सरकारको साथ मिले फर्निसिङमा नेपाललाई आत्मनिर्भर बनाउन सक्छौं : अध्यक्ष अग्रवाल

  २०८० असोज १० गते १३:४५     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)ले आयोजना गरेको सो एक्स्पो फर्निसिङ सम्बन्धि सम्पूर्ण जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको हो । असोज १४ गतेसम्म सञ्चालन हुने यो प्रदर्शनीले देशको अर्थतन्त्रलाई पनि चलायमान गर्ने विश्वास व्यवसायीको छ । एक्स्पोमा राखिएका फर्निचरका सामग्री, यस उद्योगको वर्तमान अवस्था र फर्निचर उद्योगले भोग्नु परेका समस्या लगायतका विषयमा संघका अध्यक्ष दिनेश अग्रवालसँग विकासन्यजुका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

भृकुटीमण्डपमा आजबाट फर्निचर एक्स्पो भएको छ, विगतका एक्स्पो र अहिलेको एक्स्पोमा अवलोकनकर्ताले के फरक पाउँछन् ?

पछिल्लो समय मान्छेहरुको सोख बढ्दै गएको छ । उहाँहरूलाई उपभोग वा सजावटका सामग्रीहरुमध्ये फर्निचर पनि महत्वपूर्ण हो । हामीले यस पटको फर्निचर एक्स्पो आधुनिक तरिकाबाट गर्दैछौं । फर्निचर एक्स्पोमा फर्निचर तथा फर्निसिङका सामान राखिएको छ । यस पटकको एक्स्पोमा स्टलको संख्या पनि बढेको छ । नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि उपलब्ध गर्ने योजनासहित प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा नयाँ प्रविधि र भिन्न प्रकारका फर्निचर सामान पाउनुका साथै अवलोकनकर्ताले अन्तराष्ट्रिय स्तरको फर्निचरका सामानहरू पनि पाउन सक्नु हुनेछ ।

एक्स्पोबाट व्यवसायी तथा अवलोकनकर्ताले के फाइदा लिन सक्छन् ?

एउटै छानामुनि विभिन्न किसिमका सामग्री राखेर प्रदर्शन गर्दा सहज वातावरण तथा कम समयमा धेरै विषयको बारेमा उपभोक्ताले जानकारी पाउने भए । यस प्रकारको मेलाले स्वदेशी उत्पादनको प्रवद्र्धनमा टेवा पुग्नेछ । प्रदर्शनीमा मोडुलर किचन, आधुनिक बेडरुम, बाथरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डोरम्याट जस्ता सामानहरू हुन्छन् । ती सामानहरूको बारेमा उपभोक्ताले पनि हरेक स्टलमा गएर हेर्न र बुझ्न सक्ने भए । व्यापारीले पनि उपभोक्ता तथा अवलोकनकर्तालाई आफ्नो प्रडक्टको बारेमा बुझाउने वा देखाउने अवसर पाए । प्राविधिक रूपमा त्यो सामानमा के भिन्नता छ ? त्यसको बनावट कस्तो छ ? तपाईंलाई कुन सामान कुन तरिकाले प्रयोग गर्दा उचित हुन्छ भन्ने लगायतका विषयमा थाहा पाउन सकिन्छ । एउटा ग्राहकले आफ्नो आवश्यकता अनुसारका सामान बुझ्न पनि सकिन्छ । यस्तो प्रदर्शनीले पक्कै व्यापारी, उपभोक्ता र अवलोकनकर्तालाई फाइदा हुन्छ भन्ने अपेक्षा छ ।

प्रदर्शनीमा फर्निचरका वस्तुहरुमा छुटको व्यवस्था छकि छैन ?

कम्पनीहरुले पक्कै पनि अफर वा छुटेका व्यवस्था मिलाएको हुन्छ । आधुनिक जीवनशैली सँगसँगै बढ्दै गएको आन्तरिक सजावट ठूलो परिणत आएको छ । आफूले लगाउने लुगामा पनि डिप्लोमेसी आएको छ । हामीले घरमा कुन सामान कहाँ राख्ने, कुन उपयुक्त हुन्छ भन्ने विषय थाहा पाउन पनि आवश्यक छ । फर्निचर अति आवश्यक सँगसँगै सोखको रूपमा पनि गएको छ । मान्छेलाई यसले आकर्षण गर्छ ।

एक्स्पोमा स्वदेशी÷विदेशी कस्ता कम्पनीहरु सहभागी हुन्छन् ?

एक्स्पोमा १०० भन्दा बढी स्टलहरू रहने छन् भने ६० प्रतिशत भन्दा बढी स्टलमा नेपाली उद्योगमा बनेका फर्निचरका सामान देख्न पाउनु हुनेछ । र, एक्स्पोमा ४० प्रतिशत विदेशी ब्राण्डका फर्निचरको सहभागिता रहनेछ । यसलाई हेर्दा एक्स्पोमा स्वदेशी उत्पादनले नै प्राथमिकता पाएको छ । एक्स्पोमा विभिन्न जिल्लाका अवलोकनकर्ता र उद्योगी व्यवसायीहरू पनि आउनु हुन्छ भन्ने अपेक्षा राखेका छौं । यसमा भारतीय व्यापारी साथीहरू पनि अवलोकन गर्न आउनु हुन्छ ।

फर्निचर व्यवसायीहरू विदेशबाट आयात गरेर ल्याएको फर्निचरहरू प्रर्दशनीमा ल्याएर देखाउँछन् । तर, नेपालका अधिकांश वनजंगल भित्र काठ कुहेर जान्छ, त्यसको उपभोग वा प्रयोगमा तपाईंहरु चुक्नु भयो नी ?

हामीले यस विषयमा सरकारका विभिन्न निकायहरूसँग छलफल गरिरहेका छौं । सरसल्लाह सुझाव पनि दिएका छौं । नेपालको ४० प्रतिशतभन्दा बढी भूभाग वन जङ्गलले ओगटेको छ । हामीसँग प्रशस्त मात्रामा काठहरू छ । बुढा भएका रुखहरू जङ्गलमै ढलेरै जान्छन् । तर, त्यो रुखलाई काटेर सहज रूपमा उपभोग गर्न सकिँदैन । फर्निचर व्यवसायीले आजका दिनमा कुनै पनि टेन्डरमा भाग लिन पाउँदैनन् । अन्य माध्यबाट काठ झिकाउनु पर्ने हुन्छ । यसले गर्दा हाम्रो उत्पादनको मूल्य पनि बढेर जान्छ । काठलाई आकार दिएर यसलाई फर्निचर बनाउने काम फर्निचर तथा फर्निसिङ व्यवसायले नै हो । काठको प्रयोग फर्निचरका लागि नै हुन्छ ।

यदि फर्निचर उद्योगीले पनि टेन्डरमा सहभागी लिन पाइयो भने केही हदसम्म फर्निचरको मूल्य पनि सस्तो हुन्छ । काठ सस्तोमा किनेपछि त्यसलाई आकार दिई बजारमा बेच्दा मूल्यमा पनि फरक पर्छ । यस विषयमा सरकारसँग अझै पनि छलफलमै छौं ।

नेपाल फर्निचरमा आत्मनिर्भर कहिले हुन्छ ?

फर्निचर पनि विभिन्न वर्गको हुन्छ । घरभित्र राख्ने फर्निचर काठबाट बन्छ । स्टिल तथा प्लास्टिक फर्निचर पनि बजारमा उपलब्ध हुन्छन् । जो विदेशबाट आयात गरेर ल्याएको हुन्छ । अफिसमा राख्ने कुर्सी या आधुनिक फर्निचरहरू आयात हुन्छ । तर, घरमा प्रयोग गर्ने झ्याल ढोका वा कुनै डिजाइन दिएका वस्तुहरु स्वदेशकै हो । अहिले प्लास्टिक फर्निचर आयात गर्नु परेको छैन । सायद ९० प्रतिशतको हाराहारीमा स्वदेशी उत्पादनले चलिरहेको छ । स्टिल फर्निचरमा केही प्रतिशत आयातित वस्तुको प्रयोग होला । तर, ९० प्रतिशत सामानको प्रयोग स्वदेशी हुन्छ । म्यानुअल फर्निचर बनाउँदा टिकाउ भरपर्दो राम्रो र महँगो हुन्छ ।

नेपालबाट युवा विदेसिने संख्या बढ्दै गएको छ । जसले दक्ष जनशक्ति पाउन पनि अब मुस्किल हुने आस्था आएको छ । सीप तालिम केन्द्र नभएकाले काम गर्न चाहनेहरुको लागि ज्ञान पनि हुँदैन । फर्निचर बनाउनेको लागि ४० प्रतिशत चाहिँ राम्रो कब्जा किल्ला काटी चाहिन्छ । त्यो हामीले आयात गर्नुपर्ने हुन्छ । हामी आत्मनिर्भर हुन सक्ने सम्भावनाका बाटा धेरै छन् । नेपालमै फर्निचरका धेरै जसो सामाग्री उपलब्ध छन् । फर्निचरमा ६० प्रतिशत भन्दा बढी फर्निचरमा स्वदेशी कच्चा पदार्थको प्रयोग हुन्छ । यसमा पनि सरकारको साथ मिल्यो भने हामी पूर्ण रुपमा आत्मनिर्भर बनाउन सक्छौं ।

फर्निचर व्यवसायीका समस्या के हुन् ? सरकारले के गर्न सक्यो भने फर्निचर उद्योग फस्टाउँछ ?

सरकारले व्यवसायीलाई करदाताको रूपमा लिएर जानु पर्छ । यस क्षेत्रले पनि अर्थतन्त्रलाई ठूलो योगदान दिँदै आएको छ । हामी सरकारसँग गुनासो गर्दैनौं । हामी सरकारलाई साझेदारको रूपमा लिएर जान्छौं । हामीले व्यापार गर्न सक्यौं भने सरकारलाई राजश्व बुझाउँछौं । व्यापार गर्नको लागि सहज वातावरण चाहिँ मिलाउनु पर्छ । नीति नियममा परिमार्जन, सहज वातावरण र बजार प्रवद्र्धन गर्नको लागि सरकारको साथ चाहिन्छ । व्यापार चलायमान हुन आवश्यक छ भने लगानीकर्ता बाच्नु पर्छ । हाम्रा समस्याहरू सरकारलाई पक्कै अवगत छ । विगत केही वर्षदेखि अर्थतन्त्र ओरालो लाग्ने अवस्थामा छ । सरकाले व्यापारीहरूलाई पनि साथमा लिएर जानु पर्छ । रोजगारी दिन र अर्थतन्त्रमा मद्दत पुर्याउन निजी क्षेत्रले सदैव सरकारलाई साथ दिन्छ ।

आर्थिक मन्दीको असर यस क्षेत्रमा कस्तो परेको छ ?

केही मन्त्रीहरुले पछिल्लो समय अर्थतन्त्रले गतिलिन थालेको धारणा राखिरहनु भएको छ । तर, हामीले त्यो अवस्था देखेका छैनौं । यो क्षेत्रलाई पनि आर्थिक मन्दीले छोएको छ । त्यसका बाबजुद पनि हामीले प्रदर्शनीको आयोजना गरी अर्थतन्त्र चलायमान बनाउने प्रयास गरेका छौं । हामीले बजारमा नयाँ सामग्री ल्याउँदा सेवाग्राहीको पक्कै पनि मनोबल बढ्छ । सामान खरिद गर्ने हिम्मत पनि आउँछ । त्यसले व्यापारी साथीहरूलाई पनि सहयोग पुग्ने अपेक्षा सहित एक्स्पोको आयोजना गरेका हौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.