमण्डपलाई बेच्यो २०६४ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फार्म सञ्चालनका लागि भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमा पतञ्जलि योगपीठ नेपाल दर्ता भएको थियो । त्यसपछि २०६६ सालमा यहाँका स्थानीयसँग पतञ्जली नेपालले यहाँको नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेशस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा किन्यो र त्यसको केही महिनामै ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई ११ असार ०६७ मा पतञ्जलिका तत्कालीन प्रमुख शालिग्राम सिंहले बेचेका थिए । गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो । उद्योग र शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि हदबन्दी छुटमा लिएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई ठूलो रकम हानिनोक्सानी पुर्याएको पाएपछि अख्तियार मुद्दा चलाउने निष्कर्षमा पुगेको हो । भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर जुन प्रयोजनका लागि त्यसरी सुविधामा खरिद गरेको जग्गा भने बिक्री गर्न पाइँदैन। बहुदलीय व्यवस्थापछि प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो । यो विषयले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । कतिपयले पूर्वप्रधानमन्त्री नेपालमाथि मुद्दा लाग्नु ओली सरकारले प्रतिशोध साँधेको पनि भनिरहेका छन् । मुद्दा दर्ता भएसँगै नेपालको सांसद पदसमेत निलम्बन भएको छ ।
मास्टरी छाडेर टेलरिङ, जिरेलीलाई न्यू फेसन
दोलखा-जिरीकी भगवती खड्काले सियो-धागोसँग संगत गर्न थालेको १८ वर्ष भइसक्यो । उनलाई सियो-धागोले नै परिश्रमको स्वाद चखायो । उमेरले ४० पुगेकी खड्कालाई अहिले जीवन यस्तैगरी नै चलिरहोस् भन्ने लाग्छ । जे छ जति छ, उनी यसैमा खुसी छिन् । खड्काको टेलर पसलमा पुग्दा हँसिलो अनुहारमा उनी चोलो सिलाउँदै थिइन् । दुई सन्तानकी आमासमेत रहेकी उनको व्यवसाय गर्ने सपना बाल्यकालदेखि कै हो । उनका बाबुआमाले जिरी नगरपालिका सिउरानीमा खाद्यान्नसम्बन्धी व्यवसाय गर्थे । बिहान अनि बेलुका समय मिलाएर उनले बुवाआमालाई सघाउँथिन् । त्यही क्रमबाट नै उनमा व्यवसायी बन्ने भूत सवार भएको हो । यद्यपि उनले पढाइलाई भने निरन्तरता दिँदै गइन्। कक्षा १० सम्म पढाइ पूरा भएपछि खड्कालाई परिस्थितिले शिक्षिका बनायो । तर बच्चैदेखि व्यवसायमा घुलमिल भइसकेकी उनी जागिरमा रमाउन सकिनन् । एकदिन उनलाई लाग्यो जागिर मेरा लागि होइन, त्यसपछि मोडियो जीवनको यात्रा । घरमा बुवाआमासँग जिद्दी गरेर सिलाइकटाइ सिक्न खड्का काठमाडौं आइन् । त्यही सिलसिलामा काम सिक्दासिक्दै आफ्नै पसल खोल्ने निधो गरिन् र परिवारसँग केही रकम मागिन् । तर परिवारले उनलाई सहजै विश्वास भने गरेन । स्वभावले हक्की खड्काको आँटले काठमाडौंमा ७ महिनासम्म आफ्नै व्यवसाय सञ्चालन गरिन् । त्यसपछि उनी फेरि आफ्नै ठाउँ अर्थात जिरी फर्किएर सिलाइकटाइको व्यवसायलाई निरन्तरता दिइन् । पसल थालेको केही महिनाभित्रै खड्काको पसलमा ग्राहकको ओइरो लाग्न थाल्यो । नाफा बढ्दै गयो । उनले थप मेसिन किनिन्, केही सहायक कामदारसमेत राखिन् । जुनसुकै कपडा होस्, सफा सिउने, राम्रो फिटिङ मिलाउने उनको शैली ग्राहकहरूलाई मन पर्न थाल्यो । महिलाहरू विशेष रूपमा उनको सेवा मन पराउँथे, किनभने उनले महिलाहरूको रुचिअनुसार डिजाइन गर्न सक्छिन् । अहिले उनले आफ्नो घरखर्चमात्रै चलाउँदिनन्, अन्य महिलाहरूलाई पनि काम सिकाउँछिन् । व्यवसाय गरेको २ वर्षपछि खड्का विवाह बन्धनमा बाँधिइन् । केही समय उनी अन्यौलमा परिन् । तर केही समयपछि परिवार र श्रीमानको साथले उनले दोलखाको जिरी नगरपालिका- ५, जिरी बजारमा व्यवसाय सञ्चालन गरिन् । उनका श्रीमान नेपाली सेनामा जागिरे हुन् । आफ्नो पेशामा खारिएकी खड्का प्रशिक्षक पनि हुन् । नगरपालिकाले स्थानीय महिलालाई दिने सिलाइकटाइका तालिममा उनी प्रशिक्षकका रूपमा सिकाउन जान्छिन् । ‘म प्रशिक्षक पनि हुँ । नगरपालिकाबाट यहीसम्बन्धी काम यहाँका दिदी-बहिनीहरूलाई सिकाउन पर्यो भने म नै सिकाउँछु,’ उनले भनिन् । शिक्षण पेशा किन छाड्नुभयो भन्ने प्रश्नमा खड्का आफू रम्न नसकेको बताइन् । ‘शिक्षण पेशा पनि नराम्रो त होइन तर म रम्न सकिनँ । घरमा पसल थियो । त्यसैले सानैदेखि व्यवसायमै रुचि भयो । रम्न नसकेपछि मैले व्यवसाय नै रोजेकी हुँ,’ उनले सुनाइन् । उनी व्यवसाय गर्दा परिवार हेर्दै पनि गर्न सकिने बताउँछिन् । त्यही भएर पनि व्यवसाय उनको रोजाइमा परेको हो । कैलेकैले व्यवसाय सुस्ताएको बेला जागिर नै ठीक भन्ने पनि मनमा आउँछ तर त्यो मनसाय लामो समय उनमा रहँदैन । उनी बालबच्चा हेर्दै, व्यवसायमा रम्न अभ्यस्त भइसकेकी छिन् । खड्का अगिपछिभन्दा चाडपर्वको बेलामा बढी व्यापार हुने बताउँछिन् । ‘तीजदेखि दशैं तिहारसम्म नै सिलाइकटाइ व्यवसायको खास सिजन हो । त्यो बेला महिनामै ५० देखि ६० हजारसम्म आम्दानी हुन्छ । यहाँ जिरीमा लेडिज टेलर छैन । त्यसैले पनि मेरो व्यवसाय राम्रो चल्छ ’, उनले भनिन् । भूकम्पले नाफा घटायो छोराछोरीको पढाइलगायतका घरखर्चमा खड्काले श्रीमानलाई सघाइरहेकी छन् । अहिले सिजनमा मात्रै अलि बढी व्यापार गर्ने उनलाई २०७२ सालको भूकम्पअघि भने बाह्रै महिना भ्याइनभभ्याई हुन्थ्यो । ‘भूकम्पभन्दा अघि भने भ्याइनभ्याइ हुन्थ्यो । तर भूकम्पपछि बजारमा भाडा पनि महँगो भयो । घर भत्काएपछि धेरैजसोले पक्की घर बनाए । अनि त महँगो भइहाल्यो । अहिले त्यति नराम्रो त भन्न मिल्दैन तर पनि समय परिवर्तन हुँदै गर्दा अनलाइनको अर्डरले पनि अलि असर गरेको छ व्यापारमा,’उनले भनिन् । ‘अझ पहिला त यही बाटो भएर सगरमाथा चढ्न जाने पनि आउँथे नि, यो जिरी त जङ्कशन थियो । अहिले सडक बनेपछि व्यापारमा अलि फरक चाहिं परेको छ,’ उनले विगत सम्झिँदै वर्तमान भनिन् । यद्यपि अहिले खड्का आफ्नो पसलबाट राम्रो आम्दानी गरिरहेकी छिन् । छोराछोरीलाई राम्रो विद्यालयमा पढाइरहेकी छिन् । घरखर्च सहजै चल्दैछ, बचत पनि गर्दैछिन् । सबैभन्दा महत्वपूर्ण कुरा, उनी आत्मनिभर्र छिन्। खड्काले आफू प्रशिक्षक भएर जाने प्रत्येक तालिममा सबै दिदीबहिनीलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेकी हुन्छिन्, व्यवसाय गर्न आग्रह गर्छिन् । भगवतीको कथा केवल एउटा टेलरिङ पसलको कथा होइन, यो एउटा महिला उद्यमीको संघर्ष, सपना र सफलताको कथा पनि हो ।