युनाइटेडमा उपासनाको डेढ वर्ष : पुरा नभएको त्यो इच्छा र सेयरधनीले पाएको खुसी

  २०७९ कार्तिक २८ गते १८:४९     मञ्जरी पौडेल

काठमाडौं । सोमबारदेखि लागू हुने गरी युनाइटेड इन्स्योरेन्सबाट उपासना पौडेल बाहिरिन् । उनी स्वेच्छिक रुपमा कम्पनीको सीईओ पदबाट बाहिरिएको बुझिएको छ । विभिन्न लक्ष्य र उद्देश्यका साथ युनाइटेड इन्स्योरेन्सको सीईओ बनेकी उपासनाको बर्हिगमनलाई भने धेरैले अप्रत्याशित मात्रै ठानेनन् आश्चर्यका रुपमा पनि लिएका छन् ।

चार वर्षे कार्यकाल पुरा हुन अझै अढाई वर्ष बाँकी रहँदा उनले युनाइटेड इन्स्योरेन्स छोडेर किन अन्तै जानु पर्ने अवस्था आइलाग्यो ? यो प्रश्नको जवाफ भने अझै अनुत्तरित छ । विकासन्युजलाई प्राप्त सूचना अनुसार उनी हिमालयन रिमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रुपमा जान लागेकोले युनाइटेड इन्स्योरेन्स छोडेकी हुन् ।

युनाइटेडमा सीईओको रुपमा डेढ वर्ष मात्रै काम गरे पनि उपासनाले कम्पनीको उचाइ र उपलब्धिमा भने धेरै काम गरेको बीमा क्षेत्रका जानकारहरुको बुझाइ छ । यस विषयको प्रष्टता कम्पनीले हासिल गरेका पछिल्ला केही सूचकहरुहरुले पनि देखाउँछ । चार वर्षे कार्यकालमा पौडेलले गर्छु भनेर गरेका प्रतिवद्धताहरु सबैले पूर्णता पाउन नसकेपनि अधिकांश योजना र प्रतिवद्धताहरुमा भने उनी सफल बनेकी छन् ।

कम्पनीको विगत र उपासनाको ‘इन्ट्री’

वि.सं २०५० साल मंसिर १६ गतेदेखि सञ्चालनमा आएको कम्पनी हो युनाईटेड इन्स्योरेन्स । नेपाली निर्जीवन बीमा क्षेत्रमा कम्पनीले करिब तीन दशक पुगेको छ । बजारमा प्रवेश गर्दा कम्पनी नेपालकै पाँचौं निर्जीवन बीमा कम्पनी थियो । हाल उक्त संख्या बढेर १८ पुगेको छ ।

देशको ठूलो व्यवसायिक घराना चौधरी ग्रुप र एनई ग्रुप लगायतद्वारा प्रवर्द्धित यो कम्पनी कुनै बेला बिजनेसको हिसावले ‘टप थ्री’ बीमा कम्पनीहरुमध्येमा पर्थ्यो । तर, फरक रणनीति र व्यवसायिक योजना लिएर आएका नयाँ–नयाँ बीमा कम्पनीहरुका अगाडि युनाइटेड पछि पर्न थाल्यो । सबैभन्दा बढी प्रमुख कार्यकारी अधिकृतहरु फेरिने कम्पनीहरुको सूचीमा पनि युनाइटेड इन्स्योरेन्स पर्न थाल्यो ।

२८ वर्षको अवधिमा कम्पनीमा २ दर्जन बढी सीईओ फेरिए । तर, कम्पनीले अपेक्षाकृत प्रगति गर्न सकेन । वि.सं २०७८ बैशाखमा सो कम्पनीको सीईओको रुपमा तिनै उपासना पौडेल भित्रिइन् । उनी सीईओ बनेपछि पनि कम्पनीले एक किसिमको चर्चा पाएको थियो । ‘डाउनवार्ड’ पोर्टफोलियोमा रहेको कम्पनीमा कम उमेरको महिला सीईओ ल्याएपछि धेरैले प्रश्न पनि तेर्साए । तर, एकपछि अर्को सूचकमा चम्केपछि उनको तारिफ बीमा क्षेत्रले गर्यो ।

त्यसपछि आयो युनाइटेडमा यूटर्न

सीईओ बनेपछि युनाइटेड इन्स्योरेन्सले विभिन्न सूचकमा आश्चर्यजनक रुपमा छलाङ मार्यो । विगतमा ‘टप थ्री’को आफ्नो स्थान सुरक्षित राख्ने रणनीतिका साथ कम्पनी अगाडि बढिरह्यो । पौडेल सीईओमा नियुक्त भएकै वर्षमा कम्पनीले नयाँ इतिहास रच्न सफल भयो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा एक अर्बभन्दा बढी प्रिमियम संकलन गर्यो ।

जुन त्यसअघिकै सर्वाधिक प्रिमियम अर्थात् कम्पनीको पहिलो रेकर्ड हो । पौडेल सीईओमा नियुक्त भएको साढे २ महिनामै कम्पनीले २८ वर्षमा नयाँ इतिहास रच्न सफल भयो । कम्पनीले सञ्चालक, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासबाट १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भयो । त्यसलाई ठूलो उपलब्धिका रुपमा लिँदै कम्पनीले केक समेत काटेर उत्सव मनायो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष अर्थात् २०७६/७७ मा ६९ करोड बीमाशुल्क आर्जन गर्यो । कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरीय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलापमार्फत् यो सफलता हासिल गर्न सहयोग पुगेको कम्पनीको दावी छ ।

कम्पनीले सामाजिक सञ्जालहरुलाई पनि प्राथमिकता दियो । अहिलेको नयाँ पुस्ता सामाजिक सञ्जालमा बढी अभ्यस्त भएकाले उनीहरुलाई फोकस गरेर पनि युनाइटेडले आफ्नो वेवसाइटलाई परिस्कृत गर्यो । यस्तै, सन् २०२१ मा कम्पनी एशियाकै उत्कृष्ट निर्जीवन बीमा कम्पनी बन्न सफल भयो । इन्डियन चेम्बर अफ कमर्शले नेपालको इन्स्योरेन्स कम्पनीमध्ये यूनाइटेडलाई ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित गरेको हो ।

इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको तेश्रो इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्डस् कार्यक्रममा कम्पनीले सो अवार्ड पाएको हो । सो कार्यक्रम ३० अप्रिल २०२२ अर्थात २०७९ बैशाख १७ गते भारतको कलकत्तामा भएको हो । त्यस्तै, पौडेलको नेतृत्वमा कम्पनीका बीमितले सातादिन भित्रै दावी भुक्तानी पाए । जुन विगतमा एक/दुई वर्षसम्म पनि भुक्तानी नभएको गुनासो बीमितहरुबाट प्रशस्त आउँथे ।

अहिले विभिन्न कम्पनीहरु बिजनेस नभएको भन्दै चिन्तित बनेको अवस्थामा उपासनाले नेतृत्व गरेको युनाईटेड इन्स्योरेन्सको बिजनेसमा भने बढोत्तरी आयो । कम्पनीले तीन महिनामै १७.०८ प्रतिशत ग्रोथ गर्न सफल भएको छ । आर्थिक वर्ष २०७९/८० को साउनमा १० करोड ४० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनीले असोजमा मात्रै १२ करोड १८ लाख बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

उपासनाले अपनाएको टेक्निक

पौडेल सीईओ भएर आएपछि युनाइटेड व्यवस्थापनले कम्पनीलाई छोडेर गएका ग्राहकहरुलाई पुनः कम्पनीमै ल्याएर गुणस्तरीय सेवा दिन सफल भयो । जुन कम्पनीका लागि ठूलो चुनौति थियो । सीईओ पौडेल कम्पनीलाई पुनः सुरुवातकै चरणमा ल्याउन अर्थात् पुनर्जीवित गर्न आधारभूत कामबाटै शुरु गरेको बताउँछिन् । उनले कम्पनीको रि-ब्राण्डिङ, लोगो परिवर्तनदेखि बजारमा प्रस्तुत हुने शैली समेत परिवर्तन गरिन् ।

योसँगसँगै कम्पनीले प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दियो । ग्राहकलाई आकर्षित गर्नको लागि स–साना विषयहरुमा ध्यान दिनुपर्ने रणनीतिमा लागेकी पौडेलले युनाइटेडले हरेक प्रणाली अटोमेटेड (स्वचालित) गरेर ग्राहकलाई छिटो तथा छरितो सेवा दिन कम्पनी डटेर लागेको अनुभव विकासन्युजसँग सुनाएकी थिइन् । ।

‘मेरो ४ वर्षको कार्यकालमा कम्पनीलाई ‘स्टेबल’ बनाउने ईच्छा छ, २०७८/७९ मा जसरी भएपनि लाभांश दिने हो, केही भएन भनेपनि न्यूनतम ५ प्रतिशत त हामी दिन सक्ने अवस्थामा हुन्छौं,’ पौडेलले २०७८ भदौमा नै विकासन्युजसँग भनेकी थिइन् । पौडेलले भनेजस्तै कम्पनीका सेयरधनीले गत आवको लाभांशबाट ५.२६३२ प्रतिशत लाभांश पाउने भएका छन् । विगत ५ वर्षदेखि हात खाली भएर निराश बनेका लगानीकर्ताहरुमा यो वर्ष भने खुशीयाली छाएको छ ।

लाभांश इतिहास र बिजनेस

आर्थिक वर्ष २०७१/७२ देखियताको लाभांश इतिहास हर्ने हो भने कम्पनीले दुई वर्षको नाफाबाट मात्रै लाभांश वितरण गरेको छ । कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट २० प्रतिशत र आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर पाएका छन् । त्यसयता लगातार ५ वर्षसम्म भने कम्पनीका सेयरधनीको हात खाली भएको छ । आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट सेयरधनीले बोनस र नगद कुनै पनि प्रकारको लाभांश पाएनन् ।

तर, लामो समयपछि भने कम्पनीका सेयरधनीले लाभांश पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा १९ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । जुन अघिल्लो वर्षको तुलनामा ४७.९४ प्रतिशतले बढी हो । त्यस्तै, बीमा कोषको आकार १९.९२ प्रतिशतले बढेर ४२ करोड २ लाख रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सले गत आवमा १३ करोड ९६ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको थियो । जुन अघिल्लो आवको तुलनामा ३ करोड रुपैयाँ बढी हो । त्यस्तै, समीक्षा अवधिमा कम्पनीले एक लाख ३७ हजार वटा बीमालेख जारी गरी कूल एक अर्ब ५६ करोड ४५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो । जुन अघिल्लो आवमा १ अर्ब १० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो ।

गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी १३.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६०.४० रुपैयाँ र पीई रेसियो २५.७७ रहेको छ । असोज मसान्तसम्मको तुलनामा कम्पनीको बजार हिस्सा करिब ३ प्रतिशत रहेको छ । बीमाशुल्कको आधारमा कम्पनीको बजार हिस्सा २.९८ प्रतिशत रहेको हो । असोजसम्म १९ कम्पनीहरुले कूल १० अर्ब ८४ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यता यूनाईटेडले भने ३२ करोड ३१ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणको तथ्याङ्कले बताएको छ ।

पुरा हुन नपाएको त्यो इच्छा

४ वर्षको कार्यकालमा युनाइटेडलाई ‘स्टेबल’ र ‘नम्बर वान’ बनाउने उनको इच्छा थियो । सो अवधिमा कम्पनीले ५ प्रतिशत बजार हिस्सा ओगेट्ने समेत उनको दावी थियो । युनाइटेडले मर्जरभन्दा पनि प्राप्तितर्फ ध्यान दिने र कुनै कम्पनीलाई प्राप्ति गरेमा अझ कम्पनीको बजार हिस्सा बढ्ने उनले बताएकी थिइन् । तर, कार्यकाल पूर्ण हुन नपाई कम्पनीबाट बाहिरिएपछि पौडेलको त्यो इच्छाले पूर्णता पाउन सकेन ।

भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले बीमा क्षेत्रमा एक दशकभन्दा बढी अनुभव बटुलेकी सकेकी छिन् ।

करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी उनी अब पुनर्बीमा क्षेत्रमा प्रवेश गर्ने भएकी छन् । युनाईटेडबाट बाहिरिएपछि उनी हिमालयन रि इन्स्योरेन्समा जाँदैछिन् । बीमा क्षेत्रमा एक क्षमतावान सीईओको रुपमा आफ्नो प्रोफाइल बनाउन प्रयत्नरत पौडेलको कार्यक्षमता र कार्यकुशलताकै कारण हिमालयन रिले उनलाई आकर्षक तलब सुविधासहित डीसीईओका रुपमा नियुक्त गर्न लागिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.