गृहमन्त्री लामिछाने र महान्याधिवक्ता पोखरेलविरुद्धको रिट सर्वोच्चमा दर्ता हुने

  २०८१ जेठ ९ गते १७:५४     विकासन्युज

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आफ्नो प्रशासनलाई आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेशलाई खारेज गर्दै यस्तो रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।

यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो । सर्वोच्चको यो आदेशसँगै अधिवक्ता भट्टराईले सर्वोच्चमा पेस गरेको रिट निवेदन आइतबार दर्ता हुने भएको छ ।

अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए ।

तल्ला निकायहरूमा अनुसन्धान भएको र हुनसक्ने विषयमा कुनै व्यक्तिले निवेदन दिएको भरमा छानबिन भएको छ वा छैन भनी पत्र जारी गर्दा त्यसको दुरुपयोग हुनसक्ने भन्दै उनले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्र बदर र कारबाहीको माग राखेका थिए ।

साथै, उनले आगामी दिनमा यस्ता पत्र जारी नगर्नु भनी महान्यायाधिवक्ता कार्यालयको नाममा आदेश जारी गर्न पनि माग गरेका थिए ।

अनि गृहमन्त्री लामिछाने पदमा रहेकाले उनीमाथि सहकारी छानबिनमा कठिनाइ भइरहेको भन्दै छानबिन अघि बढ्नासाथ उनलाई पदबाट हटाउन वा निलम्बनको अवस्थामा राख्न समेत आदेशको माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.