निजी क्षेत्रको अनुसार सबैमा कर छुट दिन सकिँदैन : अर्थमन्त्री पुन

  २०८१ जेठ २ गते १८:३०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबै क्षेत्रमा कर छुट दिन नसकिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सम्पन्न आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले राजस्व संकलन गरेर विकास निर्माणका कार्य गर्नुपर्ने बताउँदै उनले भने, ‘सबै क्षेत्रमा कर छुट दिन सकिँदैन, राजस्व संकलन नगरी विकास निर्माण हुँदैन, त्यसैले बजेटमा खुरुखुरु कर तिर भन्ने व्यवस्था कहाँनेर गर्ने हो ? निजी क्षेत्रले स्पस्ट भनिदिनु पर्यो ।’

सरकारको मनोबल उच्च रहेकाले नीजि क्षेत्रले पनि मनोबल बढाएर लगानी गर्न उनले आग्रह गरे । बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएका र नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने उनको दाबी छ ।

‘बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच निरन्तर छलफल भइरहेको छ, राष्ट्र बैंकका तर्फबाट बजेटमा समेट्नुपर्ने विषयमा लिखित सुझाव प्राप्त भएको छ, मौद्रिक नीतिलाई सपोर्ट पुग्ने गरी वित्त नीती आउँछ,’ उनले भने, ‘बजेटलाई समर्थन गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ, बजेट र नीति कार्यक्रममा तादात्म्यता मिलाउन दुई निकायबीच सघन छलफल भइरहेको छ, एकातिर बजेटको आकार बढाउनपर्छ र अर्काेतिर बजेटको आकार बढाउँदा हाहाकार हुन्छ भन्ने सुझाव आएका छन्, तर सबै सुझावलाई मनन गरी सन्तुलित बजेट आउँछ ।’

नयाँ शीर्षक सिर्जना गरेर निर्माण व्यवसायी लगायत अन्य क्षेत्रको भुक्तानी सरकारले दिइरहेको उनको भनाइ छ । ६० प्रतिशत जनसंख्या कृषिमा आधारित भएकाले सरकारले प्राथमिकता राखेर बजेट ल्याउने उनले बताए । तर, परम्परागत नभई व्यावसायिक कृषि प्रणाली अबलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

‘आफू मन्त्रीको जिम्मेवारीमा आएपछि निर्माण व्यवसायीको भुक्तानी दिने प्रक्रिया थालिएको हो, तर गत आर्थिक वर्षभन्दा पहिल्यै ठेक्का लागेका छन्, चालु आर्थिक वर्षको कार्यक्रममा नसमेटिएका आयोजनाका कानुनी जटिलताका कारण भुक्तानी दिन नसकिएको हो, यद्यपि राज्य निरन्तरतामा चल्ने संस्था भएकाले यसअघि जसले सिर्जना गरेको दायित्व भए पनि त्यसबाट पछि हट्ने छुट हुँदैन, यसअघि नै काम सकिएका तर सम्बन्धित मन्त्रालयले चालु आर्थिक वर्षको कार्यक्रममा नसमेटेका निर्माण आयोजनाको बजेटमै व्यवस्था गरेर भुक्तानी दिइनेछ,’ उनले भने ।

अर्थतन्त्र शिथिल भए पनि केही क्षेत्रको व्यवसाय फस्टाएकाले मनोबल बढाएर काम गर्न निजीलाई अर्थमन्त्रीले आग्रह गरे । बैंकमा थुप्रिएको पैसा बजारमा परिचालन गर्न र मौद्रिक नीति ल्याउन राष्ट्र बैंकसँग छलफल भइरहेको उनले बताए ।

‘तपाईंहरू कोही पनि निरुत्साहित नहुनुस्, बरु सरकारलाई सकारात्मक दबाब र प्रेरित गर्ने काम गर्नुस्,’ अर्थमन्त्री पुनले भने, ‘लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ, यो कुरा बजेटमार्फत देख्नुहुनेछ, यथार्थ धरातलमा टेकेर राम्रो बजेट ल्याउने कोसिस हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.