डिजिटल बैंकिङमा सिटिजन्स बैंकको छलाङ, दैनिक ५० करोड बढीको कारोबार

  २०८० असोज २३ गते १५:४६     विकासन्युज

काठमाडौं । पहिला बैंकको खाता खोल्नका लागि बैंकको शाखा कार्यालय धाउनु पर्ने थियो भने फाइलहरु ढड्डामा राख्ने प्रणाली थियो । बैंकिङ्ग अभ्यास क्रमिक विकास हुँदै चेकबाट हुने कारोबार पछिल्लो समय डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डबाट हुने कारोबारलाई सर्वसाधारणमा पुर्याउन सिटिजन्स बैंकले विशेष जोड दिँदै आएको छ ।

बैंकका ट्रान्जिक्सनल बैंकिङ हेड सुयेश कुमार पौडेलका अनुसार सिटिजन्स बैंकको ८० प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको छ । शाखा कार्यालयमा आएर लाइन लाग्ने ग्राहकहरुको संख्या घट्दै गएको उनको भनाइ छ ।

‘बैंकको कारोबारलाई शतप्रतिशत डिजिटल बनाउने योजना छ, हाल ८० प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको छ, कार्यालयमा आएर लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको छ, डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’ उनले भने ।

उनका अनुसार बैंकिङ क्षेत्र डिजिटलमय बन्दै गर्दा ठगीका घटनाहरु पनि बढेका छन् । तर, सिटिजन्स बैंकले डिजिटल ठगी न्यूनीकरणलाई चुस्तदूरुस्त पारेको उनको भनाइ छ । बैंकले आइटि टिम नै खडा गरेर ग्राहकहरुका समस्या समाधान गर्न २४ सै घण्टा काम गरिरहेको उनले बताए ।

‘बैंकको प्रणाली बलियो बनाएर राखेको छौं, बैंकको छुट्टै आइएस अडिट टिम छ, आन्तरिक आइटि रिस्क टिम पनि छ, मोबाइल बैंकिङबाट हुने ठगी धेरै हदसम्म घटेको छ,’ उनले भने, ‘पहिला ओटिपी सेयर गर्दा ठगी बढी हुने गरेको थियो तर, अहिले एसएमस भेरिफिकेसन नहुँदासम्म कारोबार गर्न नमिल्ने भएकाले ठगीका घटनाहरु कम छन् ।’

ट्रान्जिक्सनल बैंकिङ हेड पौडेलका अनुसार बैंकले ग्राहकहरुको सहजताका लागि विभिन्न कार्डहरु वितरण गर्दै आएको छ । साथै, सो कार्डमार्फत् भुक्तानी गर्दा ग्राहकहरुलाई निश्चित प्रतिशित छुटको समेत व्यवस्था गरेको उनले बताए । बैंकले सन् २०१० अघिसम्म एससीटी कार्ड सञ्चालनमा ल्याएको थियो तर, त्यसपछि सो कार्डलाई परिमार्जन गरी भिजा कार्डमार्फत कारोबार गरिरहेको उनको भनाइ छ ।

उनका अनुसार बैंकले एटिएम मेसिनमा चल्ने मास्टर कार्ड पनि सञ्चालन गरिरहेको छ । त्यस्तै, चाइनिज यूपीआई कार्ड बैंकमा रहेको उनले बताए । सामान्यतया बैंकले नेपाली कार्ड र डलर कार्ड वितरण गरिरहेको छ । नेपाली कार्ड नेपाल र भारतमा चल्छ भने डलर कार्ड संसारका जुनसुकै देशमा पनि चल्छ । त्यसमा पनि डेबिड कार्ड र क्रेडिट कार्ड रहेको पौडेल बताउँछन् ।

‘कुनै ग्राहकलाई तत्काल कार्ड चाहिएमा इन्स्टान्ट कार्डको सुविधा छ, नेपालभित्रै वा विदेश जाँदा कुनै ब्यक्तिलाई तत्काल आवश्यक पर्याे भने इनस्टान्ट कार्डको व्यवस्था गरेको छ, कहिलेकाँही आवश्यक डलर नपाइने भएकाले सो कार्ड महत्वपूण हुन्छ,’ उनले भने, ‘उक्त कार्ड जुनसुकै देशमा पनि चल्छ, वैदेशिक रोजगारी, विदेश पढ्न जाने, विदेश भ्रमण जानेहरुले यो कार्ड बढि प्रयोग गरिरहेका छन् ।’

पछिल्लो समय सामाजिक सञ्जाल फेशबुक, गुगल, इन्स्टाग्राममा भुक्तानी गर्ने प्रयोजनका लागि इकम कार्डको समेत व्यवस्था गरेको बैंकले जनाएको छ । सामाजिक सञ्जालबाट विज्ञापन वा अनलाइनमार्फत् कुनै सामान खरिद गर्याे भने इकम कार्डबाटै भुक्तानी गर्न सकिने बैंकले बताएको छ । बैंकका अनुसार इकम कार्डमार्फत वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिन्छ । सो कार्ड लिनका प्यान नम्बर भने अनिवार्य रहेको छ ।

‘जुम्ला, जाजरकोट, बझाङ्ग, मुगु लगायत दुर्गम क्षेत्रमा पनि बैंकले एटिएम सेवा दिइरहेको छ, एटिएम मेसिनबाटै पैसा झिक्ने र नगद जम्मा गर्ने सुविधा पनि बैंकले प्रदान गरिरहेको छ,’ पौडेलले भने, ‘बुटवल, वीरगञ्ज, विराटनगर, कलङ्की, दरबारमार्ग, नयाँ बजारमा चेक डिपोजिट मेसिन सञ्चालनमा छन्, जुन शाखामा चेकको कारोबार बढी हुन्छ सो शाखामा चेक डिपोजिट मेसिन सञ्चालनमा छन् ।’

बैंकका अनुसार कार्डबाट हुने कारोबारलाई इनकरेज गर्न दराजमा भुक्तानी गर्दा पहिलो कार्ड ट्रान्जिक्सनमा १० प्रतिशत वा १५० रुपैयाँसम्म छुट पाइन्छ । साथै, हरेक बिहीबारका दिन दराजमा कारोबार गर्याे भने ५ सय रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ । सो दिनलाई सिटिजन्स बैंक डे भनेर पनि चिनिन्छ ।

त्यस्तै, सिटिजन्स बैंकका कार्ड भएका ग्राहकहरुले भारतका अस्पतालहरुमा १० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था बैंकले गरिदिएको छ । यदि १० लाखभन्दा बढी रकम भुक्तानी गर्नु पर्याे भने १० लाखको सीमालाई बैंकले बढाई दिने गरेको पौडेलले बताए । उक्त अस्पतालहरुमा १५ प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको छ ।

‘आजको दिनमा बैंकको एउटै एटिएमबाटै २/३ सयसम्म कारोबार भइरहेको छ, अर्जेन्ट कार्ड तत्काल उपलब्ध गराउँछौं, अन्य कार्ड सामान्यतया दुई/तीन दिनभित्र ग्राहकलाई उपलब्ध गराउँछौं,’ उनले भने, ‘बैंकिङ्ग क्षेत्रमै सबैभन्दा मध्यम शुल्क लिने गरिएको छ, कतिपय बैंकको शुल्क उच्च नै छ, ५ वर्षे कार्डमा वार्षिक ५ सय रुपैयाँसम्म शुल्क लिने गरिएको छ, जसमा पहिलो वर्ष निशुल्क हुन्छ ।’

मोबाइल बैंकिङ

मोबाइल बैंकिङमा ३ लाख रुपैयाँसम्मको कारोबारको सीमा तोकिएको छ । पछिल्लो समय अधिकांश ग्राहकहरुले मोबाइल बैंकिङ बढी प्रयोग गरिरहेका छन् । बैंकिङ क्षेत्रमा तुलना गर्दा सिटिजन्स बैंकको मोबाइल बैंकिङ सजिलो र सहज छ । बैंकका अनुसार मोबाइल बैंकिङमा सामान्यतया रिचार्ज कार्ड, स्टेटमेन्ट हेर्न, कम ट्रान्सफर, मुद्दती निक्षेप खाता खोल्ने लगायत अन्य बैंकको मोबाइल बैंकिङ्ग फिचर उपलब्ध छन् । साथै, बैंकको कुनै कर्मचारीलाई भेट्नु पर्याे भने मोबाइल बैंकिङबाटै समय तालिका मिलाएर भेट्न सकिन्छ । यदि एटिएम मेसिनबाट बिना कार्ड रकम झिक्न पर्याे भने कार्डलेस विथ ड्रल गर्न सकिन्छ ।

डिम्याट खाताको विवरण पनि मोबाइल बैंकिङबाटै हेर्न सकिने बैंकले जनाएको छ । यदि डिम्याट नम्बर, सीआरएन नम्बर बिर्सियो भने मोबाइल बैंकिङबाटै सहज रुपमा हेर्न सकिन्छ । यदि कार्ड हरायो भने मोबाइल बैंकिङबाटै सो कार्ड ब्लक गर्न सकिन्छ । डिजिटल वालेट खल्ति, इसेवा, आइएमई पे लगायतका कम्पनीसँग बैंकले सहकार्य गरेर काम गरिरहेको छ । मोबाइल बैंकिङमार्फत नै वालेटहरुमा रकम जम्मा गर्न सकिन्छ ।

‘मोबाइल बैंकिङ प्रयोगकर्ता ७ लाखभन्दा बढी छन्, मोबाइल बैंकिङबाट दैनिक औषत ५० हजारभन्दा बढीले कारोबार गरिरहेका छन् भने दैनिक औषत ५० करोड रुपैयाँ बढीको कारोबार हुने गरेको छ,’ ट्रान्जिक्सनल बैंकिङ्ग प्रमुख पौडेलले भने, ‘यदि मोबाइल बैंकिङमा कुनै समस्या आयो समाधान गर्न बैंक चनाखो छ, मोबाइल बैंकिङ मनिटरिङ गर्न डेडिकेडेट टिम नै तयार पारिएको छ ।’

साथै, ३ लाखभन्दा बढिको कारोबार गर्ने ग्राहकहरुलाई इन्टरनेट बैंकिङको पनि सुविधा रहेको छ । इन्टरनेट बैंकिङमा पनि मोबाइल बैंकिङका जस्तै फिचर उपलब्ध छन् । इन्टरनेट बैंकिङमा एकपटकमा १० लाख रुपैयाँ र प्रतिदिन २० लाख रुपैयाँसम्म कारोबरा गर्न सकिन्छ । साथै, एक महिनामा ५० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको छ । बैंकिङ क्षेत्रमा यस बैंकको डीम्याट खाता छिटो र छरितो छ भनेर प्रतिक्रिया दिइरहेका छन् । कूल डीम्याट संख्यामा बैंकको हिस्सा करिब ४ प्रतिशत छ । डीम्याट खातामा बैंक खाता लिंक भएका ग्राहकको नवीकरण बैंक आफैंले गरिदिन्छ ।

संसारका जुनसुकै कुनाबाट पठाएको रेमिट्यान्स सिटिजन्स बैंकबाट सहज रुपमा झिक्न सकिन्छ । आइएमई, प्रभु, जीएमईदेखि लिएर सबै कम्पनीको रेमिट्यान्स झिक्न मिल्छ । बैंकको आफ्नै सिटिजन्स रेमिट कम्पनी पनि छ । यदि रेमिट्यान्सबाट पठाएको रकम निक्षेपमा जम्मा गर्न चाह्यो भने अन्य खाताभन्दा १ प्रतिशत बढी ब्याज प्रदान गर्छ ।

डिजिटल बैंकको दायरा बढाउन सरकारले केन्द्रिकृत केवाईसी प्रणाली लागू गर्नु पर्ने माग ट्रान्जिक्सनल बैंकिङ्ग प्रमुख पौडेलले गरे । केन्द्रिकृत केवाइसी प्रणाली लागू भयो भने ग्राहकलाई सबै कार्यालयमा गएर केवाईसी भर्नु पर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ ।

‘जस्तो सिटिजन्स बैंकमा आएर खाता खोल्यो भने तीनपुस्तेदेखि सबै विवरण भर्नु पर्ने हुन्छ, त्यहि मान्छे अर्काे बैंकमा गएर खाता खोल्यो भने सोही विवरण त्यहाँ पनि भर्नु पर्ने हुन्छ, त्यस्तै कुनै सरकारी निकायमा कुनै फर्म भर्नु पर्याे भने पनि सोही विवरण भर्नु पर्ने हुन्छ,’ उनले भने, ‘यदि केन्द्रिकृत केवाइसी हुँदा एउटा बैंकमा केवाईसी भर्याे भने त्यहि विवरण सबैमा प्रयोग गर्न मिल्छ, ग्राहकलाई पनि सबै कार्यालयमा गएर केवाईसी भर्नु पर्ने बाध्यता हुँदैन, केन्द्रिकृत केवासी प्रणाली लागू भयो भने ठगी कम हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.