२०७९ असार १७ गते १४:१४ राजिव न्यौपाने
काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सीटीसी मल निर्माण हुँदादेखि अहिलेसम्म चर्चित छ । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको लगानीमा बनेको सीटीसी मल निर्माणधीन अवस्थामा पनि निकै चर्चामा आएको थियो । लाखमा पसल किन्दा कराेडकाे गाडी र आर्मी हेडक्वाटर सँगै हेलिप्याडसहितकाे गगनचुम्बी भवन ।
भवन बन्नुपुर्व तयार गरेकाे थ्रीड तस्वीर । पसल वा सटर स्पेशकाे मूल्य ४०/५० लाख । उपहार कराेड पर्ने गाडी । यसरी नै लाेभ्याइएकाे थियाे लगानीकर्तालाई । विज्ञपानले नै चर्चा बटुलेकाे थियाे बजारमा ।
त्यस्तै, आर्मी हेडक्वाटर नजिकै हेलिप्याडसहितकाे यति ठूलो भवन बनाउन नदिने भन्दै आर्मीले ठूलो विवाद गरे । तत्कालीन अवस्थामा सासंद समेत रहेका तामाङले पछि शक्ति केन्द्रमा कुरा मिलाएपछि विवादले शान्त रूप लियो ।
मल निर्माण भइसके लगत्तै २०७२ सालकाे भूकम्पले हल्लायाे । भवन चर्कियाे, वाल फुट्याे । वीम र पिलरमा समेत असर देखियाे । पसल वा कार्यालयकाे लागि ठाउँ किनेका लगानीकर्ता जाेखिममा परे ।
महानगरले पहेँलाे स्टीकर टाँसेकाे याे भवन पछि मर्मत भयाे । टालटुल भयाे, रङ्गराेगन भयाे । भवन पुरानाे अवस्थामा फर्कियाे तर लगानीकर्ताकाे मन फर्किएन । लामाे विवादपछि पुरानाले छाेडे, नयाँले लिए, बजार सामान्य रूपमा चल्न थाल्याे । बजारसँगै कर्पाेरेट कार्यालय पनि बने ।
तर, विडम्बना अहिले फेरि सीटीसी मलको स्वरुप मात्रै होइन, परिचय पनि फेरिएको छ ।
सीटीसी मल निर्माण गर्ने इच्छाराज तामाङ अहिले थुनामा छन् । सिभिल सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा उनी अहिले थुनामामै छन् । तामाङले सीटीसी मल धितोमा राखेर लिएको ऋण तिर्न नसकेपछि सीटीसी मल पनि लिलाममा छ ।
कर्मचारी सञ्चय कोषले सीटीसी मलभित्रका १३० पसललाई लिलाममा राखेको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका व्यवसायीले व्यापार छोड्दा र सीटीसी मल नै लिलाममा परेपछि मल नै अहिले भद्रगोल अवस्थामा परिणत भएको हो । साना लगानीकर्ताले दाेस्राे मार खाँदैछन् ।
केही वर्षअघि मात्रै सपिङ गर्ने भन्दै सीटीसी मल छिर्नेहरूको घुइँचो हुन्थ्यो । दैनिक मलमा कारोडौंको व्यापार हुन्थ्यो । तर, अहिले सिभिल बैंकका केही कर्मचारी र गाडी पार्किङ गर्ने बाहेक मासिनको आवतजावत मलमा देखिँदैन ।
सो मलमा व्यापार गर्ने व्यापारी पनि मल भित्र व्यापार हुन छाडेको गुनासो गर्छन् । ‘महल भित्र नपाउने केही सामान छैन, अध्यक्ष तामाङ पक्राउ परेपछि धेरैले सटर छोडेर हिँडे, अहिले त व्यापार नै हुन्न, हाम्राे काम पसल खाेल्ने र बन्द गर्ने मात्रै भएकाे छ, ’ एक व्यापारीले भने ।
ती व्यापारीका अनुसार अहिले सीटीसी मल ‘भूत बंगला’का नामले परिचित छ । सीटीसी मल भित्रका अधिकांश पसल बन्द भएपछि अधिकांशले भूत बंगला भनेर मलको नाम राखेका छन् ।
‘मान्छे आउनै छोडे, सबै सटर बन्द नै छन्, कतिपय वेरारिसे अवस्थामा छन्, खुला भएका सटरमा पनि व्यापारी बाहेक कोही छैनन्, अहिले हामीले पनि सीटीसी मललाई भूत बंगला नाम राखेका छौं,’ ती व्यापारीले हाँस्दै भने ।
सीटीसी मलको भुईँ तलामा कपडा, सुनचाँदी र कफिसप छ । त्यसको माथिल्लो सिभिल बैंक, दुई/तीन वटा कर्पोरेट अफिस, मोबाइल, ब्युटी पार्लर र बीमाको कार्यालय छ भने पाँचाैं तलामा बैंक तथा वित्तीय परिसंघ सिविफिनको अफिस छ । पहिलो र दोस्रो तलाका केही कोठाहरूमा सञ्चालक र व्यवस्थापन टिम बस्थ्यो । तामाङ पक्राउ परेपछि ती सबै कोठाहरू बन्द छन् ।
ग्राहकहरू सपिङका लागि गएपनि एकछिन भित्र पसेर फर्किने गरेको व्यापारीहरु बताउँछन् । मलभित्र धेरै जसो कर्पोरेट कार्यालयहरु भएका कारण उनीहरूको समय अनुकूल खोल्ने भएकाले बन्द जस्तो मात्र देखिएको व्यवस्थापन समूह बताउँछ ।
मलकै ६ र ७ तलामा केही समय अगाडिसम्म जिम खाना सञ्चालनमा थियो । कोभिडअघिसम्म राम्रोसँग पनि सञ्चालन भइरहेको थियो । मल भित्र जिम खाना चल्न छाडेको र भाडा नै तिर्न नसक्ने अवस्था भएपछि अहिले बन्द गरेर गएको व्यवस्थापन समूहका एक जनाले बताए ।
‘५० युनिट १ सय स्क्वायर फिट भएका सटरहरू अहिले बन्द छन्, ३ वटा तला सिभिल ग्रुपले अर्कै संस्थालाई बेचेको छ, ती सबै सञ्चालन नै छन् तर, सिभिल ग्रुप अन्तर्गतको बन्द छन्, व्यवस्थापन समूहका एक कर्मचारीले भने ।
मल भित्रको सिनेमा हल पनि हाल बन्द अवस्थामा छ । उक्त हलको पुनः निर्माण गर्नको लागि बन्द गरिएकाे र पुनर्निर्माण पश्चात् सो हल सञ्चालनमा आउने पनि बताइएको छ ।
व्यवस्थापन समूहका अनुसार सीटीसी मल भित्रको भाडा असुल गर्न पनि समस्या नै भइरहेको छ । व्यापारीहरुले व्यापार नभएको भन्दै भाडा दिन नमानेको व्यवस्थापनको भनाइ छ ।
व्यवस्थापनका एक कर्मचारीका अनुसार यसअघि ७० लाख रुपैयाँ भाडा उठ्दै आएकोमा अहिले त्यसको आधा उठ्न पनि मुस्किल छ ।
‘पहिला सिभिल ग्रुप अन्तर्गतको पसलहरुमार्फत् ७० लाख रुपैयाँसम्म भाडा उठ्थ्यो, तर अहिले ४० लाख पनि उठिरहेको छैन, व्यापारीहरुले धमाधम पसल छोडिरहेका छन्, बाँकी रहेकाहरु पनि उनीहरुको सम्झौता अनुसार बस्नु पर्ने भएको कारणले बसिहरेका छन्, अहिले ब्यापार नै हुन छोडेको उनीहरुको गुनासो छ,’ ती कर्मचारीले भने ।
ब्यापारीले भाडा तिर्न नसकेको गुनासो गरेपछि २५ हजार रुपैयाँबाट १५ हजार मात्रै दिन भनेको पनि ती कर्मचारीको भनाइ छ ।
सम्बन्धित सामाग्री
ग्राहकले सपिङ मलमा किनमेल गर्नै छोडे, व्यापारीलाई भाडा तिर्नै मुस्किल, संकटमा अर्बौंको लगानी
Copyright © 2023 Bikash Media Pvt. Ltd.
पत्रुकरले बिहानै ४-५ बजे फोटो खिचेछ ! म पनि CTC Mall कै ब्यापारी हो !! पसल खुल्न्ने समय ११ बजे पछि हो .. याद रहोस !!! पसलहरु केहि कमि चाहि हो तर भुत बङला चाहि हैन !! पत्रुकारले येसो मलबाट खर्च पाएनछ!! म मदन बडाल ९८४९१५०१२७
पत्रकारलाई खर्च पुगेन कि क्य हो !! म नि CTC को ब्यापारी हो ( पसल १२२) ! म सङ भेट्न् आए हुन्छ ! कोरोना पछि ब्यापार कम हो तर भुतबङला होइन !!पत्रकार नेउपानेलाई हेक्का होस !!
ए सिकारु पात्रकार ज्यु !! मेरो पसल न : १०१ मा आउनुस न जे पयो तेहि लेख्न पाइन्छ !! मर्यादामा रहेर मात्र लेख्नुहोस है !! सिकारु पत्रकारलाई जानकारि जति पनि मोबाईल फोनहरु छन तीन का service center हरु तेहि CTC Mall मा नै छ !!
म नि CTC Mall कै ब्यापारी हो पसल ६०१ थुक्क तपाईंको पत्रकारिता / जे पयो तेहि लेख्ने / मर्यादामा रहेर लेख्ने गर्नुहोस //
म पनि बिशेष काम ले हप्ताको ३ दिन सि.टि.सि मल पुगेको हुन्छु पसल बैंक सिनेमा हल इन्स्योरेन्स अफिस माेबाईल सर्विस सेन्टर सबै खुलेको छ त? यसरी खुलेको महल लाई भुत बङ्गला भनेर हावा समाचार सम्प्रेषण गर्नु पत्रकार काे धर्म हैन। काेभिड र हाल काे आर्थिक मन्दी को कारणले जुनसुकै महल मा मान्छे को किनमेल आवत जावत मा कमी चै पक्कै हो
चलिरहेको सि.टि.सि मल लाई भुत बङ्ग्ला भनेर गलत समाचार सम्प्रेषण गरेर न्यूज बनाउनु आफै मा लाजमर्दो कुरो।