‘हात नहाल्नुस्, म बैंक लुट्न आएको होइन’

  २०८० माघ ९ गते १९:३७      रामकृष्ण पौडेल

ब्लग ।

सुरुमा सँगैको तस्बिरको व्याख्या गरौं । माघ ७ गते आइतबार साँझपख खिचिएको फोटो हो यो । जहाँ एभरेष्ट र कुमारी बैंकका शाखा जोडिएका छन् । जहाँ दुवै बैंकका ‘नाइट भिजन’ साइन बोर्ड देख्न सकिन्छ । सँगै दुवै बैंकको एटीएम बोर्ड पनि देख्न सकिन्छ । एभरेष्ट बैंकको एटीएम खुला छ । कुमारी बैंकको एटीएममा सटर लागेको छ । सटरमा ताला पनि लगाइएको छ ।

तस्बिरमा तीन जना महिला फुटपाथमा हिँड्दै गरेको देखिन्छ । अनुमान गर्न सकिन्छ कि उनीहरू काम सकेर घर फर्कदैछन् । तर, यस सन्दर्भमा ती यात्रीहरू प्रधान पात्र होइनन् ।

साँझ बागबजारमै रहेको युनिटी क्याफेमा कफी पिएको थिएँ । पर्समा पैसा सकिएछ, त्यहाँ क्यूआरबाट भुक्तानी गरेँ । सबैतिर मोबाइलबाट भुक्तानी सम्भव हुँदैन । थोरै भएपनि पर्समा नगद बोक्नै पर्ने बाध्यता छ, राजधानीकै जीवनशैलीमा पनि ।

साविकको एनसीसी बैंक मुख्य कार्यालय (हाल कुमारी बैंकको बागबजार शाखा) मा खाता खोलेर कारोबार गर्न थालेको एक दशकभन्दा बढी समय भयो । यो बैंकमा लामो समय कारोबार गर्नुमा दुइटा कारण छन् । पहिलो, आफ्नो कार्यालय बागबजारमा खुल्दा एनसीसी बैंक मात्र थियो बागबजारमा । दोस्रो, पछि बागबजारमा अरू बैंकका शाखाहरू खुले पनि एनसीसी बैंकको मुख्य कार्यालय भएकोले सुविधा अलि सहज हुन्छ भन्ने लाग्यो । यसैमा निरन्तर कारोबार गरियो ।

एनसीसी र कुमारी मर्जपूर्व कुमारी बैंकको पुतलीसडक शाखामा पनि खाता खोलेको थिएँ । मर्जपछि पुतलीसडकको शाखामा खाता बन्द गरेँ । बागबजारमा कारोबार निरन्तर चल्यो । नियमित कारोबार गर्नेलाई बैंकका पुराना कर्मचारीले पनि चिन्ने । केही पर्यो भने पनि लौन भन्न पाइने ।

कुमारी बैंकको बागबजार शाखामा दुइटा एटीएम छन् । एउटा मुल सडकमा, अर्को काउन्टरमा । कहिलेकाहीँ एउटा एटीएमले काम नगर्दा अर्को एटीएमबाट कारोबार गर्न पाउने सुविधा यहाँ छ । कार्यालय समय अघिपछि वा शनिबार पनि यस बैंकको काउन्टरमा रहेको एटीएम प्रयोग गर्न पाइन्थ्यो, पछाडिपट्टिको सानो गेट प्रयोग गरेर ।

गत आइतबार साँझ मुल सडकको एटीएममा सटर लागिसकेको रहेछ । भित्रको एटीएम प्रयोग गर्न पछाडिपट्टिको सानो गेटबाट भित्र छिर्दै थिएँ । सुरक्षा गार्डले स्टाफ हो भनेर सोधे । मैले ‘होइन’ भनेँ ।

‘बैंक बन्द भयो, अब भित्र जान पाइँदैन,’ गार्डले भने ।

मैले एटीएम प्रयोग गर्ने बताएँ ।

गार्डले पाइन्न नै भने ।

मैले विगतमा पाइन्थ्यो, म नियमित आइरहने ग्राहक हुँ भनेर भित्र छिर्न दिन आग्रह गरेँ ।

दुई जना सुरक्षा गार्ड थिए । दुबैले पाइन्न नै भने । बैंकको काउन्टर बन्द भएसँगै एटीएम सेवा पनि बन्द गर्न र ग्राहकलाई भित्र छिर्न नदिने बैंकले निर्देशन दिएको उनीहरूले बताए ।

साँझ भइसक्यो, मलाई जरुरी परेर हो । थोरै पैसा निकाल्नुछ भनेर अलि बढी जोड दिएँ ।

गार्डले भित्र छिर्न दिएनन् । तालिम प्राप्त नभएका सुरक्षा गार्डले घर फर्कन भन्दै धकेल्ने खाेजे ।

‘हात नहाल्नुहोस्, म बैंक लुट्न आएको होइन । मेरो खाताबाट पैसा निकाल्न आएको हुँ । गेट बन्द थियो भने म फर्कन्थें । खुला भएकोले एटीएम सेवा लिन चाहेको हुँ,’ मैले आफ्ना कुरा भनेँ ।

यत्तिकैमा बैंक ड्रेसमा रहेका एक स्टाफ गेटमा आए । उनले पनि गार्डले भनेझैं काउन्टर बन्द भएपछि एटीएम सेवा बन्द हुने तर्क गरे । समस्या भएको भए सँगै भएको एभरेष्ट बैंकको एटीएम प्रयोग गर्न सुझाव दिए ।

लगत्तै, गार्डले गेटमा ताला लगाउन लागे । मैले फोटो खिच्न अनुमति मागेँ । उनीहरूले ‘हुन्छ’ पनि भने । गेट लगाउँदै गरेको तस्बिरहरू खिचेँ ।

एटीएम सेवाबारे ममा भएको चेतना र बैंकका सुरक्षाकर्मीहरुको क्रियाकलापबीच व्यापक बेमेल थियो । यो तस्बिरको विशेष महत्व हुने नै भयो ।

गेट लगाउँदै गर्दा सुरक्षाकर्मीले माथिको आदेश आएमा खोल्ने पनि बताउँदै थिए । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणा, प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल लगायत उच्च तहका धेरै व्यक्तिसँग मेरो चिनजान मात्र होइन, मित्रवत सम्बन्ध नै छ ।

‘सामान्य एटीएम सेवा लिनको लागि के सोर्सफोर्स लगाउनु ? भैगो’ खिन्न र भारी मन बोकेर म फर्कें । बाहिरिँदै गर्दा बैंकको त्यो ठूलो भवनमा एक नजर पर्यो । बैंक भित्र झलमल्ल बत्ति बलिरहेका थिए । भित्र कर्मचारीहरू काम गरिरहेको सहजै अनुमान गर्न सकिन्थ्यो । सोही शाखामा काम गर्ने सरिता केसीको याद आयो । भित्रै छन् कि भनेर फोन लगाएँ । उनी अफिसबाट निस्किसकेकी रहिछन् । उनले पनि अरू बैंकको एटीएम प्रयोग गर्न सुझाव दिइन् ।

सँगै रहेको एभरेष्ट बैंकको एटीएमबाट पैसा निकालेर म फर्कें । सडक पार गर्दै गर्दा खाता नै नभएको एभरेष्ट बैंकको एटीएम सेवाप्रति मनमा सद्भाव पलायो । तर, कुमारी बैंकप्रति असन्तोष मडारियो । सडक पार गरेपछि सँगै रहेका दुइटै बैंकको साझा फोटो खिचेँ ।

सोही दिन बिहान बैंकहरूले प्रकाशित गरेका वित्तीय विवरणहरू हेरेको थिएँ । २०७९ पुस मसान्तको तुलनामा २०८० पुस मसान्तमा एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशतले वृद्धि भएको विवरण प्रकाशित गरेको थियो भने कुमारी बैंकले नाफा १४.३१ प्रतिशतले घटेको विवरण सार्वजनिक गरेको थियो ।

राम्रो सेवा दिने बैंकको वित्तीय विवरण राम्रो हुने हो । नराम्रो सेवा दिने बैंकको वित्तीय विवरण खराब हुने हो । सिद्धान्त, व्यवहार र परिणामबीच गज्जबको तालमेल यही पाइन्छ । किताबका ठूला ठेली पढ्नै पर्दैन, ठूला अनुसन्धान पनि गर्नै पर्दैन ।

यो फोटो अर्थपूर्ण लाग्यो । बैंकका सीईओ रामचन्द्र खनाललाई ह्वाट्सएपमा पठाइदिएँ । तस्बिरसँगै एउटा शब्द पनि टाइप गरिनँ ।

‘जुङ्गा चल्यो कि कुरा बुझ्यो’, सायद खनालले कुरा बुझे हाेलान् । जवाफमा उनले भने, ‘हस्’ (Huss) ।

एउटा अनुभूति लेख्न मन लाग्यो । दुई दिनपछि समय जुर्‍याे । एटीएम सेवा कति बजेदेखि कति बजेसम्म दिने भन्ने बारे बैंकको नीति के रहेछ ? मंगलबार साँझ बैंकका सूचना अधिकारी तथा प्रमुख सञ्चालन अधिकृत मुकुन्द सुवेदीलाई सोधेँ ।

उनले भने– ‘राजधानीसहित देशभरका सहरी क्षेत्रमा २४सै घण्टा एटीएम सेवा खुला हुन्छ, सुरक्षाको दृष्टिकोणले उच्च जोखिम भएका पहाडी इलाकामा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मात्र एटीएम खुला राख्ने बैंकको नीति छ ।’

बागबजार शाखामा काउन्टर बन्द भएसँगै एटीएम सेवा बन्द गर्ने भन्ने बैंकको नीति नभएको उनले जानकारी गराए । तर, भनाइ र व्यवहारमा मेल खाएन । सुधार गरे बैंकलाई नै लाभ हुनेछ ।

One comment on "‘हात नहाल्नुस्, म बैंक लुट्न आएको होइन’"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.