दोहोरो अंकले घटेको बजारमा एचआईडीसीएल तीन शीर्षकमा अग्रस्थानमा

  २०७८ माघ १७ गते १५:३५     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सय अंकभन्दा बढीले बढेको बजार सोमबार भने १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ६ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार ५ अर्ब १५ करोड रुपैयाँमा सीमित छ । सोमबार २२५ कम्पनीको १ करोड १ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् ।

परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) भने विभिन्न तीन शीर्षकमा अग्रस्थानमा देखिएको छ । एचआईडीसीएल टप ट्रनओभर, टप भोल्युम, टप ट्रान्जेक्सनमा अन्य कम्पनीभन्द अग्रस्थानमा रहेको छ ।

कम्पनीको एकैदिन ५७ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कूल ७ हजार ६२० पटकमा कम्पनीको १६ लाख ३६ हजार ७८३ कित्ता सेयर खरिद बिक्री भएको हो । जुन अन्य कम्पनीको तुलनामा बढी हो ।

त्यस्तै, तीन शीर्षकमा अग्रस्थानमा रहेको कम्पनी टप गेनरमा पनि शीर्ष पाँचौं स्थानमा पर्न सफल भएको छ । कम्पनीको सेयर मूल्य ७.३७ प्रतिशतले बढेर प्रतिकित्ता ३५७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २४.५० रुपैयाँ हो ।

एचआइडिसिएलले पायाे वित्तीय संस्थाको मान्यता

कम्पनीले नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाको मान्यता पाएसँगै लगानीकर्ता कम्पनीको सेयरमा झुम्मिएका हुन् । र, कारोबारसँगै सेयर मूल्य पनि बढ्न पुगेको हो ।

बजारमा तीन कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । फर्वार्ड लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, यी कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता २३८७, १६१९ र ६१६ रुपैयाँ पुगेको छ ।

सोमबार इन्भेन्टमेन्ट, लघुवित्त र अन्य समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.