पुरै गाउँको १५० बिगाहा जग्गा आफ्नो भएको प्रमाण मालपोतमा पेस गरेपछि…

  २०८१ वैशाख ३१ गते १४:२३     विकासन्युज

काठमाडौं । काठमाडौंका एक स्थानीयले कैलालीको धनगढी उपमहागरपालिको वडा नं. १८ को विभिन्न ठाउँमा रहेको जग्गा आफ्नो भएको भन्दै दाबी गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं. ३३ का प्रद्युम्न पाण्डेयको वारिसले कैलालीको धनगढी उपमहानगरपालिका ५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारेसले दिलिप सापकोटाले वडा नं. १८ को विभिन्न ठाउँमा रहेको जग्गा आफ्नो भन्दै प्रमाणसहित भूमिसुधार तथा मालपोत कार्यालय धनगढीमा निवेदन पेस गरेका छन् ।

स्व. गुरु पुरोहित पण्डित जनकराज पाण्डेयले वि.सं १९९३ मा लालमोहरबाट प्राप्त गरेको जग्गा वि.सं २०२१ मा नाप नक्सा हुँदा छुट्न गएकोले सो जग्गा आफ्नो नाममा दर्ता गरिदिन मालपोत कार्यालय धनगढीमा निवेदन दिएका हुन् ।

उनीहरूले धनगढी उपमहानगरपालिका वडा नं. १८ को सिट नं. ०२७/१०९६ को कित्ता नं. १, ८,९, ६२, ११९,१०, ११, १२, १६, १७, २१ र २२३ क्षेत्रफल क्रमशः २१२६६०.५७, १०२९७६.९६, ४९९१४२.१५, ३७०७७९.९८, २०९९५.०६, ३३८६.३०, ५८२२७.२७, २८६१४.४८, १२८६७.९४, ३३०३३३.५६ छुट जग्गा दर्ता अन्तर्गत निवेदकका नाउँमा दर्ता गरी पाउँ भनी मालपोत कार्यालयमा निवेदन पेस गरेका छन् ।

मालपोत कार्यालयले पनि प्लट रजिष्टर, फिल्डबुक, स्थानीय तहको सिफारिस समेत संलग्न राखी निवेदन दिएकोले निवेदकको माग अनुसारका कित्ता जग्गाहरू दर्ता गरी दिँदा साध संधियारको जग्गालाई असर पर्ने भए वा गर्नु नपर्ने भए आफूसँग भएको प्रमाणसहित ३५ दिन भित्र हकदाबी गर्न आव्हान गरेको छ ।

उनीहरूले आफ्नो हो भनेर निवेदन पेस गरेको जग्गामा अहिले डेढ सय बढी घर छन् । स्थानीयका अनुसार उनीहरूले डेढ बिगाहा बढी जग्गा आफन्नो भएको दाबी गरेका छन् । दाबी गरेको जग्गामा बसोबास गरिरहेका स्थानीयहरूसँग पनि लालपुर्जा भएको बुझिएको छ । ८८ वर्षपछि सो जग्गा आफ्नो हो भन्दै दाबी गरेपछि अहिले धनगढी उपमहानगरपालिकाको वडा नं. १८ सशंकित बनेको छ ।

स्थानीयहरूले आफूहरू लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा समेत हुँदा अर्कैले हक दाबी गर्दा त्रासको वातावरण सिर्जना भएको बताएका छन् । एक स्थानीयले आफूहरूसँग जग्गाको लालपुर्जा भएको कुनै हालतमा जग्गा नछोड्ने बताए ।

मालपोत कार्यलयबाट बैशाख पहिलो साता नै सूचना सार्वजनिक हुँदा पनि वडा कार्यालयले त्यसको जानकारी आफूहरूलाई नगराको बताउँदै वडा कार्यालयको जिम्मेवारी र भूमिकामाथि पनि प्रश्न गर्नु पर्ने अवस्था सिर्जना भएको ती स्थानीयले बताए । विभिन्न समयमा नापी भएर लालपुर्जा पाइसकेको अवस्थामा अहिले अर्कै व्यक्ति आएर दाबी गर्न नमिल्ने उनी बताउँछन् ।

धनगढी उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष भुवन रिजालले यो घटनाले स्थानीयमा असुरक्षित र भयको वातावरण सिर्जना गरेको बताएका छन् । उनले अब सबै पक्ष बसेर समस्याको समाधान गर्ने पनि बताएका छन् ।

भूमिसुधार तथा मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले यस विषयलाई लिएर स्थानीयले त्रसित हुनु पर्ने अवस्था नरहेको धारणा राखे । उनले आफूहरूले पनि अनौपचारिकरूपमा अधिकांश जग्गाको लालपुर्जा भएको जानकारी पाएको बताए ।

फूलबारी क्षेत्र ।

‘हामीलाई जग्गा नाममा गरिपाउँ भनेर आएको जग्गाकै लालपुर्जा अर्को व्यक्तिको नाममा छ भन्ने जानकारी आएको छ, धेरैले दाबी पनि गरिरहेका छन्, लालपुर्जा नै छ भने फरक पर्दैन, त्यसको पनि प्रक्रिया हुन्छ, लालपुर्जा पाउनुभन्दा पहिले धेरै प्रक्रिया हुन्छ, जोसँग लालपुर्जा छ, उहाँहरूले डराउनु पर्दैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.