श्रम स्वीकृति लिएर ६० लाख युवा विदेशमा, अधिकांशको रोजाइ जापान

  २०८१ जेठ १३ गते १८:५६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ५९ लाख ६९ हजार पुगेको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार संसदमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत रहेका छन् । सो समयमा नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजारमध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेको उनले बताएका हुन् ।

फागुनसम्म वैदेशिक रोजगारीका लागि ईपिएस प्रणालीमार्फत् १ लाख ४ हजार ६० जना नेपाली कामदार दक्षिण कोरिया गएका छन् । जसमध्ये पुरुष ९३.२ प्रतिशत र महिला ६.८ प्रतिशत रहेको उल्लेख छ ।

त्यस्तै, वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा जापान, युएई, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या समेत बढ्दो क्रममा रहेको छ ।

वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देशलाई खुला गरिएको छ भने वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १,५९९ म्यानपावर कम्पनीले इजाजतपत्र प्राप्त गरेका छन् ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र तिनका परिवारलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ । यस्तो कार्यक्रमबाट चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ६९४ कामदारका परिवारलाई क्षतिपूर्तिबापत ४३ करोड ५७ लाख उपलब्ध गराइएको छ ।

यस अवधिमा वैदेशिक रोजगारीको क्रममा शारीरिक रूपमा अङ्गभङ्ग तथा बिरामी भएका २८५ पुरुष र १४ महिला गरी २९९ कामदारले आर्थिक सहायताबापत ११ करोड ९४ लाख ९२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.