२०७९ असार १४ गते १०:०२ राजिव न्यौपाने
काठमाडौं । केही समयअघि धेरैको रोजाइमा सपिङ मलको सामान पर्थ्यो । सफा, सुन्दर र चिटिक्क परेका सपिङ मलमा किनमेल गर्नेको भीड लाग्थ्यो । सामान नपाए पनि फोटो खिचाउनैका लागि भएपनि मानिसहरु सपिङ मल जान रुचाउँथे ।
हरेक सामान एउटै ठाउँमा पाइने भएपछि सपिङ मल रोजाइमा पर्नु पनि स्वभाविक हो । मल भित्र न्यून आयस्तरदेखि उच्च आयस्तरका मानिसहरु पुग्छन् । मानिहरुको भीड लाग्ने भएपछि केही वर्ष अगाडि काठमाडौंका ठाउँ-ठाउँमा सपिङ मल खुले ।
तर, एक/दुई वर्ष यता भने सपिङ मलको व्यापार व्यवसाय भने ठप्प प्रायः छ । किनमेल गर्न जाने ग्राहकहरुको संख्या घटेपछि अहिले सपिङ मलका व्यापारीको दैनिकी बिहान सटर खोल्ने र साँझ बन्द गर्नुमै सीमित भएको छ । धेरै ब्यापारीहरु ब्यापार बन्द गरेर पलायन भइसकेका छन् ।
पछिल्लो समय व्यापार कम हुँदै जाँदा केही व्यपारीहरु भाडा तिर्न समेत मुस्किल परेको बताउँदै सपिङ मलको ब्यापार छोडेका छन् । काठमाडौंको सुन्धारामा रहेको काठमाडौं मल बाहिरबाट हेर्याे भने निकै पुरानो भइसकेको देखिन्छ । भित्रपनि लथालिङ्ग अवस्थामा छ ।
मलमा मानिसहरु फाट्टफुट्ट देखिन्छन् । तर, मलमा सामान किन्नेभन्दा व्यापार गर्ने नै बढी । विगत चार वर्षदेखि काठमाडौं मलमा व्यापार गर्दै आएका विशाल श्रेष्ठ पछिल्लो समय व्यापार ठप्प नै रहेको बताउँछन् ।
‘पसल खोल्ने समयमा कपडा बेच्न भ्याइनभ्याई हुन्थ्यो, व्यापार राम्रो हुँदा आम्दानी पनि राम्रो गरियो तर, अहिले ठप्प छ, ग्राहक नै आउँदैनन्,’ उनले निराश हुँदै भने ।
बिशालले पसल खोलेको दुई वर्षपछि कोरोनाको संक्रमण सुरु भयो । कोरोना सुरु भएदेखि नै कम हुन थालेको उनी बताउँछन् ।
‘यो भवन पुरानो पनि भयो, भित्र हेर्याे लथालिङ्ग अवस्थामा छ, सञ्चालक टिमले भाडा मात्रै माग्छ, पसल सञ्चालन गर्न सकेनौं, व्यवस्थित गरिदिनु पर्याे भन्छौं, छोडेर जाऔ भन्छन्,’ उनले गुनासो गरे ।
श्रेष्ठका अनुसार कोभिड-१९ अगाडि उनको दैनिक २०/२५ हजार रुपैयाँ बराबरको ब्यापार हुन्थ्यो । तर, अहिले ४/५ हजार रुपैयाँको कारोबार गर्न उनलाई मुस्किल पर्छ । काठमाडौं मलमै श्रेष्ठले लामो सटर लिएर पसल सञ्चालन गरेको थिए । व्यापार नै हुन छाडेपछि त्यो सटरलाई नै ४ वटा सटर बनाइ श्रेष्ठले एउटा सटर लिएर बसेका छन् ।
श्रेष्ठले मासिक ४८ हजार रुपैयाँ भाडा तिर्दै आएका छन् । तर, व्यपार नै नभएपछि घरबाट पैसा ल्याएर भाडा तिर्नु परेको उनी बताउँछन् ।
‘महलमा सामान महँगो भएर हैन, सामानको गुणस्तर अनुसारको मूल्य पर्न जान्छ, ग्राहक नै आउँदैनन्, अहिले त मल भित्रका धेरै जसो सटरहरू खालि छन्, केही नपाउने भएपछि मल किन आउँछन् र मान्छे,’ उनले भने ।
महल सञ्चालनमा आएदेखि नै श्रेष्ठ कर्मचारीको रूपमा कार्यरत थिए । १५ वर्ष कर्मचारीका रूपमा काम गरेका श्रेष्ठ मल भित्र खाजा खान पाउने फुर्सद नभएको बताउँछन् । अहिले दिनभर फोन चलाउने, टिकटक हर्ने भन्दा काम नभएको उनी बताउँछन् ।
काठमाडौं मलमै विगत ४ वर्षदेखि कपडाको व्यापार गर्दै आएका राम कुमार पनि पहिलेको तुलनामा अहिले धेरै व्यापार घटेको बताउँछन् ।
‘पहिलाको तुलनामा ग्राहको संख्या पनि कमि आएको छ, चुनाव अगाडि राम्रो नै थियो, चुनावको केही दिनपछि पनि व्यपार राम्रो नै थियो, अहिले व्यपार ठप्प जस्तै छ,’ उनले भने ।
उनले अहिले धेरैले अनलाइन व्यापार गरेकोले पनि मानिसहरु मलमा सामान किनमेल गर्न आएका छैनन् । ‘अनलाइन र हाम्रो सामानको मिल्दैन, कतिपय अनलाइन फसेको सामानहरू खोज्दै आउँछन्, अनलाइन किन्नु भन्दा बजारमा नै गएर किने राम्रो हुन्छ,’ उनले भने ।
यस्तै, १ सय ५० वटा विभिन्नपसल रहेको सिभिल मलको ब्यापार पनि काठमाडौं मलकै जस्तो छ । सिभिल मलबाट महिनाको भाडा मात्रै झण्डै १ करोड रुपैयाँ उठ्छ । हेर्दा मलमा मान्छेको चाप बाक्लै छ । तर, मान्छेको चाप भए पनि व्यापार चाहिँ घटेको मलका व्यपारीहरु बताउँछन् ।
सिभिल मलमा ब्यापार गदै आएका शम्भु कुमार गुरुङ पनि अहिले ब्यापार धेरै खस्केको गुनासो गर्छन् । ‘अनलाइनको कारणले पनि व्यापार घटेको छ, मानिसहरुले चाहिएका चिज अनलाइनमै हेर्छन्, चाहियो भने त्यहीबाट किन्छन्, मल घुम्न आउने भनेको फुर्सदको समयमा हो, त्यसैले पनि मानिसहरु मलमा आउन छोडेको हुन सक्छन्,’ उनले भने ।
गुरुङका अनुसार सो पसलबाट पहिला दिनकै ४/५ लाख रुपैयाँको कारोबार हुन्थ्यो अहिले त्यसको ५० प्रतिशत पनि कारोबार हुँदैन ।
यस्तै, सिभिल मलमै कपडा व्यापार गर्दै आएका राकेश मानन्धर पनि व्यापार ठप्प भएको बताउँछन् । उनले १० वर्षको अनुभवमा पहिलो पटक यस्तो कम ब्यापार भएको सुनाए ।
‘पहिले दिनकै २ लाखको कारोबार हुन्थ्यो, अहिले ४० हजारको पनि कारोबार हुँदैन,मान्छे आउँछन्, सामान किन्दैनन्,’ उनले भने ।
यस्तै, सीटीसी मल पनि खालि नै छ । अहिले सीटीसी मलमा सिभिल बैंकका कर्मचारी र ग्राहकको मात्रै आवागमन हुन्छ । सो मलमा सीभील बैंक, केही मोबाइल पसलहरू छन् । ग्राहक नआएको भन्दै धेरैले व्यापार नै बन्द गरेका छन् । सपिङ मलमा अर्बौंको लगानी छ । मानिसहरु किनमेल गर्न नै जान छोडेपछि अर्बौंको लगानी संकटमा छ । व्यापारीहरुले दिनप्रतिदिन व्यापार छोडिरहेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.
एह पत्रकार दाजु,काठमाडौ मल बनिसक्यो नि,ऐले भित्र बाहिर रिनोभेसन भैराखेको छ,अब छिट्टै नया अवतार देख्नु हुनेछ मल को,,यो कुरा चाहि अलि हाइलाइट गरेर लेख्नु न,ब्यापार नभको बेला मा झन सपिङ्ग मल मा किन्न छाडे ग्राहक ले भनेर शिर्षक राखेर हामि लाई खुशि देको कि दुख????शिर्षक राख्दा तेस्ले गर्ने असर हरु पनि ख्याल गर्नु भये पत्रकारिता अझ परिश्कृत हुन्थ्यो कि हजुर!!!