इन्भेष्टमेन्ट बैंकले कर्मचारीमा १ रुपैयाँ लगानी गरेर कमाउँछ २ रुपैयाँ १६ पैसा, कुन बैंकले कति ?

  २०७८ कार्तिक २३ गते १५:२७     सन्ताेष राेकाया

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले कर्मचारीलाई १ रुपैयाँ लगानी गर्दा उनीहरुले औसतमा १ रुपैयाँ २१ पैसा नाफा कमाइदिने गरेको देखिएको छ ।

अहिले संचालनमा रहेका २७ वटै वाणिज्य बैंकमा कार्यरत कर्मचारीको लागि बैंकहरुले गरेको लगानी र ती बैंकहरुले गरेको खुद नाफाको आधारमा १ रुपैयाँ लगानी गर्दा औसतमा १ रुपैयाँ २१ पैसा खुद नाफा भएको देखिएको छ ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका अनुसार कर्मचारीको उत्पादकत्व १ रुपैयाँ २१ रुपैयाँ देखिएको हो ।

बैंकहरुले सार्वजनिक गरेका पहिलो त्रैमासको वित्तीय विवरणका अनुसार २७ वटै वाणिज्य बैंकहरुको कुल नाफा १८ अर्ब १८ करोड ८४ लाख १८ हजार रुपैयाँ छ । पहिलो त्रैमासमा २७ वटै वाणिज्य बैंकहरुले कर्मचारीका लागि कुल १४ अर्ब ९४ करोड ६६ लाख ६७ हजार रुपैयाँ खर्च गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २७ वटै वाणिज्य बैंकहरुले कर्मचरीका लागि २ अर्ब ७४ करोड ९३ लाख ९८ हजार रुपैयाँ बढी खर्च गरेका छन् । जुन २२.५४ प्रतिशतले बढी हो ।

उपलब्ध तथ्यांकका अनुसार कर्मचारीको सबैभन्दा बढी उत्पादकत्व नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी देखिएको छन् । २७ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धरै उत्पादकत्व भएका कर्मचारी नेपाल इन्भेष्टमेन्ट बैंकसँग छन् ।

बैंकले आफ्ना कर्मचारीहका लागि १ रुपैंयाँ खर्च गरेर बैंकले २ रुपैयाँ १६ पैसा कमाउने गरेको छ । सो बैंकको खुद नाफा ९२ करोड ३७ लाख रुपैयाँ ९५ हजार रुपैयाँ रहेकोमा कर्मचारीमाथि कुल ४२ करोड ८१ लाख २८ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।

तथ्यांकले सबैभन्दा कम उत्पादकत्व भएका कर्मचारी भने कृषि विकास बैंकको देखाएको छ । जुन सरकारको पनि लगानी रहेको बैंक हो ।

कृषि विकास बैंकले आफ्ना कर्मचारीमाथि १ रुपैयाँ लगानी गर्दा ६० पैसा मात्रै कमाउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको कृषि विकास बैकले कर्मचारीका लागि ७९ करोड ९६ लाख रुपैयाँ खर्च गरेको छ ।

यद्यपि कर्मचारीमा सबैभन्दा बढी खर्च बढाउने बैंक भने नबिल बैंक बनेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा नबिल बैंकले कर्मचारी माथि ५३ प्रतिशतले खर्च बढाएको हो ।

नबिल बैंकले कर्मचारीमाथि कुल ८८ करोड १७ लाख ५ हजार रुपैयाँ खर्च गरेको छ । नबिल बैंकको प्रतिकर्मचारी आम्दानी १ रुपैयाँ २६ पैसा छ । अर्थात प्रतिकर्मचरी १ रुपैयाँ खर्च गर्दा नबिल बैंकले १ रुपैयाँ २६ पैसा खुद नाफा गरेको छ ।

यस्तै, नेपाल एसबीआई बैंकको खर्च भने ०.५१ प्रतिशतले घटेको छ । नेपाल एसविआई बैंकले १ रुपैयाँ खर्च गर्दा प्रतिकर्मचरी ९४ पैसा कमाउँछ ।

राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी खर्च गत आवको पहिलो त्रैमासको तुलनामा ०.९६ प्रतिशतले मात्र बढेको छ । सो बैंकको प्रतिकर्मचारी उत्पादकत्व भने १ रुपैयाँ ३६ पैसा देखिएको छ ।

कुमारी बैंकले पनि चालु आवको पहिलो त्रैमासमा कर्मचारीमाथि खर्च बढाएको छ । बैंकले कर्मचारीमाथि ४८.४१ प्रतिशतले खर्च बढाएर ६८ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ । तर, बैंकका कर्मचारीको उत्पादकत्व भने ७८ पैसा छ । बैंकले प्रतिकर्मचारी १ रुपैयाँ लगानी गर्दा ७८ पैसा खुद नाफा गरेको तथ्यांकले देखाएको छ ।

बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा उल्लेखित खुद नाफालाई सोही अवधिको कर्मचारी खर्चले भाग गरेर कर्मचारीको उत्पादकत्व निकालिएको हो । बैंकले प्रतिकर्मचारी १ रुपैयाँ खर्च गर्दा कति आम्दानी हुन्छ अर्थात सो कर्मचारीको उत्पादकत्व कति हुन्छ भन्ने विषय स्पष्ट पार्न खोजिएको हो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल नेपाली बैंकिङ क्षेत्रका कर्मचारीहरुको उत्पादकत्व राम्रै भएको बताउँछन् ।

‘बैंकहरुले विभिन्न विधिहरु प्रयोग गरेर कर्मचारीको उत्पादकत्व हेरिरहेका हुन्छन्, नगदमा काम गर्ने कर्मचारीले प्रत्येक दिन कसरी र कति कारोबार गरिरहेको छ, उसको लेभल के हुनु पर्छ भनेर हामीले हेरिरहेका हुन्छौं, यसरी उसको उत्पादकत्व के कति छ भन्ने थाहा हुन्छ, हामीले प्रत्येक कर्मचारीले के गर्यो भन्ने रेकर्ड नै राखेका हुन्छौं, माेनिटरिङबाट नै सबै थाहा पाउन सकिन्छ,’ उनले भने ।

पोखरेलका अनुसार बैंकले कर्मचारीमाथि गर्ने लगानीले पनि कर्मचारीको उत्पादकत्व बढ्नमा सहयोग गर्छ । अहिले बैंकहरुको सबैभन्दा बढी खर्च कर्मचारीमै हुने गरेको उनको भनाई छ ।

उनले कम्पनीले बढी नाफा गर्नुमा कर्मचारीको भूमीका महत्वपूर्ण हुने भएकोले अहिले बैंकहरुले पनि कर्मचारीको माथि गरिने खर्चलाई नै बढी प्राथमिकता दिन थालेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.