घट्दो सेयर बजारप्रति सरकार अनुदार, लगानीकर्ता भन्छन् : बेवास्ता भयो

  २०८१ जेठ १ गते १९:३५     विकासन्युज

काठमाडौं । सेयर बजार सुधारमा सरकार अनुदार देखिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमा सरकारले सेयर बजारको सुधारका लागि कुनै कार्यक्रम सार्वजनिक नगर्दा बजारप्रति अनुदार देखिएको लगानीकर्ताको बुझाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले आउँदो आर्थिक वर्षमा पूँजी बजारको विकासको लागि विशेष जोड दिने बताए पनि कुनै पनि कार्यक्रम सार्वजनिक नगर्दा यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको बुझाइ लगानीकर्ताले राखेका छन् ।

सेयर बजार विगत तीन वर्षदेखि निरन्तरर ओरालो यात्रामा छ । अहिलेको नीति तथा कार्यक्रमले थोरै भए पनि पूँजी बजारमा नीतिगत सुधारका योजनाहरु सार्वजनिक हुन सक्ने अपेक्षा लगानीकर्ताको थियो । तर, नीति तथा कार्यक्रममा पुँजीबजारमा देखिएका समस्या समाधान गर्ने कुनै पनि कार्यक्रम सार्वजनिक भएनन् ।

पूँजी बजार अहिलेको अर्थतन्त्र सुधारको आधार भए पनि सरकारले वेवास्ता गरेको टिप्पणी राखेका छन् ।

‘पूँजी बजार अर्थतन्त्रको एक महत्वपूर्ण आधार हो, ’ लगानीकर्ता छोटेलाल रौनियारले भने, ‘हामीले पूँजी बजारमा धेरै ठूलो कुरा गर्नुस् भनेका छैनौं, नीति राम्रो बनाइदिए सेयर बजार आफैं सुधार हुँदै जान्छ ।’

नीति तथा कार्यक्रम भन्दा बजेट महत्वपूर्ण रहेको बताउँदै बजेटमा पूँजी बजारलाई सरकारले प्राथमिकतामा राख्नेमा आफूहरु आशावादी रहेको धारणा उनको छ । यद्यपि सरकार काम गर्न चाहेर पनि अलमलिएको उनको भनाइ छ ।

लगानीकर्ता राधा पोखरेल पनि सरकारको नीति तथा कार्यक्रमलाई हेर्दा पूँजी बजारलाई वेवास्ता गरेको प्रष्टै देखिने बताउँछिन् । ‘पूँजी बजार सरकारको प्राथमिकतामा पर्न नसकेकै हो,’ उनी भन्छिन्, ‘सुझावहरू क्रमशः कार्यान्वयन गरिनेछ भनिएको छ । तर, पूर्ण रुपमा भर पर्ने अवस्था छैन ।’

विगतमा दिएका सुझावहरू हालसम्म कार्यान्वयन नभएको बताउँदै यसपटकका सुझावहरू पनि कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त नभएको उनको भनाइ छ ।

लगानीकर्ता राजन लम्साल भने बजेटमा सेयर बजार सुधार हुने नीति आउन सक्ने तर्क गर्छन् । पूँजीबजार विश्लेषक मुक्ति अर्याल पनि बजेटले सेयर बजारको सुधार गर्ने नीति ल्याउनेमा आशावादी छन् ।