के नेपाली राजनीतिमा रत्नाकारहरु महर्षी बन्न सम्भव छ ?

  २०८० वैशाख १८ गते ११:२४     नारद

काठमाडौं । गत मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमालेका सांसद ईश्वरबहादुर रिजालले नेकपा (एमाले)लाई पुरानो पार्टी नभन्न आग्रह गरे । उनले इतिहासमा आफ्नो पार्टीले कमिकमजोरी गरेपनि पुरानो दल नभन्न एकढंगले याचना गरे । सांसद रिजालको यो याचना तीनवटा संसदीय निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनसँग जोडिएर देशव्यापी रुपमा आएको आरोप प्रत्यारोपसँग सम्बन्धित थियो ।

के एमालेका सांसद रिजालले भनेजस्तै अरुले नभनिदिएर एमाले वा अन्य ठूला वा पुराना राजनीतिक दल नयाँ भइरहन सक्छन् ? के लामो इतिहास बोकेका नेपालका राजनीतिक दलले आफ्ना विगतका कमजोरीलाई सच्याएर समसामयिक रुपमा गतिशील र नयाँ बन्न सक्छन् ? हामी नेपालीले सकारात्मक रुपमा सोच्न र प्रतिक्षा गर्न त सक्छौं । तर, के राजनीतिक दलले हामीलाई प्रतिक्षाको फल दिन सक्छन् ?

विश्वमा बैज्ञानिक रुपमा प्रमाणित भएको सर्वस्वीकार्य चार्ल्स डार्बिनको सिद्धान्तले प्रकृतिमा अस्तित्वमा रहिरहनका लागि समेत सजिव प्राणीले आफ्नो गुणमा विकास गर्नुपर्ने अन्यथा प्रकृतिले उन्नत जीवलाई छनोट गर्ने र कमजोर जीव विनाश हुने बताएका छन् ।

समाज विज्ञान र प्रकृति विज्ञानका धेरै नियमहरु मिल्छन्, जुन कुरा हामीले आजको दिनमा विश्वको इतिहासलाई सिंहावलोकन गर्यौं भनेपनि सहजै बुझ्न सकिन्छ । विश्वका कुनै पनि देशमा त्यो देशको दीगो व्यवस्थापनसँग जोडिएर अगाडि बढेका राजनीतिक पार्टी तथा व्यवस्थाहरु मात्रै लामो समयसम्म अस्तित्वमा रहन सकेका छन् । तर, तत्कालीन समस्या र आवश्यकता वा निहित स्वार्थले निर्माण भएका पार्टी र व्यवस्था समयक्रमसँगै अस्ताएका छन् वा संकटमा परेका छन् । यी उदाहरणहरु भिमकाय भूगोल भएका मुलुक देखि स-साना मुलुकहरुभरी नै छन् ।

नेपाली राजनीतिका मुख्य ठूला दलहरुमाथी आरोप प्रत्यारोपमा वा कुतर्क गरेर मात्रै होइन तिनीहरु यथार्थमा नै बुढा वा पुराना र एक तहमा काम नलाग्ने भएका छन् । धेरै मापनहरुबाट आउने तर्कले पनि यसलाई पुष्टि गर्छ । कुनै दुर्लभ भविष्य बाहेक विशेषतः ठूला राजनीतिक दलहरु अब सच्चिने सम्भावना नरहेको होकी भन्ने लाग्छ । कसैले आग्रह गरेर वा केहीछिनलाई मानिदिएर पुराना दलहरु नयाँ बन्ने होइन । यिनीहरु डार्बिनले भनेजस्तै नेपालको राजनीतिमा अब आफूलाई गुण परिवर्तन गर्न नसक्ने अवस्थामा पुगिसकेको र गतिशील हुन छाडिसकेको हो भने यिनको विस्थापन अवस्यमभावी छ ।

डकैती काम गर्ने रत्नकार डाँकु सच्चिएर महर्षी बाल्मिकी भएको र हिन्दु जगतको प्रसिद्ध ग्रन्थ रामायणको रचना गरेको भन्ने विषय पूर्वीय समाजमा निकै महत्वपूर्ण प्राचिन कहानी छ । रत्नाकार डाँकु जस्तै व्यक्तिगत रुपमा धेरै मान्छेहरु गलत दलदलको खाडलसम्म पुगेर फर्किएको धेरै यथार्थ कथाहरु आजपनि बग्रेल्ती पढ्न पाइन्छ । तर, बिग्रिसकेको राजनीतिक दल पुनः सुध्रिएर देश र जनताको पक्षमा काम गरेको यथार्थ विश्व इतिहास वा वर्तमानमा खासै पाइँदैन । तर, कतिपय पुराना राजनीतिक शक्तिहरु भने कुटिल चाल, षडयन्त्र वा शक्तिको माध्यमबाट नै केहीछिनलाई फर्कने गरेका पनि छन् । त्यसैले यो प्रश्न नेपालका ठूला वा पुराना भनिने राजनीतिक दलप्रति पनि स्वभाविक रुपमा सोझिन्छ ।

कतिपय सन्दर्भमा मानिसहरुले भन्ने गर्छन, ‘असम्भव भन्ने दुनियाँमा केही पनि हुँदैन’, यो सकारात्मक भनाइले एउटा थाकेको मान्छे वा समाज, अनुसन्धानकर्ता, आशावादी व्यक्ति वा समाज र सघर्षको पक्षधर व्यक्ति वा समाजलाई उर्जा प्रदान गर्छ । तर, क्षितिजमा बिहानीको आशा गर्नका लागि पृथ्वीले आफ्नो कक्ष र अक्षमा घुम्न छोड्नु हुँदैन । यदि पृथ्बी आफ्नो अक्ष र कक्षमा घुम्न छोड्यो भने हामीले दिन रातको कल्पना गर्न सक्दैनौं । केही तथ्यगत कारणहरुसहित पुराना वा ठूला भनिएका राजनीतिक दलहरु घुम्न छाडेका त छैनन् भन्ने आशंका हामीमा पैदा भएको छ ।

यसमा सबैभन्दा महत्वपूर्ण एउट सवाल छ यिनीहरुको ‘अन्तर सम्बन्धित भ्रष्टाचार’ । मार्क्सवादले उत्पादन सम्बन्धले विचार निर्माण गर्ने विषयलाई दार्शनिक रुपमा प्रस्तुत गरेको छ । सामान्यतया मान्छेले आफ्नो कर्म वा आफ्नो बाँच्ने स्रोतको विरुद्धमा आफै लाग्दैन वा लाग्न सक्दैन । वर्तमानमा नेपाल समाजवादी नामको पार्टी खोलेका डा. बाबुराम भट्टराईले ०७६ फागुन १४ गते संसदमा बोल्दै ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’, ‘हामी त साथीहरुले दिएको लुगा लगाएर, चप्पल पड्काएर हिँडेका थियौँ, आज कसरी सुटेड–बुटेड भयौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल बने ?’ भनेर प्रश्न गरेका थिए । उनको प्रश्नमा सबै सांसदहरु नतमस्तक भएर सुनिरहेका थिए, कसैको सबालजवाफ गर्ने हैसियत थिएन । आज पनि त्यो प्रश्नको जवाफ दिने हैसियत अधिकांश पुराना दलका नेता तथा सांसदहरुको छैन ।

पहिलो महत्वपूर्ण प्रश्न यहिँनेर छ, राजनीतिक नेतृत्वको अपारदर्शी जीवन र सम्पत्तिको स्रोत के हो ? यसको औसत जवाफ गाह्रो छैन, नीतिगत भ्रष्टाचार, कार्यक्रमिक भ्रष्टाचार र शक्तिको दुरुपयोग नै हो । चप्पल लगाएर राजनीति शुरु गरेका नेताहरु र सामान्य परिवारबाट जागिरे जीवनमा प्रवेश गरेकाहरु कसरी औसत राज्यको जीवनभन्दा माथि पुगे ? यो प्रश्नको औसत जवाफ आज जोकोही हर नेपालीसँग छ ।

तर, त्यसको उचित छानबिन र कारबाहीको प्रकृयाबाट जोगिनको लागि पुराना दल र नेतृत्वले राज्यसत्तालाई आँफूहरुको नियन्त्रणमा राख्ने प्रयत्न गरिरहेका छन् । यसको औसत प्रमाण पनि आम जनतासामु छर्लंग छ । अदालतदेखि अख्तियारसम्म आफ्नो स्वार्थ अनुकुलको व्यक्तिको छनोट ।

कृषिमा आत्मनिर्भर हुने कार्यक्रम, सार्वजनिक शिक्षा क्षेत्र सुधार, विश्वविद्यालय सुधार, सार्वजनिक स्वास्थ्य क्षेत्रको सुधार लगायत समाजको दीगो व्यवस्थापन गर्ने कार्यक्रम किन कुनै सरकारले ल्याउन चाहँदैन ? यसको पनि औसत जवाफ छ, त्यसरी नीतिगत निर्णय गरियो र संरचनात्मक सुधारको प्रयत्न गरियो भने यिनीहरुको मुखमा माड बन्द हुने दिनको शुरुवात हुन्छ ।

मोहन बैद्य ‘किरण’ ले प्रयोग गरेको एउटा शब्द यहाँ प्रयोग गर्न सान्दर्भिक लाग्यो । उनले तत्कालीन नेकपा (माओवादी केन्द्र) विभाजन गरेर बौद्ध सम्मेलनमा प्रस्तुत गरेको दस्ताबेजमा देशमा दलालहरुको पनि सेवा गर्ने ‘भुँईफट्टा दलाल’हरुको विकास भएको प्रसंग उल्लेख गरेका थिए । लामो समयदेखि पुराना राजनीतिक दलहरुले आफ्नो पिरामिड संगठनमा त्यस्तै भुईँफट्टा दलालहरुको विकास गरेका छन् । जुन अत्यन्तै विशाल छ । जसको चेतनास्तर नितान्त दलाली मानसिकता र आत्मसमपर्णवादले भरिएको निकै निम्छरो र निच प्रकृतिको छ ।

फेरि जोडौं, मार्क्सवादले भनेजस्तै जुन पदार्थको धरातल र उत्पादन सम्बन्धमा पुराना राजनीतिक दल उभिएका छन्, त्यहीँबाट पैदा भएको चेतनाले अहिलेको संरचना, शक्ति र प्रवृत्तिको निर्माण गरेको छ । हामीले कल्पना गरौं, के यी राजनीतिक दलले यो आँफैले खडा गरेको कुहिएको पहाड भत्काउन तयार हुन्छन् ? डाँकाहरुको सेवा गरेर लोकतन्त्रको दुहाई दिइरहेका यी रत्नाकारहरु महर्षी बन्न तयार हुन्छन् ?

केही समय अगाडि सर्वोच्च अदालतले माओवादीका अध्यक्ष प्रचण्ड विरुद्धको निवेदन दर्ता गर्न आदेश दिएपछि झण्डै दर्जनको संख्यामा धुजाधुजा भएका कथित माओवादीहरु प्रतिरोधको लागि एउटै मञ्च निर्माण गर्न पुगेका थिए । त्यस्तै, प्रतिनिधिसभाको निर्वाचन पश्चात राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको अनपेक्षित मतपछि पुराना दलहरुका नेता तथा कार्यकर्ताहरुले हरेक मञ्चबाट एउटै स्वरमा अत्तालिएर प्रस्तुती गरिरहेका छन्, ‘यो हामीलाई सच्चिने की सक्किने चेतावनी हो ।’

यो इतिहासमा दुर्लभ प्रश्न र अपेक्षा हो । जुन इतिहासमा कमै घटित भएको छ । तर, उनीहरु सच्चिन्छन् र युगले मागेको लोकतन्त्र, विधिको शासन, पारदर्शिता, सामाजिक सुरक्षा स्थापित गर्ने प्रण गर्छन भने मुलुकको समृद्धिको विषय धेरै टाढा कदापी छैन । त्यसो भएमा नेपालमा हुने त्यस्तो राजनीतिक घट्ना पनि विश्व राजनीतिमा दुर्लभ अक्षरहरुले लेखिनेछन् । अन्यथा आयु सकिएकाहरुलाई आर्यघाटले सधैं नै खुला दिलले आमन्त्रण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.