‘व्यापारले हात्ती पाल्छ, जागिरले श्रीमती पनि पाल्न सकिदैन’

  २०७७ चैत ३१ गते १३:५८     सन्ताेष राेकाया

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल पक्कापक्की भइसकेका थिए । उनीसहित चेम्बरको नयाँ कार्यसमितिको नाम सार्वजनिक गर्न मात्रै बाँकी थियो । चेम्बर नयाँ कार्यसमितिको नाम सार्वजनिक गर्न ७० औं वार्षिक साधारणसभाको पखाईमा थियो । हामीले नवनियुक्त अध्यक्ष मल्ललाई त्यसको दुई दिन अगाडि चेम्बरकै बैठक कक्षमा भेट्यौं ।

बैठक कक्षमा अन्य सोफा सेटसहित दुई आकर्षक सेतो रङको सोफा पनि थिए । ती दुई सोफा एउटा अध्यक्ष र अर्को वरिष्ठ उपाध्यक्षको थियो । हामीले वरिष्ठ उपाध्यक्ष मल्ललाई फोटो खिचाउन अध्यक्षको सोफामा बस्न आग्रह गर्यौं । तर, आफुले अध्यक्षको पद बहाली नगरेको भन्दै उनले अध्यक्षको कुर्सीमा बस्न मानेन्न र हामीलाई कुराकानीका लागि चेम्बरकै सभाहलमा लिएर गए ।

चैत २६ गते भएको चेम्बरको ७०औं वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् । झट्ट हेर्दा सालिन, भद्र र सरल देखिने राजेन्द्र मल्ल स्वभावमा पनि त्यतिकै भद्र र सालिन छन् । नेपालकै सबैभन्दा पुरानो र ७० वर्ष पुगेको संस्था नेपाल चेम्बर कमर्सको जिम्मेवारी अहिले उनै राजेन्द्र मल्लको काँधमा आइपुगेको छ । चेम्बरको अबको नेतृत्व मल्लले नै सम्हाल्नेछन् ।

नेपालको सबैभन्दा पुरानो संस्थाको नेतृत्व लिँदै गर्दा कस्तो अनुभुति भइरहेको छ ? कुराकानीको सुरुवात हामीले यही प्रश्नबाट गर्यौं ।

मुहारमा जिम्मेवारी बोधको झल्को दिँदै उनले उत्तर फर्काए– नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मैले वि.स २०६२ सालबाट प्रवेश गरेँ । पहिलो पटक सदस्य, कोषाध्यक्ष त्यसपछि दित्तिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा निर्विरोध निर्वाचित भएको छु । मेरो यो सफलता र यहाँसम्म आइपुग्नुको हात सबै व्यवसायी साथीहरुको नै हो,’ उनले फेरि थपे, ‘मुलुकको उत्थान र विकासका लागि यो संस्थामार्फत हुन सक्ने काम निडर र निस्वार्थका साथ गर्नेछु ।’

वि.स २०२० सालमा काठमाडौंको साँखुमा जन्मेका राजेन्द्र मल्ल व्यवसायिक घरानाकै हुन् । ‘मेरो बाजे पनि व्यापार व्यवसाय गर्नु हुन्थ्यो, बुबाले पनि त्यही काम गर्नु भयो, साँखुमा जग्गा जमिन प्रशस्त भए पनि बुबाले कपडा, खाद्यान्न लगायतको व्यापार व्यवसाय गर्नु हुन्थ्यो, मेरो पनि सानैदेखि व्यापार गर्ने ईच्छा र चाहना हो, त्यही भएर नै म अहिले यो क्षेत्रमा छु,’ उनले भने ।

नागरिकता नहुँदा व्यवसाय गर्न रोक

अध्यक्ष राजेन्द्र मल्ल २०४२ सालबाट आफूले व्यवसायिक यात्रा सुरु गरेको बताउँछन् । उनलाई व्यापार व्यवसाय गर्न थालेको ३५ वर्ष भइसकेको छ । वि.स २०४२ सालमा एउटा ज्वाइन भेन्चर ट्रेडिङ कम्पनी दर्ता गरेर व्यवसायिक यात्रा सुरु गरेका मल्ल त्यसताका निकै संघर्ष गर्नु परेको सुनाउँछन् ।

‘म २२ वर्षको थिएँ, विहान ८ बजे घरबाट निस्कन्थेँ, बेलुका ८ बजे घर आइपुग्थेँ, दिनभर मानिसहरुलाई भेट्थेँ, कसलाई र कसरी भट्यो भने काम बन्छ अगाडि नै योजना बनाउँथेँ,’ उनी भन्छन्, ‘मेरो साथ नै आफूभन्दा ठूलासँग भयो, उनीहरुबाट सर–सल्लाह लिन पनि सजिलो हुन्थ्यो ।’

ग्लोबल टेण्डरिङको काम गरेको ४/५ महिनापछि मोटरपाट्सको काम गरेको उनी बताउँछन् । त्यसपछि विभिन्न क्षेत्रमा लगानी बढाएको उनले सुनाए ।

‘सानैदेखि व्यवसाय गर्ने रहर थियो, १५ वर्षको हुँदा होजियरी उद्योग खोल्छु भनेर लागेको थिएँ, तर, १५ वर्षको उमेरमा नागरिकता नमिल्दो रहेछ, नागरिकता नै नभएको मानिस कसरी व्यवसाय गर्ने भन्ने भएपछि त्यो काम रोकियो, उनले भने, ‘तर पछि उमेर पुगेपछि नागरिकता बनाएर व्यापार व्यवसायमा लागेँ ।

मल्लका पाँच दाजुभाई छन् । उनी कान्छा हुन् । एक बाहेक सबैको दाजुभाईको आ–आफ्नै व्यापार व्यवसाय छ ।

बुबाको त्यो अर्ति

मल्लका बुवा पनि साँखुमै व्यापार व्यवसाय गर्थे । जग्गा जमिन प्रयाप्त भएपनि व्यापार गर्नु पर्छ भन्ने सोच आफ्ना बुवामा पनि भएको उनी बताउँछन् ।

‘बुवा स्थानीय लत्ता–कपडा, खाद्यान्नको व्यापार गर्नु हुन्थ्यो, उहाँ सामान बोकेर सिन्धुपाल्चोक काभ्रेतिर जानुहुन्थ्यो, त्यहीँ व्यापार गर्नुहुन्थ्यो, उहाँबाट व्यापार गर्ने तरिका पनि सिकेँ, त्यसपछि मैले पनि व्यापार गर्नु पर्छ भनेर यही क्षेत्रतिर लागेँ,’ उनले भने ।

अध्यक्ष मल्ल आफ्ना बुवाले दिएको एउटा अर्ति कहिल्यै नभुल्ने बताउँछन् । उनी भन्छन्,’ मेरो बुवा भन्नुहुन्थ्यो, ‘व्यापारले हात्ती पाल्छ तर जागिर गरेर श्रीमती पनि पाल्न गाह्रो हुन्छ, उहाँको यो अर्ति म कहिल्यै पनि भुल्दैनँ, यो अर्तिले मलाई काम गर्ने जाँगर आउँछ, काममा अझ धेरै खट्न सहयोग पुग्छ ।’

उनले थप सुनाए, ‘हुन त जागिर पनि चाहिन्छ तर जागिरबाट धेरै काम सम्भव छैन, पहिले जागिरबाट घर परिवार पाल्न पनि गाह्रो हुन्थ्यो, अहिले अलि सहज भएको छ, विभिन्न सेवा सुविधाहरु पनि सहज बनाएको, तर पनि व्यापार अपार हो ।’

यति लामो व्यवसायिक यात्रामा पैसा त मनग्य कमाउनु भयो होला नि ? एउटा व्यवसायीसँग हाम्रो यो प्रश्न जायज थियो । उनले लामो स्वास तान्दै भने, ‘म मेरो आम्दानी र प्रगतिमा सन्तुष्ट छु, हुन त पैसा जति भएपनि मानिसलाई पुग्दैन तर म भने सन्तुष्ट छु, अहिलेसम्म जति कमाएँ, यसमा म रमाएको छु, उनी अडिए ।’

लगानीमा विविधिकरण

२०४२ सालमा एउटा ग्लोबल टेण्डरिङ अर्थात ठेक्कापट्टाबाट व्यवसायिक यात्रा सुरु गरेका मल्लले अहिले लगानी नगरेको कुनै पनि क्षेत्र बाँकी छैन ।

बैंक, बीमा, जलविद्युत, स्वास्थ्य, शिक्षा, उद्योग, उड्डयन, होटल लगायत क्षेत्रमा उनले लगानी विस्तार गरेका छन् । मनाङ एयर, प्रभु इन्स्योरेन्स, कान्तिपुर इन्जिनियरिङ कलेज लगायतका उनका परिचित व्यवसाय हुन् ।

उनी प्रभु इन्स्योरेन्सका डाइरेक्टर पनि हुन् । बीमामा २५ वर्ष लामो अनुभव भएका उनको ठमेलमा ठमेल ट्रेड सेन्टर पनि निर्माणाधीन छ ।

‘व्यवसायमा जिरो लेवलबाट काम गरेको हुँ, सुरुमा विदेशी कम्पनीको एजेन्ट भएर विभिन्न ठेक्कापट्टाको काम गरेँ, त्यसपछि निरन्तर आम्दानी हुने काम गर्नु पर्यो भनेर कमलादीमा मोटरपाट्सको व्ययवसाय सुरु गरेँ, विस्तारै उद्योग र बीमामा लगानी बढाएँ, काम गर्न लागेको ३५ वर्ष भइसकेको छ, समय हिजै जस्तो लाग्छ, उनले भने,‘ अहिले विभिन्न क्षेत्रमा लगानी गरेको छु, सबैतिरबाट राम्रै आम्दानी भइरहेको छ ।’

सरकारले पब्लिक–प्राइभेट पाटर्नरसिप मोडलसहितको व्यवसायतर्फ ध्यान दिनु पर्ने उनको भनाई छ । ‘मैले यति लामो समय व्यवसाय गरेँ, जनसहभागिता सहितको व्यवसाय हुुनु पर्छ भन्ने मेरो धारणा हो, यसले व्यक्ति र देशको विकास हुन सक्छ,’ उनले भने । सरकारले विभिन्न व्यवसायमा पब्लिक सेयरको कन्सेप्ट ल्याउनु पर्ने उनको भनाई छ ।

विभिन्न क्षेत्रमा लगानी गर्दा आफुलाई पनि फाइदा हुने र मुलुकको पनि विकास हुने उनी बताउँछन् । ‘सबै व्यवसायमा आफु नै सहभागी हुनु पर्छ भन्ने हुँदैन, एउटा सिस्टम बसाल्नु पर्छ, प्रणालीले आफै काम गर्छ, विकास र सम्वृद्धि अवश्य पनि सम्भव छ’ उनले भने ।

वर्षेनी आफ्नो आम्दानीको ग्राफ बढ्दै गएको उनी बताउँछन् । उनी भन्छन्, ‘यो वर्ष कोरोना भाइरसको कारण उड्डयन क्षेत्रमा केही असर पर्यो, बीमा लगायत क्षेत्रले राम्रै आम्दानी दिइरहेको छ, मसँग जे जति सम्पत्ति म यसमै खुसी छु, ।’

सेयरमा लगानी

अध्यक्ष मल्ल हालसम्म सेयर किनेको भएपनि बिक्री भने नगरेको बताउँछन् । उनका अनुसार हालसम्म विभिन्न कम्पनीहरुले सार्वजनिक गरेको प्राथमिक सेयर, हकप्रद सेयरमा लगानी गरेको भएपनि खरिद बिक्रीमा त्यतिधेरै सक्रिय नभएको उनी सुनाउँछन् ।

सेयरमा कारोबार गर्नको लागि मैले एउटा पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिससँग सम्झौता गरेको छु, उनीहरु आफै सेयर सार्वजनिक भएको समयमा भरिदिन्छन्, हालसम्म बेचेको भने छैन, उनीहरुसँग दुई/दुई वर्षमा सम्झौता हुन्छ हुन्छ,’ उनले भने,‘ तर त्यसको ग्रोथ भने मलाई बेलाबेलामा भनिरहेका हुन्छन्,त्यसबाट पनि राम्रै आम्दानी भइरहेको छ ।’

सेयर किन्ने बेच्ने समय नभएर नै सक्रिय रुपमा त्यसमा नलागेर अरुलाई नै जिम्मा दिएको उनी बताउँछन् । ‘अब त झन चेम्बरको नेतृत्व मेरो काँधमा आएको छ, अब चेम्बरलाई नै समय दिन्छु, यस संस्थागत विकास र सबै उद्योगी व्यवसायीहरुका समस्या बुझ्ने काम गर्छु, समाज सेवा त छदैँछ,’ उनले भने ।

रुची सामाजिक काम

व्यवसायिक क्षेत्रमा काम गरेको यति लामो समय भएपनि आफ्नो रुची समाज सेवा भएको उनी बताउँछन् । ‘म सानैदेखि सामाजिक सेवा गर्नमा रुची राख्ने मान्छे, आजसम्म धेरै ठाउँमा सामाजिक काम पनि गर्दै आएको छु, अझै गर्ने धोको छ,’ उनले आफ्नो सामाजिक सेवा गर्ने योजना पनि सुनाए ।

जीवनमा पैसा धेरै कमाएको भएपनि सामाजिक कामले व्यक्तिको मनलाई शान्त गर्ने धारणा उनी राख्छन् ।

‘५७ वर्षको दौरानमा धेरै संघष पनि गरियो, अब म आफुसँग भएको सम्पत्ति व्यवस्थित गर्न तर्फ लाग्छु, धेरे कमाएर के नै गर्नु छ र ?,’ उनले भने ‘थोरै पैसा कमाएर आफु पनि व्यवस्थित हुने र सरकालाई पनि राजश्व तिरेर सेवा दिने काम गर्छु, अब कमाएर लालपुर्जा मात्रै थुपार्ने भन्दा पनि कमाएर सामाजिक सेवा तर्फ लाग्ने सोच छ ।’

सामाजिक कार्य अन्तर्गत नै आफुले पढेको विद्यालय साँखु भाग्यदोयमा एउटा भवन निर्माण गरेको उनी बताउाछन् । यस्तै उनले आफ्नो जन्मथलोमा वृद्धाश्रमको घर बनाउँदा र साँखुको बैजनाथ मन्दिरमा पनि सहयोग गरेका छन् ।

अझै सामाजिक सेवामा लाग्ने उनको योजना छ । ‘कुन क्षेत्रमा सेवा गर्ने भन्ने मैले सोचेको छैन, तर म मृत्युवरणपछि मैले कमाएको सम्पत्ति मेरो छोराछोरीले मात्रै खाने होइनन्, केही सम्पत्ति यो मुलुकका लागि दिने सोचमा छु , मेरो ध्यान अब सामाजिक सेवामा छ, मलाई चेम्बर सामाजिक थलो जस्तै लाग्छ,’ उनले भने ‘चेम्बरले साना –साना मानिस दुखी पििडतलाई सहयोग गर्छ, ठूला व्यापारी साना व्यापारी भन्दा पनि हामी सबैको संस्था हो ।’

उनी भारतका अर्बपति रतन टाटा आफ्नो प्ररणाको स्रोत भएको पनि बताउँछन् । टाटाले पनि धेरै सामाजिक सेवा गर्ने भएको र आफ्नो पनि सामाजिक सेवा गर्ने ईच्छा भएकोले टाटा आफुलाई मन पर्ने व्यक्ति भएको उनी सुनाउँछन् ।

आगामी योजना

अबको आफ्नो नेपाल चेम्बरलाई थप शसक्त संस्था बनाउने र उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ हुने उनी बताउँछन् ।

नेपाल चेम्बर अफ कमर्सलाई एक विश्वसनिय सामाजिक संस्थाका रुपमा विकास गर्नको लागि आफु सधैँ तत्पर रहने उनले बताए । उद्योगी तथा व्यवसायीको हितका लागि आफू सधैँ लागि पर्ने उनको भनाई छ ।

‘देशलाई खान पुग्ने उत्पादनलाई कसरी वृद्धि गर्ने, किसानको उत्पादनलाई बजारिकरण कसरी गर्ने भन्ने तर्फ हाम्रो ध्यान जान्छ, अहिले व्यवसायमा बढी बिचौलिया छ, जुन करको दायरामा पनि आएका छैनन्, उनीहरुलाई करको दायरामा ल्याउने वा बिचौलिया नै समाप्त पार्नेतर्फ मेरो ध्यान जानेछ,’ उनले भने, ‘उत्पादित वस्तुलाई ढुवानीको सहज वातावरण सिर्जना गर्नेतर्फ पनि हाम्रो ध्यान जानेछ ।’

उनका अनुसार अहिले चेम्बर ७० जिल्ल्ला र २५ वटा पालिकामा विस्तार भएको छ । अझै संस्थालाई विस्तार गरेर सबै उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ आफ्नो ध्यान जाने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.