मर्ज भएर ठूला भएका निजी बैंकसँग जुध्न अब रणनीति बनाउनुपर्छ : सीइओ श्रेष्ठ

  २०७९ माघ १० गते १५:२५     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरण कुमार श्रेष्ठले मर्ज भएका निजी बैंकसँग जुध्न आरबिबिले उपयुक्त रणनीति बनाउन आवश्यक रहेकाे बताएका छन् ।

मंगलबार बैंकको ५८ ‍औं वार्षिकाेत्सवकाे अवसरमा बाेल्दै सीइओ श्रेष्ठले ‘क’ वर्गका बैंकहरु मर्ज हुँदा आकार र क्षमता ठूलाे हुन गएकाले अर्थमन्त्रालयले पनि सरकारी बैंकका लागि रणनिती बनाएर अगाडी बढ्न पर्ने बताएका हुन् ।

‘यसरी ‘क’ वर्गका बैंकहरु बिचको मर्जरले ती बैंकहरुको आकार तथा क्षमता ठूलो हुन गईरहेको सन्र्दभमा यस बैंकले समेत उपयुक्त रणनीति बनाई अगाडी बढ्न आवश्यक छ । यसका निमित्त नेपाल सरकार अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

सीइओ श्रेष्ठले वार्षिकाेत्सवकाे अवसरमा बैंककाे आगमी ११ याेजना पनि सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ११ योजनामा सजिलै कर्जा प्रवाह गर्नेदेखि विभिन्न देशमा कार्यालय खोल्नेसम्मका विषय रहेका छन् । 

यस्तै, वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ ।

कुल ३८ लाख ६१ हजार ग्राहक सङ्ख्या भएको बैंकका एटीएम प्रयोगकर्ता सात लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय रहेको कार्यक्रममा जानकारी दिइयो ।

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप सङ्कलन दुई खर्ब ७२ अर्ब रुपैयाँ, कर्जा प्रवाह दुई खर्ब ३४ अर्ब रुपैयाँ र नेटवर्थ ३४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौ दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप तीन खर्ब, कुल कर्जा दुई खर्ब ५८ अर्ब, मुनाफा चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्‍याउने पनि बैंकको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.