चालु आर्थिक वर्षमा थप ३ लाख जनसंख्यामा सुरक्षित खानेपानी सेवा

  २०८१ जेठ १३ गते १८:५२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा थप ३ लाख २ हजार ७८ जनसंख्यामा सुरक्षित खानेपानी सेवा पुगेको छ । आइतबार अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० कार्यान्वयनबाट आधारभूत तथा सुरक्षित खानेपानीको पहुँचमा वृद्धि भएको  उल्लेख गरिएको छ ।
विसं २०८० फागुनसम्म आधारभूत खानेपानीको पहुँच ९६.७५ प्रतिशत जनसंख्या पुगेको सर्वेक्षणमा बताइएको छ । सर्वेक्षणअनुसार विभिन्न जिल्लामा सञ्चालनमा रहेका सहलगानी खानेपानी आयोजना, जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना र केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत १७ खानेपानी आयोजना सम्पन्न भएका छन् ।
चालु आवमा खानेपानी संस्थानअन्तर्गत हालसम्म १ लाख ४९ हजार ३ सय ८६ धारा जडान भएका छन् ।
‘खानेपानी संस्थानअन्तर्गत हालसम्म १ लाख ४९ हजार ३ सय ८६ धारा जडान भएक छन् । ११.७५ मेलम्चीको पानी वितरणका लागि पहिलो चरणमा बिछ्याइएका १ हजार १० किलोमिटर पाइपमध्ये ४ सय ८७ किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भई उपत्यकाका विभिन्न स्थानमा नयाँ पाइपलाइनबाट नियमितरूपमा पानी वितरण कार्य सुरु भएको,’ सर्वेक्षणमा उल्लेख गरिएको छ, ‘हालसम्म काठमाडौं उपत्यकाभित्र ३४ हजार धारा जडान कार्य सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत खानेपानी वितरणका लागि सात सय ९६ किलोमिटर पाइप बिछ्याउने लक्ष्य रहेकामा २०८० फागुनसम्म ६ सय ७० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ ।’
चालु आर्थिक वर्षको प्रथम आठ महिनामा कीर्तिपुर (६ हजार घनमिटर) र महांकालचौर (आठ हजार घनमिटर) को पानीपोखरी निर्माण सम्पन्न भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । यस अवधिसम्म करिब ८ लाख १८ हजार घरधुरीको निजी धाराको नक्सांकन सम्पन्न भएको छ ।
गत फागुनसम्म काठमाडौं उपत्यकाभित्र रहेका करिब २० पुराना ढुंगेधारा, सार्वजनिक इनार, कुवालगायत सामूहिक पानीका स्रोतको संरक्षण कार्य सम्पन्न भएको तथ्यांकमा उल्लेख गरिएको छ । हालसम्म काठमाडौं उपत्यकाभित्रका एक सय ९५ ढुंगेधारा तथा पोखरीको संरक्षण गरिएको छ । ३ करोड २४ लाख लिटर प्रतिदिन क्षमता भएको गुह्येश्वरी ढल प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.