ज्योत्सनाले खोलिन् अञ्जनलाई छोडेर रामचन्द्रलाई रोज्नुको कारण

  २०७९ चैत १९ गते १९:४३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले चुनाव जित्नैको लागि सहज भएका कारण रामचन्द्र संघईको समूह रोजेको बताएकी छिन् । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार संघईको उम्मेदवारी तथा घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै श्रेष्ठले संघईको समूहमा आउँदा चुनाव जित्न सहज भएको हुँदा अको समूह छाडेको बताइन् ।

उनले अर्काे समूहलाई छाडेर आउँदा धोका दिएको रुपमा बुझ्न नहुने बताइन् । अन्जन श्रेष्ठको समूहमा आफूले उम्मेदवारी घोषणा गरेको भएपनि चुनाव जित्न सहज नभएको हुँदा संघईको समूहमा आएको उनको भनाइ छ ।

‘कतिपयले अन्जनको समूहलाई धोका दिएको रुपमा बुझेका छन्, उता घोषणा भएर यता आउँदा धोका दिएकै जस्तो देखिन्छ तर, धोका दिएको भन्दा पनि मैले टिमको जित हेर्नुपर्छ, म उपाध्यक्षमा उठेपछि १९ जनालाई पनि जिताउनुपर्ने मेरो दायित्व हो, मलाई कसले के भन्छ भन्नेसँग सरोकार छैन, मेरो टिम जित्नुपर्छ,’ उनले भनिन् ।

गत फागुन ३० गते पत्रकार सम्मेलन गर्दै ज्योत्सना श्रेष्ठले आफू अन्जन श्रेष्ठको समूहबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । फागुनमा अन्जनको टिममा रहेर प्रोक्सी संकलन गरेकी ज्योत्सना अहिले रामचन्द्र संघईको समूहमा प्रवेश गरेकी हुन् ।

आइतबार संघई समूहबाट एसोशिएटतर्फको उपाध्यक्षमा श्रेष्ठले उम्मेदवार घोषणा गरेकी हुन् । चुनावमा पराजित हुने डरले संघईको समूहमा प्रवेश नगरेको उनले बताइन् । आफू जुनसुकै समूहबाट चुनाव लडेपनि जित्ने बताउँदै उनले अन्जनको समूह ‘कम्फर्ट’ नलागेको बताइन् ।

‘चुनाव भनेको जित्नैका लागि लडिन्छ, अहिले मलाई यहाँ सहज भयो, उता पनि बसेको थिए, अन्जनको समूहबाट पनि उम्मेदवारी घोषणा गरेँ, अब उनीहरुलाई सुभकामना मात्रै दिन्छु,’ उनले भनिन्, ‘उताको टिम पनि बलियो छ, बलियो नभएको होइन तर, मलाई ‘कम्फर्टटेबल’ भएन, मेरो साथीहरुलाई जिताउनुपर्छ भनेर म यहाँ आएकी हुँ ।’

सम्बन्धित समाचार : ज्योत्सनाको दोहोरो चरित्र, कहिले अन्जनसँग, कहिले रामचन्द्रसँग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.