मिचाहा झारले ढाकिँदै विश्व रामसार सूचीमा रहेको घोडाघोडी ताल

  २०८१ वैशाख २४ गते ६:३९     विकासन्युज

कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै गएको छ ।

नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क्षेत्र) का रूपमा परिचित घोडाघोडीतालको उत्तर क्षेत्र र पूर्वी क्षेत्र बेसरम झारले ढाकेको हो ।

घोडाघोडी तालको सात दशमलव पाँच हेक्टर क्षेत्रफल मिचाह प्रजाति बेसरमले ढाकेको पक्षी संरक्षण संघका सकजकर्ता हिरुलाल डगौराले जानकारी दिए ।

यसैबीच, उक्त मिचाहा प्रजाति तालको केही भागमा हटाइएको छ । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय पहलमानपुरको वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर मिचाहा प्रजाति बेसरम झार हटाएको डिभिजन वनकार्यलय पहलमानपुरका डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताए ।

‘हाल तीन लाख बजेट विनियोजन गरी मिचाहा प्रजाति हटाएका छौं,’ अधिकृत ठाकुरले भने, ‘ताल ढाकिएको सम्पूर्ण क्षेत्रमा हटाउनका लागि बजेट अपुग छ ।’

उनका अनुसार यो सुरुआती चरण हो । हाललाई दुई दशमवलव पाँच हेक्टर क्षेत्रफलमा सफाइ गरिएको छ । आगामी दिनमा स्थानीय तह, सुरक्षा निकाय र संरक्षणमा सक्रिय संघसंस्थाहरूले मिचाह प्रजाति नियन्त्रण गर्ने लक्ष्य राखिएको छ ।

यसअघि मिचाह प्रजाति हटाउने कार्य सिमसार संरक्षण सदुपयोग आयोजना र चरा सरक्षण नेटवर्क कैलालीले गरेका थिए । पछि बजेट अभावका कारण नियमित गर्न नसकेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए ।

उनले भने, ‘बेसरम झार सफाइ गरिएन भने सो क्षेत्र घाँसेमैदानका रूपमा परिणत हुुन जान्छ । हामीले सफाइ सुरु गरेका थियौँ तर बजेटका कारण नियमित गर्न सकेनौं । सात वर्षपछि डिभिजन वन कार्यालय पहलमानपुरले सफाइ सुुरु गरेको छ । यो निकै राम्रो हो ।’

घोडाघोडी ताल सफाइका लागि सिमसार क्षेत्रमा आश्रित १७ जना स्थानीय खटाइएको थियो । घोडाघोडी तालसँगै यसका २३ वटा सहायक ताल पनि संकटमा पर्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.