२०७९ साउन २५ गते १५:३३ सन्तोष रोकाया
काठमाडौं । कर्मचारीबाट बढी काम लिएर उच्च नाफा गर्ने चाहना जुनसुकै कम्पनी वा संस्थाको हुन्छ । जुन कम्पनीले कर्मचारीका लागि बढी सेवा सुविधा दिएर खर्च पनि बढी गर्छ, त्यो कम्पनीले नाफा पनि राम्रै कमाउन सक्छ । कम्पनीका कर्मचारीमा जति बढी उत्पादकत्व बढ्छ सो कम्पनीको नाफा पनि त्यति नै वृद्धि हुन्छ । त्यसका लागि कम्पनीले कर्मचारीका लागि कति खर्च गरेको छ भन्ने विषयमा पनि निर्भर हुन्छ ।
कम्पनीले जति बढी नाफा गर्छ सो कम्पनीले सेयरधनीलाई पनि लाभांश बढी नै प्रदान गर्छ । सेवा क्षेत्रका रूपमा लिइएको बैंकिङ क्षेत्रले पनि अहिले राम्रो नाफा गरिरहेका छन् । अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रले राम्रो नाफा गरिरहेको छ भने सेयरधनीलाई लाभांश पनि राम्रै दिँदै आइरहेका छन् ।
पछिल्लो समय धेरैले कम्पनीको क्षमता हेर्ने अर्को महत्वपूर्ण पक्षमा रुपमा धेरैले सो कम्पनीमा काम गर्ने कर्मचारीको उत्पादकत्वलाई पनि लिने गरेका छन् । कर्मचारी कुनै पनि कम्पनीको एक महत्वपूर्ण पुँजी हो । जुन संस्थाले कर्मचारीमा राम्रो खर्च गर्छ, उनको वृद्धि विकास तथा क्षमता अभिवृद्धिमा बढी ध्यान दिन्छ त्यसमा आवद्ध कर्मचारीको उत्पादकत्वमा पनि त्यतिकै निखारता आउँछ ।
आज हामीले २६ वटा वाणिज्य बैंकमा कार्यरत कर्मचारीको उत्पादकत्व कति छ भनेर यो सामग्री तयार गर्ने प्रयास गरेका छौं । बैंकले गरेको खुद नाफा र उनीहरुमाथि बैंकले गरेको खर्चलाई आधार मानेका छौं । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा उल्लेखित खुद नाफालाई सोही अवधिको कर्मचारी खर्चले भाग गरेर कर्मचारीको उत्पादकत्व निकालिएको हो ।
बैंकले प्रति कर्मचारीमा १ रुपैयाँ खर्च गर्दा कति आम्दानी गर्छ, अर्थात् सो कर्मचारीको उत्पादकत्व कति हुन्छ भन्ने विषय स्पष्ट पार्न खोजेका छौं । यद्यपि खुद नाफा र कर्मचारीको संख्यालाई आधार मानेर पनि उत्पादकत्व निकाल्न सकिन्छ ।
२६ वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकहरले कुल ७४ अर्ब ८० करोड १४ लाख रुपैयाँ खुद नाफा गरेका छन् भने २६ वटै बैंकहरुले कर्मचारीका लागि कुल ५७ अर्ब ७२ करोड २४ लाख रुपैयाँ खर्च गरेका छन् । यस आधारमा बैंकिङ क्षेत्रका कर्मचारीको उत्पादकत्व १.२९ रुपैयाँ देखिन्छ । बैंकहरुले कर्मचारीका लागि एक रुपैयाँ खर्च गर्दा उनीहरुले कुल एक रुपैयाँ २९ पैसा नाफा गरेको देखिन्छ ।
प्राइम र नेपाल इन्भेष्टमेन्टबीच प्रतिस्पर्धा
बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणलाई हेर्ने हो भने प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीबीच प्रतिस्पर्धा देखिएको छ । ती दुई बैंकका कर्मचारीबीच उत्पादकत्वमा प्रतिस्पर्धा देखिएको हो । सबैभन्दा बढी उत्पादकत्व भएका बैंकको रुपमा प्राइमका कर्मचारी देखिएका छन् । प्राइम बैंकले कर्मचारीलाई एक रुपैयाँ खर्च गर्दा सो बैंकका कर्मचरीले २ रुपैयाँ १५ पैसा नाफा गरेको देखिन्छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले पनि कर्मचराीलाई एक रुपैयाँ खर्च गर्दा २ रुपैयाँ ११ पैसा नाफा गरेको देखिन्छ । उत्पादकत्वमा दोस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी देखिएका छन् । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको सबैभन्दा बढी उत्पादकत्व थियो । तर, अहिले प्राइम कमर्सियल बैंकका कर्मचारीको उत्पादकत्व बढेको हो ।
गत आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्टका कर्मचारीको कुल उत्पादकत्व २ रुपैयाँ १५ पैसा र प्राइम कमर्सियल बैंकका कर्मचारीको उत्पादकत्व २ रुपैयाँ १३ पैसा थियो । पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको उत्पादकत्व घट्दै गइरहेको छ । विगतमा यस बैंकका कर्मचारीको उत्पादकत्व ५/६ रुपैयाँसम्म थियो । अर्थात् सो बैंकले कर्मचारीमा एक रुपैयाँ खर्च गर्दा कर्मचारीले ६ रुपैयाँसम्म नाफा गर्थे ।
१८ बैंकका कर्मचारीबीच टक्कर
पछिल्लो समय सबै बैंकका कर्मचारीको उत्पादकत्व बराबरी नै देखिएको छ । विगतका वर्षहरुमा बैंकहरुबीच भिन्न भिन्नै उत्पादकत्व हुने भएपनि अहिले भने समानता देखिएको छ । उत्पादकत्वमा १८ वटा बैंकबीच प्रतिस्पर्धा छ ।
उत्पादकत्वमा तेस्रो नम्बरमा नबिल बैंक, चौथोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, पाँचौंमा राष्ट्रिय वाणिज्य बैंक र छैठौंमा ग्लोबल आइएमई बैंकका कर्मचारीको उत्पादकत्व देखिएको छ । यी बैंकका .कर्मचारीहरुको उत्पादकत्व क्रमशः एक रुपैयाँ ८२ पैसा, एक रुपैयाँ ७९ पैसा, एक रुपैयाँ ५५ पैसा र एक रुपैयाँ ५२ रुपैयाँ छ ।
हिमालयन, एनएमबी, सानिमा, बैंक अफ काठमाण्डू, मेगा, नेपाल बैंक, एभरेष्ट, एनसीसी, सिटिजन्स, कुमारी सिद्धार्थ, सनराइज, माछापुच्छ्रे र सेञ्चुरी बैंकका कर्मचारीको उत्पादकत्व पनि १ रुपैयाँभन्दा बढी नै छ । यी बैंकहरुले कर्मचारीहरुका लागि एक रुपैयाँ खर्च गर्दा कर्मचारीहरुले एक रुपैयाँभन्दा बढी नै नाफा गरेको देखिएको छ । यी बैंकहरुका कर्मचारीको उत्पादकत्व न्यूनतम १ रुपैयाँ ७६ पैसादेखि १ रुपैयाँ ८२ पैसासम्म छ ।
आधा दर्जन बैंकको न्यून
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणका अनुसार आधा दर्जन बैंकका कर्मचारीहरुको उत्पादकत्व भने खर्चभन्दा पनि न्यून देखिएको छ । ती बैंकहरुले कर्मचारीलाई खर्च गरे पनि कर्मचारीको उत्पादकत्व खासै प्रभावकारी देखिएको छैन । यी आधा दर्जन बैंकहरुले आफ्नो कर्मचारीहरुका लागि एक रुपैयाँ खर्च गर्दा पनि सोभन्दा कम अर्थात् रुपैयाँ नभएर पैसा मात्रै नाफा गरेको तथ्यांकले देखाउँछ ।
सबैभन्दा कम उत्पादकत्व भएका कर्मचारी कृषि विकास बैंकका छन् । कृषि विकास बैंकले आफ्नो कर्मचारीको लागि एक रुपैयाँ खर्च गर्दा ८० पैसा मात्रै कर्मचारीले नाफा गर्छन् । जुन सरकारी स्वामित्व रहेको बैंक हो ।
यस्तै, लक्ष्मी बैंकका कर्मचारीको उत्पादकत्व पनि खासै बढी नभएको तथ्यांकले देखाउँछ । लक्ष्मी बैंकले कर्मचारीका लागि एक रुपैयाँ खर्च गर्दा सो बैंकका कर्मचारीले ८९ पैसा मात्रै नाफा गरेको देखिन्छ ।
नेपाल एसबिआई बैंकका कर्मचारीमा एक रुपैयाँ खर्च गर्दा ८९ पैसा, प्रभु बैंकका कर्मचारीले पनि ८९ पैसा र सिभिल बैंकका कर्मचारीले ९८ पैसा नाफा गर्छन् भने एनआइसी एशिया बैंकका कर्मचारीहरुको उत्पादकत्व पनि ९९ पैसा देखिएको छ । एनआइसी एशिया बैंकले पनि कर्मचारीमा १ रुपैयाँ खर्च गर्दा कर्मचारीले ९९ पैसा मात्रै नाफा गरेको तथ्यांकले देखाएको छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ अहिले नेपाली बैंकिङ क्षेत्रको कर्मचारीहरुको उत्पादकत्व सन्तोषजनक नै रहेको बताउँछन् । उनका अनुसार कर्मचारीको उत्पादकत्व बैंकले उनीहरुलाई गर्ने खर्च, क्षमता अभिवृद्धिका तालिम लगायतका विषयले फरक पार्छ ।
‘बैंकले के कस्तो आम्दानी गरेको छ, कति खर्च गरेको छ, उसको कति वटा कर्मचारी छन्, बैंक नाफामुलक क्षेत्र भएकोले नाफा बढी गरेर खर्च पनि बढायो भने सोही अनुसार हुन्छ, जब बैंकका कर्मचारी खुसी छन्, उनीहरुले काम गरेर राम्रो नतिजा पनि देखाउँछन्, बैंकहले तालिम क्षमता अभिवृपद्धिका विषयमा के कस्तो ध्यान दिइरहेको छ, यी सबै कुराले उत्पादकत्वमा प्रभाव पार्छ, अहिले नेपाली बैंकिङमा कर्मचारीको उत्पादकत्व सन्तोषजनक नै छ,’ उनले भने ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.