ब्लगः सेवोनको अबको अध्यक्ष भिष्म ढुंगाना कि रेवत कार्की ?

  २०७८ असोज १३ गते १०:५८     प्रभातजी

केही दिनअघि राति मोबाइलमा फेसबुक म्यासेन्जर चलाउँदै थिएँ । सानी छोरीले नजिकै आएर सोधी– सेयर भरिस्या हो बाबा ? पाँच वर्षको छोरीको प्रश्न सुनेर छक्क परें ।

तर, छोरीको प्रश्नले छक्क पर्नुपर्ने खास कारण भने थिएन । किनभने घरमा कसको आईपीओ खुल्यो, भरेको कि नभरेको, सेयर पर्यो कि परेन भन्ने जस्ता विषयमा चर्चा भइरहेको हुन्छ । छोरीले त्यही कुरा सुनेकी थिई, त्यसैले सेयर भरिस्या हो बाबा भनेर प्रश्न गरी । यो अनौठो कुरा नै भएन ।

छोरीको यो प्रश्नपछि नेपालको पुँजी बजार सम्झें । नियामक निकाय सेवोनको अध्यक्ष अहिले निलम्बनमा छन् । अध्यक्ष भिष्म ढुंगानालाई पनि छोरी र सेयर जोडिएको विषयको अभियोग लगाइएको छ । अध्यक्ष ढुंगानाले छोरीको नाममा नियम विपरित सर्वाेत्तम सिमेन्टको सेयर किनिदिए रे !

भलै, ढुंगानाको छोरी मेरो जस्तै सानी छैनन् । विहे गरिसकेकी छोरी हुन्, श्रीमानसँगै अमेरिकामा बस्छिन् । छोरीको विहे गर्नको लागि अध्यक्ष ढुंगाना केही महिना अघि अमेरिका नै गएका थिए ।

छोड्दिनुस् मेरी छोरी र भिष्म ढुंगानाकी छोरीको कुरा ।

सरकारले सेवोन अध्यक्ष ढुंगानालाई हटाउने नै भएको छ । हटाउने प्रक्रिया पूरा गर्न छानविन समिति बनाइएको छ । समितिले प्रतिवेदन दिइसकेको छ । कारबाही गर्नु भन्ने सिफारिस समितिको छ । हटाउनको लागि सरकारले उनीसँग स्पष्टिकरण सोधिसकेको छ । अब हटाइन्छ नै ।

ढुंगानालाई हटाएपछि कसलाई अध्यक्ष बनाइएला ? यो प्रश्न भने धेरैको मनमा छ ।

सेवोन अध्यक्ष बन्नको लागि जो पायो त्यही व्यक्तिले दाबी गर्दैन । किनभने अध्यक्ष बन्ने योग्यता पनि पुग्ने र १० करोड रुपैयाँको जोहो गर्न सक्ने व्यक्ति निकै कम छन् । अरु कसैले लगानी गरिदिने हो भने पनि लगानीकर्ताले लाए अह्राएको काम ढंग पुर्याएर गर्न जान्ने व्यक्ति चाहियो । आफैले लगानी गर्ने हो भने लगानी गरिएको १० करोड रुपैयाँ प्रतिफल सहित पुँजी फिर्ता गर्न सक्ने आँट र परिस्थिति हुनुपर्यो ।

सेवोन अध्यक्ष बन्नको लागि बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईं दाम्लो चुडाएर हिडेका छन् भन्ने बजार हल्ला छ । चापागाईं अध्यक्ष बने भने उनले गर्नुपर्ने मुख्य दुईटा काम हुन् । एउटा, अर्काे स्टक एक्सचेन्जको लाइसेन्स दिने, अर्काे, टीएमएस संचालन गर्ने कम्पनी वाईकोको स्वामित्व परिवर्तनमा सहजीकरण गरिदिने । सम्भवतः यी दुबै काममा चापागाईं सफल हुनेछन् । सर्वाेत्तम सिमेन्ट जस्ता प्रकरण थप्ने र कमोडिटी एक्सचेन्जको लाइसेन्स दिने जस्ता फुटकर काम भने उनले गर्न नसक्ने भन्ने प्रश्नै रहेन ।

अलिकति सिरियस कुरा पनि गरौं न त ।

नेपालको पुँजी बजार क्षेत्रको सुधार र आधुनिकीकरणको नेतृत्व गरेका व्यक्तिहरुमा ३ जनाको मात्रै नाम आउँछ । धितोपत्र कारोबार ऐन तथा नियमावलीहरुको मस्यौदा तयार पारेका सेवोन पूर्व अध्यक्ष दिपकराज काफ्ले, ती मस्यौदा पारित गरेर कार्यान्वयनमा लान सकेका पूर्व अध्यक्ष डा. चिरन्जीवी नेपाल र समग्र बजारको आधुनिकीकरणको नेतृत्व गरेका डा. रेवत कार्की । सेवोनको अध्यक्ष बनेर अरु केही व्यक्तिहरुले पनि जागिर भने खाएका थिए ।

डा. कार्कीले के के काम गरे भन्ने तपाईंलाई सम्झाना छ ? छैन भने म सम्झाउँछु ।

पहिला सेयर किनबेच गर्नको लागि टुकुचामा रहेको नेप्सेको कार्यालयमा गएर यति मूल्य दिन्छु, लिन्छु भनेर चिच्याउनु पथ्र्याे । नेप्सेको हाकिम बनेका बेलामा डा. कार्कीले यो चिच्याउनु पर्ने परिपाटी अन्त्य गर्दै २०६३ सालदेखि सेयर खरिद विक्रीलाई सेमी अटोमेसनमा लगे ।

पछि कार्की सेवोन अध्यक्ष भए । उनी अध्यक्ष भएकै बेलामा २०७२ सालमा सीडीएससीले सेयरलाई डिजिटलाइजेसन गर्न डीम्याट सुरु गर्यो । डीम्याट आएपछि २०७५ सालतिर सीआश्वा आयो । सीआश्वाले आईपीओ भर्न लाइन लाग्ने युगको अन्त्य गरिदियो । त्यसपछि आईपीओ भर्ने सबैलाई सेयर दिनुपर्ने भन्ने नीतिगत व्यवस्था डा. कार्कीले ल्याए । उनले कम्तिमा १० कित्ता भएपनि सेयर देउ भने । यो व्यवस्थालाई आज पनि १० कित्ते नीति भनिन्छ । पछिल्लो समय त सेयर कारोबार अनलाइन माध्यमबाट हुने भएको छ । डा. कार्कीको सोचकै कारणले टुकुचामा गएर चिच्याउनु पर्ने सेयर कारोबार अहिले ट्वाइलेटको कमोडबाट गर्न सकिने भएको छ ।

आज ५ वर्षकी मेरी सानी छोरीले सेयर भरिस्या हो बाबा भनेर प्रश्न गर्ने अवस्था डा. कार्कीले नै बनाएका हुन् । आज ‘४३ लाख लगानीकर्ता’ भनेर सेयर बजारका ठेकेदारहरु हल्ला गरिरहेका हुन्छन् । यी ‘४३ लाख लगानीकर्ता’ डा. कार्कीको त्यही १० कित्ते नीतिले जन्माएको हो ।

अब सेवोन अध्यक्ष भएर आउने व्यक्तिले यस्तै कुनै नयाँ र दीर्घकालिन रुपमा राम्रो हुने कुनै काम गर्ला त ?

अहिले सबैलाई सेयर किन्नुपर्छ भन्ने दिव्यज्ञान प्राप्त भएको छ । सेयर किनेपछि मालामाल भइन्छ भन्ने अर्काे भ्रम सत्य बनिरहेको छ । सेयर भर्न पाइन्छ, किन्न पाइन्छ, बेच्न पाइन्छ । अब सेयर भनेको के हो ? यसबाट फाइदा मात्रै हुने हो कि सबै लगानी नै डुब्न पनि सक्छ भन्ने जस्ता शिक्षा दिन आवश्यक छ । यो काम सेवोनका नयाँ अध्यक्षले गर्नुपर्ने होला ।

यस्तै, नेपालको सेयर बजारमा ९० प्रतिशत कारोबारी छन् । नेगेटिभ नेटवर्थ भएका र ५–७ वर्षसम्म लाभांश दिनै नसक्ने कम्पनीको सेयर पनि हजारदेखि १२ सय हालेर किनिरहेका छन् । कारोबारीको कामै यस्तै हो, गरिरहुन् । बजारमा लगानीकर्ताको अभाव छ । कारोबारीलाई लगानीकर्ताको रुपमा परिणत गराएर लगानीकर्ता तयार पार्ने जिम्मेवारी पनि सेवोनको काँधमा छ ।

अहिले सेयर किनेको व्यक्तिले ब्रोकरलाई पैसा दिएन भने उसलाई समाउने कुनै कानुन नै छैन । अहिलेको कानुनले सेयर किन्ने व्यक्तिले ब्रोकरलाई पैसा दिएन भने के गर्ने भन्ने परिकल्पना नै गरेको छैन । ब्रोकरहरुलाई अहिलेसम्म श्री पशुपतिनाथले जोगाइरहेका छन्, सधै नजोगाउन सक्छन् । अनलाइन कारोबारमा प्रयोग गरिने फङ्सन पनि कानुनले चिन्दैन । मार्जिन कर्जा दिनको लागि प्रभावकारी ऐन नै आवश्यक भएपनि एउटा सामान्य निर्देशिककाबाट चलाउन खोजिएका छ । यस्ता विषयमा पनि काम गर्नुपर्ने छ ।

तर, सेवोनको अध्यक्ष भएर जाने व्यक्तिले यस्तो काम गर्छ भनेर आशा गर्नु बेकार हुन्छ । किनभने १० करोड रुपैयाँमा किनेको पद उसले आफ्नो मर्जी अनुसार प्रयोग वा उपयोग गर्न पाउनु पर्छ । त्यसैले सेवोनमा अब रेवत कार्की आउने कम र भिष्म ढुंगाना आउने सम्भावना बढी छ ।

प्रभातजीका थप ब्लग

सामाजिक संजाल हेरेर सेयर किन्नेहरुका नाममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.