विश्व बजारमा हङ्गामा मच्चाउँदै चीनका तीन उत्पादन

  २०८१ जेठ ३ गते ८:४५     विकासन्युज

काठमाडौं । चीनले आफ्नो नयाँ ऊर्जा उत्पादनका सम्बन्धमा अमेरिका र युरोपेली संघको आरोपप्रति कडा विरोध गरेको छ ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पहिलो पटक अप्रिलको सुरुमा आफ्नो चीन भ्रमणका क्रममा चिनियाँ अधिकारीसँगको वार्तामा विश्व बजारमा सस्तो चिनियाँ उत्पादनको मात्रामा अत्याधकि वृद्धि भएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् ।

मे महिनामा राष्ट्रपति सी जिनपिङ फ्रान्सको भ्रमणमा रहेका बेला युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले पनि उनीसँग यो मुद्दा उठाएकी थिइन् । लेनले चिनियाँ सरकारको सहयोगमा सिर्जना भएको यो वृद्धि उत्पादन क्षमताले चीन र युरोपेली संघबीचको सम्बन्धलाई चुनौती दिएको भनेकी थिइन् ।

पेरिसमा राष्ट्रपति इमानुएल म्याक्रोनको उपस्थितिमा भएको त्रिपक्षीय बैठकमा उर्सुला लेनले यो मुद्दा उठाएकी थिइन् ।

अमेरिका र युरोपेली संघका नेताहरू विद्युतीय सवारीसाधन (इभी) लिथियम–आयन ब्याट्री र सौर्य उत्पादनहरूबारे बढी सशंकित छन् ।

चिनियाँ मिडिया यी तीन उत्पादनलाई लिएर धेरै उत्साहित देखिन्छन् र तिनीहरूलाई ‘न्यू थ्री’ (चिनियाँमा जिन सान याङ) भन्छन् ।

के चीनले यी तीनवटा नयाँ ऊर्जा उत्पादनहरू बढी उत्पादन गरिरहेको छ ? र, यदि यो वास्तवमै हो भने के यो अमेरिका र ईयूको दाबी जस्तै सरकारी अनुदान र औद्योगिक नीतिहरूको परिणाम हो ? के यी तीनवटा नयाँ उत्पादनहरूले नयाँ विश्वव्यापी व्यापार युद्ध सुरु गर्ने छन् ?

यी ‘न्यू थ्री’ के हुन् ?

चीनको वाणिज्य मन्त्रालयले फेब्रुअरी २०२३ मा पत्रकार सम्मेलनमा पहिलो पटक यो ‘न्यु थ्री’ उल्लेख गरेको थियो । यस पत्रकार सम्मेलनमा एक अधिकारीले चीनको प्रशंसा गर्दै गत वर्ष वैदेशिक व्यापारको हिसाबले निकै कठिन हुँदा पनि ५.५ ट्रिलियन डलरको आयात निर्यात भएको बताएका थिए ।

यो पत्रकार सम्मेलनको केही साताअघि मात्रै चीनले अचानक आफ्नो शून्य कोभिड नीति अन्त्य गरेको घोषणा गरेको थियो । यो शून्य कोभिड नीतिका कारण चीनको सामान्य आर्थिक गतिविधि झण्डै दुई वर्षसम्म ठप्प भयो ।

‘यू थ्री’ (विद्युतीय सवारी, फोटोभोल्टिक्स र लिथियम ब्याट्री) को प्रशंसा गर्दै चिनियाँ वाणिज्य मन्त्रालयले चीनको उच्चस्तरीय प्रविधि र गुणस्तरीय उत्पादनलाई विकासको नयाँ क्षेत्रको रूपमा वर्णन गरेको छ । मन्त्रालयका अनुसार यी ‘न्यू थ्री’ ले चीनलाई वातावरणसँग सद्भाव कायम राख्ने दिशा पनि दिनेछ ।

आधिकारिक तथ्यांकअनुसार यी तीन नयाँ उत्पादनको निर्यातमा विस्फोटक वृद्धि देखिएको छ । ब्याट्रीबाट चल्ने सवारी साधनको निर्यात १३१.८ प्रतिशतले बढेको छ भने फोटोभोल्टिकको निर्यात ६७.८ प्रतिशतले र लिथियम ब्याट्रीको निर्यात ८६.७ प्रतिशतले बढेको छ ।

राष्ट्रपति सी जिनपिङ नोभेम्बर २०२३ मा सान फ्रान्सिस्को भ्रमणमा थिए, जहाँ उनले पहिलो पटक यो यी तिन उत्पादनको उल्लेख गरेका थिए । यस ‘एपेक सीईओ समिट’मा सी जिनपिङका साथसाथै धेरै अन्तर्राष्ट्रियस्तरका राजनीतिक तथा व्यापारिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । यस सम्मेलनमा सी जिनपिङले चीनको ‘न्यू थ्री’ लाई हरित बजारको रूपमा व्याख्या गरे जसले ठूलो अवसरहरू सिर्जना गर्नेछ ।

विद्युतीय सवारीसाधनहरू

विद्युतीय सवारीसाधनलाई चीनको ‘नयाँ स्रोत’को रूपमा हेरिएको छ । एक्काइसौं शताब्दीको पहिलो दुई दशकमा घरजग्गा क्षेत्रलाई यही दृष्टिकोणबाट हेरिएको थियो ।

विद्युतीय उद्योग विकासको अवधारणा पहिलो पटक सरकारी नीति २००९ मा अवलम्बन गरिएको थियो । सन् २०१२ मा यस क्षेत्रलाई रणनीतिक रूपमा उदीयमान क्षेत्रको रूपमा पहिचान गरिएको थियो ।

त्यसपछिका वर्षहरूमा यस क्षेत्रले अनुसन्धान र विकास, अनुदान, कर सहायता, प्रोत्साहन र पूर्वाधार विकासको लागि कोषको रूपमा सरकारी समर्थन प्राप्त गर्दै आएको छ । सन् २०१२ मा एक सरकारी कागजातले आगामी १० वर्ष वैश्विक अटोमोबाइल उद्योगमा परिवर्तनका लागि रणनीतिक रूपमा महत्वपूर्ण भएको बताएको थियो ।

उक्त दस्तावेजमा चीनलाई अटोमोबाइल उद्योगमा शक्तिशाली देश बनाउन नयाँ ऊर्जामा चल्ने सवारी साधनको विकास गर्न अपिल गरिएको थियो । सरकारको १० वर्षे विकास योजनाको परिणाम चीनमा ठूलो मात्रामा विद्युतीय सवारी उत्पादन हुन थाल्यो ।

सन् २०२३ मा ऐतिहासिक रूपमा पहिलो पटक चीनले विश्व अटोमोबाइल निर्यात बजारमा जापानलाई उछिन्यो । चीनको कुल निर्यातको करिब एक चौथाइ विद्युतीय सवारी साधनले ओगटेको छ ।

एक वर्षअघिको तुलनामा यो ७७.६ प्रतिशतले बढेर २०२३ मा ४.९१ मिलियन सवारीसाधन पुगेको छ । तर, सरकारी सहयोगका कारण यो उद्योगमा भीड बढेको छ । यसले पनि व्यापार प्रतिस्पर्धा बढेको छ ।

सन् २०१८ मा चीनमा यस क्षेत्रमा करिब ५ सय कम्पनीले काम गर्दै आए पनि पाँच वर्षमा ४० कम्पनी मात्रै यस क्षेत्रमा बाँकी रहेका छन् । यसको कारण गलाकट (कटथ्राे) प्रतिस्पर्धा थियो ।

यही प्रतिस्पर्धाका कारण चीनले मूल्य युद्धको सामना गर्नुपरेको थियो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले मार्चमा एउटा रिपोर्टमा घरेलु बजारमा मागको कमी र अत्यधिक आपूर्तिका कारण यस्तो भएको बताएको थियो । यी दुई कारणले गर्दा चिनियाँ कम्पनीहरूले अन्य देशतर्फ हेर्न थाले । यो नयाँ विकासले चीन बाहिरका परम्परागत कार बजारहरूमा सकारात्मक प्रतिक्रिया पाएन ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले यो ‘अमेरिकी कार निर्माण कम्पनीहरूका लागि विनाशको चेतावनी’ भएको बताएको छ।

लिथियम ब्याट्री

विद्युतीय सवारीसाधनको अत्याधिक उत्पादन लिथियम ब्याट्रीसँग प्रत्यक्ष सम्बन्धित छ । यदि एक चीज धेरै तयार भइरहेको छ भने अर्को चीजमा पनि त्यस्तै हुन्छ । लिथियम ब्याट्री विद्युतीय सवारीसाधनको एक महत्वपूर्ण भाग हो ।

सन् २०१७ र २०२३ को बीचमा चीनमा लिथियम ब्याट्री उत्पादन १११ बाट ९४० गिगावाट घण्टा (जीडब्ल्यूएच) लगभग नौ गुणा बढ्यो । ब्याट्री उत्पादनमा प्रयोग हुने प्रमुख तत्व लिथियम आइरन फास्फेट (एलएफपी) को उत्पादन क्षमता २०२० मा ३६२,००० टनबाट बढेर दुई वर्षमा १.६५ मिलियन टन पुगेको छ ।

स्वदेशी लिथियम उत्पादन दोब्बर हुनु र विश्व बजारमा चिनियाँ कच्चा पदार्थको मागमा वृद्धि, यी दुवै घटना एकै समयमा भए । चिनियाँ संसदका अधिकारी चेन शिउहुआ देशको कोबाल्ट खानी कम्पनीका प्रमुख पनि हुन् । उनले मार्चमा देशले आवश्यकताभन्दा बढी लिथियम ब्याट्री उत्पादन गरिरहेको बताएका थिए ।

उनले सन् २०२५ सम्ममा चीनको एलएफपी उत्पादन क्षमता ५.७५ मिलियन टन पुग्ने र विश्वको कुल माग २६ करोड ७० लाख टन मात्रै रहेको बताए । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार लिथियम ब्याट्रीको बढ्दो आपूर्तिका कारण सन् २०२३ मा ब्याट्री सेलको मूल्यमा ५० प्रतिशतले कमी आएको थियो । यसले ईभी बजारमा मूल्य युद्ध जस्तो अवस्था सिर्जना गर्यो ।

फोटोभोल्टिक्स

फोटोभोल्टिक्सलाई सामान्य भाषामा सोलार प्यानल भन्न सकिन्छ । फोटोभोल्टिक्स प्रयोग गरेर सूर्यको किरणबाट अर्धचालक सामग्रीहरूमार्फत बिजुली उत्पादन गरिन्छ ।

फोटोभोल्टिक्स अर्थात् सौर्य प्यानललाई लिएर चीन र पश्चिमी देशहरूबीचको द्वन्द्व कुनै नौलो कुरा होइन । अमेरिका र ईयूले पनि सन् २०१२–२०१३ मा चिनियाँ सौर्य प्यानलहरूमा एन्टी–डम्पिङ ट्यारिफ लगाएका थिए ।

विदेशमा लगाइएका ट्यारिफहरू सामना गर्न चीन घरेलु बजारमा फर्क्यो र सब्सिडीको सहयोगमा राम्रो आपूर्ति श्रृंखला निर्माण गर्यो । सन् २०२१ सम्ममा विश्व बजारमा चीनको हिस्सा निकै बढेको थियो ।

विश्व बजारमा पोलिसिलिकन, वेफर्स, सोलार सेल र फोटोभोल्टिकको क्षेत्रमा चीनको हिस्सा बढेर ७० प्रतिशत पुगेको छ । तर, यी सबैको उत्पादन लागत भारतको तुलनामा १० प्रतिशत, अमेरिकाभन्दा २० प्रतिशत र युरोपभन्दा ३५ प्रतिशत कम थियो ।

फोटोभोल्टिक उद्योगका विज्ञ जिन जिनका अनुसार यस व्यवसायमा केही सामानको उत्पादनमा चीनको हिस्सा ९०–९५ प्रतिशत छ । जिनले यो पनि भने कि चीनमा फोटोभोल्टिक उत्पादन गर्ने क्षमता १००० गिगावाट पुग्ने छ। यसको तुलनामा बाँकी विश्वमा यो क्षमता अझै ४००–५०० गिगावाट मात्र पुगेको छ ।

क्षमता बढी हुनुको कारण के हो ?

चीनको मिडियाले त्यहाँ आवश्यकताभन्दा बढी फोटोभोल्टिक प्रविधि उत्पादन भइरहेको कुरालाई अस्वीकार गर्दै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले मे ३ र ५ को बीचमा यस विषयमा तीनवटा लेख लेखेको थियो। यी लेखहरूमा मानिसहरूलाई यो सम्पूर्ण विवादलाई वस्तुनिष्ठ रूपमा हेर्न अनुरोध गरिएको थियो ।

भोन डेर लेनले मे ७ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको पेरिस भ्रमणको बारेमा चिन्ता व्यक्त गरेका थिए । यस सम्बन्धमा सीले चीनको नयाँ ऊर्जा उद्योग खुला प्रतिस्पर्धा र उन्नत उत्पादन क्षमतामा आधारित रहेको बताएका थिए । जसले विश्वव्यापी आपूर्तिमा वृद्धि गरेको छ र विश्वमा मुद्रास्फीतिको दबाब घटेको छ । साथै, यसले जलवायु परिवर्तनसँग जुध्न पनि सहयोग गरेको उनको भनाइ थियो ।

चीनको इन्कारको बावजुद यसका तीनवटै उत्पादनहरू लगभग एउटै बाटोमा हिँडेको देखिन्छ । यी देशका लागि रणनीतिक महत्वका उद्योग बन्दै गएका छन्, जसलाई सरकारले अनुदान दिएर सस्तोमा राखेको छ ।

यसलाई चीनको केन्द्रीय योजनाबद्ध आर्थिक प्रणाली र देशको शक्तिशाली उत्पादन क्षेत्रले ठूलो सहयोग गरेको छ । सीको महत्वाकांक्षा पुराना तीनवटा अर्थात् कपडा, घरायसी उत्पादन र फर्निचरलाई छाडेर उच्च प्रविधियुक्त नयाँ तीन उद्योगमा लैजाने हो । यो लक्ष्य मेड इन चाइना २०२५ नामक ठूलो रणनीतिलाई दिइएको छ ।

कोभिडपछि सुस्त आर्थिक वृद्धिका कारण आन्तरिक माग पनि कमजोर रहेको छ । मार्चमा चीनको उपभोक्ता मूल्य सूचकांक ०.१ प्रतिशतले बढेको छ । विदेशमा निर्यातको तथ्यांकका कारण चीनको जीडीपी वृद्धिदर ५ प्रतिशत पुगेको छ ।

चीनको रियल इस्टेटमा आएको संकटले अवस्थालाई झनै नराम्रो बनाएको छ । कुनै समय कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको हिस्सा २५ प्रतिशत थियो । घरजग्गाको मन्दीले स्टिलको मूल्य घटेको छ र यसको निर्यात बढेको छ ।

के विश्वव्यापी व्यापार युद्ध हुनेछ ?

अमेरिकाले कारबाहीअघि नै मेक्सिकोले चीनबाट आउने स्टिलमा कर लगाएको थियो । चिलीले पनि चिनियाँ स्टिलको सम्बन्धमा यस्तै कदम चालेको थियो ।

यसबाहेक ब्राजिल, भियतनाम, भारत, बेलायत, फिलिपिन्स र टर्कीले पनि चिनियाँ स्टिल निकासीमा अनुसन्धान थालेका छन् । अमेरिकी चुनावअघि दुवै उम्मेदवारले चीनसँगको व्यापारिक मतभेदलाई लिएर कडा बयान दिइरहेका छन् ।

मार्चमा डोनाल्ड ट्रम्पले मेक्सिकोमा बन्ने चिनियाँ कारमा शतप्रतिशत कर लगाउने बताएका थिए । राष्ट्रपति जो बाइडेडेनले विद्युतीय सवारीसाधन, सोलार प्यानल र सेमीकन्डक्टरमा पनि शुल्क लगाउने कुरा गरिसकेका छन् ।

युरोपमा पनि चीनबाट ल्याइएका विद्युतीय सवारी साधन, मेडिकल उपकरण, विन्ड टर्बाइन र सोलार प्यानलको अनुसन्धान सुरु भएको छ । भारत र चीनका लागि भविष्यले चुनौती खडा गर्न सक्छ । भारतले सन् २०२२ मा चिनियाँ सोलार प्यानलमा पनि कर लगाएको थियो र २०२३ मा ४० चिनियाँ कम्पनीमाथि अनुसन्धान थालेको थियो ।

विश्वमा बढ्दो राजनीतिक प्रतिस्पर्धाका कारण विश्व व्यापारमा पनि द्वन्द्व बढ्ने अनुमान गरिएको छ । बीबीसीबाट अनुवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.