विकल पौडेलविरुद्ध ६२ करोडको अर्को भ्रष्टाचार मुद्दा

  २०८१ जेठ ९ गते १८:५६     विकासन्युज

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आम्दानीको तुलनामा उनीसँग निकै अस्वभाविक रकम देखिएको दाबी गर्दै ६२ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको अख्तियारको आरोप छ । यसअघि पौडेलविरुद्ध दायर भएका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । उनले आर्जन गरेको गैरकानुनी सम्पत्ति जफत गरी त्यति नै जरिवाना र जेल सजाय गर्न अदालतसँग माग गरिएको छ ।

यसअघि सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाइसकेको छ । उक्त मुद्दामा विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्न र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको छ ।

यस्तै झुटा विवरण पेस गरी सरकारी ओहोदामा पुगेको तथा सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर मुद्दा फैसला हुने क्रममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.