जेठ १७ गतेदेखि जुत्ता चप्पल मेला हुँदै, ५ करोडको कारोबार गर्ने लक्ष्य

  २०८० जेठ १४ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल जुत्ता चप्पल उत्पादक समूहले ‘प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८०’ को आयोजना गर्ने भएको छ । सो समूहले ललितपुरमा जेठ १७ गतेदेखि जुत्ता चप्पल व्यापार मेलाको आयोजना गर्ने भएको हो ।

मेलाका संयोजक दिवाकर गिरीले मेला असारको १७ गतेसम्म सञ्चालन हुने बताए । एक महिना सञ्चालन हुने उक्त मेलामा पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखेको उनले बताए ।

नमस्ते फुटवेयरको संयोजकत्वमा हुने मेला ललितपुर महानगरपालिकाको जावलाखेल खेल मैदानमा हुने पनि गिरीले जानकारी दिए ।

स्वदेश ब्राण्डका जुत्ता चप्पलहरू उपभोक्ताको बिचमा परिचित गराउने र स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरूको रुची जगाउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको आयोजकले बताएको छ ।

‘स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सबै नेपालीहरूमा हुने हो भने देशमा सबै प्रकारका उद्योगहरू खुल्न सक्ने वातावरण बन्न सक्छ, देशको अर्थतन्त्र थोरै भए पनि मेलाले सहयोग पुर्याउने छ,’ संयोजक गिरीले भने ।

नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनीको सहभागिता रहने मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म संचालन हुनेछ ।

मेलामा गोल्डस्टार, रोयल शुज, वि.एफ.डियर हिल, वि.एफ स्पोर्ट, क्रस रोड शुज, फस्टवाक शुज, सिल, हाई लाईफ, केटिएम र डि।जे। ब्राण्डका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने पनि बताइएको छ ।

आयोजककाअनुसार मेला अवधिभर एक जोरी जुत्ताको खरिदमा न्यूनतम २० देखि ५० प्रतिशतसम्म छुट पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.