सरकारले भन्यो : सेयर बजारमा समस्या नै छ

  २०८१ जेठ १३ गते १८:४४     विकासन्युज

काठमाडौं । सरकारले सेयर बजारमा समस्या नै रहेको बताएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सेयर बजारमा समस्या सिर्जना भएर सुधार हुन नसकेकाे बताएका हुन् ।

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको प्राथमिक बजारमा २२.५१ प्रतिशतले पुँजी परिचालनमा कमी आएको उल्लेख छ ।अर्थमन्त्री पुनले आइतबार संसदमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आवको फागुनसम्म प्राथमिक बजार मार्फत ३३ अर्ब ८३ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.५१ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा ४३ अर्ब ६६ करोड रकम बराबरको पुँजी परिचालन भएको थियो ।

त्यस्तै, दोस्रो बजारमा भने पुँजी परिचालन ३९.७६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको दोस्रो बजारमा ४ खर्ब १५ अर्ब ७८ करोड रकम बराबरको धितोपत्र कारोबार भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा २९७ अर्ब ४९ करोड रकम बराबरको धितोपत्र कारोबार भएको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म १५० दिनको कारोबारमा औसत दैनिक कारोबार रकम २ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा औसत दैनिक कारोबार रकम १ अर्ब ९४ करोड रहेको थियो । साथै, चालु आर्थिक वर्षको फागुनसम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कारोबार भएका धितोपत्रको सङ्ख्या र कारोबार सङ्ख्यामा क्रमशः ५५.६ र ८९.१ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको फागुनसम्म साधारण सेयरको प्राथमिक निष्काशन मार्फत ९ अर्ब ८० करोड रुपैयाँ, हकप्रद सेयर निष्काशन मार्फत ५ अर्ब ४५ करोड रुपैयाँ, थप निष्काशन मार्फत ३ करोड रुपैयाँ, ऋणपत्र मार्फत १५ अर्ब ४ करोड रुपैयाँ र म्युचुअल फण्ड मार्फत ३ अर्ब ५० करोड रुपैयाँको पुँजी परिचालन भएको छ ।

यस अवधिमा बोर्डले १२ कोष व्यवस्थापकलाई प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटलको रूपमा कार्य गर्न अनुमति प्रदान गरेको छ । स्वीकृत कोष व्यवस्थापकमध्ये केही कोष व्यवस्थापकले विभिन्न स्किम मार्फत चालु आर्थिक वर्षको फागुनसम्म कुल २० अर्ब रुपैयाँको पुँजी परिचालन गरेका छन् ।

चालु आ.व को फागुनसम्म ३६ संगठित संस्थाले १४ अर्ब ९५ करोड रकम बराबरको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता गराएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ४६ संगठित संस्थाले २७ अर्ब ४८ करोड बराबरको बोनस सेयर दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.