भारतमा बन्ने ८ धावनमार्गको एसियाकै ठूलो नोएडा अन्तर्राष्ट्रिय विमानस्थल कहिले तयार हुन्छ ?

  २०८० पुष १ गते १४:०५     विकासन्युज

एजेन्सी । भारतको उत्तर प्रदेशमा निर्माण भइरहेको एसियाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल (जेआईए) करिब डेढ महिनापछि अर्थात फेब्रुअरीमा सञ्चालनमा आउने भएको छ ।

जेवर इन्टरनेशनल एयरपोर्ट (जेआईए) वा नोएडा इन्टरनेशनल एयरपोर्ट भनिने यो विमानस्थल निर्माण र सञ्चालनको जिम्मा स्वीटजरल्याण्डको जुरिच इन्टरनेशनल एयरपोर्ट एजीले पाएको छ । जुरिचले ४० वर्षसम्म यो विमानस्थल सञ्चालन गर्न पाउने ठेक्का पाएको छ ।

जुरिचका अनुसार २०२४ बाट दुईवाटा धावनमार्ग (रनवे) सञ्चालनमा ल्याइने छ भने भविष्यमा थप २ हजार ९ सय हेक्टर क्षेत्रफल ओगटेर धावनमार्ग संख्या ८ पुर्‍याइने छ । विमानस्थल सञ्चालनमा आएपछि यसले वार्षिक १ करोड २० लाख यात्रु व्यवस्थापन गर्ने छ ।

आगामी ३० वर्षभित्र विमानस्थल विस्तार गर्दै लगेर ८ धावनमार्ग बनेपछि यसले वार्षिक ६ करोडदेखि १२ करोडसम्म यात्रु व्यवस्थापन गर्ने जुरिचले जनाएको छ ।

संयुक्त समन्वय समिति (जेसीसी) को पाँचौं बैठकमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थल (जेआईए) को काम तीव्र गतिमा भइरहेको आश्वासन दिइएको थियो ।

अहिले विमानस्थल निर्माण कार्य तीव्र गतिमा चलिरहेको छ । विमानस्थल समयमै तयार हुने अपेक्षा गरिएको छ । अर्को वर्षदेखि यहाँ विमानहरू उडान सुरु हुनेछन्।

विमानले फेब्रुअरी २०२४ बाट अभ्यासका रूपमा उडान सुरु गर्ने विमानस्थल निर्माणसँग सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

उत्तर प्रदेशका प्रमुख सचिव दुर्गाशंकर मिश्राले शुक्रबार नोएडा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कार्यको निरीक्षण गरेका थिए । त्यसपछि संयुक्त समन्वय समितिको पाँचौं बैठक बस्यो ।

बैठकमा केन्द्रीय निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । बैठकमा मिश्रले विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने अपेक्षा गरिएको बताए । ‘यो महत्वपूर्ण आयोजना समयमै सम्पन्न गर्न सरकार गम्भीर छ,’ उनले भने ।

यो बैठकमा विमानस्थल निर्माणसँग सम्बन्धित अधिकारीहरूले प्रगति प्रतिवेदन पेस गरेका थिए । जुरिच इन्टरनेशनल एयरपोर्ट एजी र यमुना इन्टरनेशनल एयरपोर्ट प्राइभेट लिमिटेडका अधिकारीका अनुसार निर्माण कार्यमा प्रयोग हुने मेसिनरी र आयोजनामा ​​काम गर्ने मजदुर पनि बढाइएको छ । यसबाट समयमै निर्माण कार्य सम्पन्न हुने अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.