सेबोनले बजेटपछि मात्रै अध्यक्ष पाउने, संयोजक भन्छन्: काबुभन्दा बाहिर गयो

  २०८१ जेठ २ गते १३:२१     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटपछि मात्रै अध्यक्ष पाउने देखिएको छ । राष्ट्रिय योजना आयोगका अध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अहिले बजेटमा व्यस्त हुनु पर्ने भएकोले सेबोनको अध्यक्ष बजेटपछि मात्रै नियुक्त हुने धारणा राखेका हुन् ।

सेबोन अध्यक्ष छनोट समितिका संयोजक समेत रहेका उनले विभिन्न कारणले अध्यक्षको नियुक्ति ढिलाई भएको धारणा राखे । उनले यो विषय आफ्नो काबुभन्दा बाहिर रहेको धारणा राख्दै अन्य व्यक्तिको कारणले नै रोकिएको स्पष्ट पारे ।

‘सेवोनको अध्यक्ष मेरो कारणले ढिलाइ भएको होइन, मैले जिम्मेवारी लिएर ढिलाइ भएको यो पहिलो पटक हो, बजेट आउनासाथ याे काममा लाग्छौं,’ उनले भने ।

यस्तै, उनले अर्थमन्त्री, अर्थसचिव परिवर्तन हुँदा पनि यो विषय रोकिएको धारणा राखेका छन् । उनले अहिले सबै बजेट निर्माणमा लाग्दा सेबोनको अध्यक्ष नियुक्तिको विषयले प्राथमिकता नपाएको बताए ।

‘अहिले अर्थसचिव बजेटमा लाग्नु भएको छ, सर्ट लिष्टमा परेका पाँच जनाको प्रस्तुति सुन्नका लागि समय दिनुपर्ने हुन्छ, समिति गठन भएपछि पनि म कहाँ ढिला मात्रै पत्र आइपुग्दा पनि समय लाग्यो, यो बिचमा सचिव पनि बाहिर जानु भयो, त्यसपछि मैले पनि बाहिर जानु पर्यो,’ उनले भने, ‘मेरो काबुभन्दा बाहिरको कारणले ढिलाइ भएको हो, धेरै रोकिनु पर्ने अवस्था होइन ।’

बोर्डको अध्यक्षका लागि चिरञ्जिवी चापागाईं, कृष्ण बहादुर कार्की ,बोर्डका कार्यकारी दुई जना निर्देशक डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम सर्टलिष्टमा परेको छ ।

आयोगका उपाध्यक्ष डा. श्रेष्ठले १६औं आवधिक योाजनाको विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले सो पत्रकार सम्मेलनमा आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको पनि बताएका छन् ।

‘यो योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम नै समस्यालाई गहिराइमा पुगेर गरिएको अध्ययन हो, अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरिएको छ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.