
काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा नौ महिनाभन्दा बढी समयदेखि अड्किएका दुई अमेरिकी अन्तरिक्षयात्रीहरू मंगलबार पृथ्वीमा फर्किने भएका छन् ।
नासाले आइतबार उनीहरू मंगलबार साँझ पृथ्वीमा फर्किने पुष्टि गरेको हो ।
बुच विलमोर र सुनिता विलियम्सलाई अर्को अमेरिकी अन्तरिक्षयात्री र रुसी ’कोस्मोनट’ सँगै स्पेसएक्स क्रू ड्रागन यानमा राखेर पृथ्वीमा फर्काउन लागिएको हो । क्रू ड्रागन आइतबार बिहान आईएसएसमा पुगिसकेको छ ।
नासाले आइतबार साँझ जारी गरेको एक विज्ञप्तिमा फ्लोरिडाको तटमा यान उतारिने जनाएको छ । सुरुमा यो कार्यक्रम बुधबारका लागि तय गरिएको थियो ।
२०२४ को जुन ५ मा बुच विलमोर र सुनीता विलियम्स बोइङ स्टारलाइनरमार्फत आईएसए प्रस्थान गरेका थिए । उनीहरूको आठ दिन आईएसएसमा बिताउने योजना थियो, तर अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि अवस्था बदलियो ।
नासाले स्टारलाइनरलाई असुरक्षित घोषणा गर्यो र सेप्टेम्बरमा अन्तरिक्षयानलाई चालकविहीन पृथ्वीमा फिर्ता पठायो । यसले विलमोर र विलियम्सलाई घर फर्किने साधनबिना आईएसएमा छोड्यो ।
नासाले प्रत्यक्ष प्रसारण गर्ने
नासाले एक विज्ञप्तिमा विलमोर र विलियम्सको पृथ्वी फर्काइ कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ ।
नासा अन्तरिक्षयात्री निक हेग र रोसकोस्मोस ’कोस्मोनट’ अलेक्जान्दर गोर्बुनोभ पनि उनीहरूसँगै फर्किँदै छन् ।
यससँगै विलमोर र विलियम्सका लागि नौ महिनासम्मको कठिन यात्राको अन्त्य हुनेछ।
अन्तरिक्षयान बिग्रिँदा ८ दिने यात्रा ९ महिना लम्बियो, मस्कले फिर्ता ल्याउने