पुनर्बीमा कम्पनीको सौता आउँदै, ‘अफर लेटर’बारे छलफल गर्दै बीमा कम्पनीहरुको बोर्ड

  २०७७ मंसिर १८ गते १०:०५     विकासन्युज

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रियाले तिब्रता पाएको छ । गैरआवाशीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उनका भाइ डा. विरेन्द्र महतो र व्यवसायिक घराना शंकर ग्रुपका कार्यकारी अध्यक्ष शाहिल अग्रवालको विशेष पहलमा नयाँ कम्पनी स्थापनाको गृहकार्य चलिरहेको हो ।

कम्पनी स्थापनाको लागि नेपाली बीमा कम्पनीहरुलाई पनि संस्थापक सेयरधनी बनाउन सबै बीमा कम्पनीहरुमा ‘अफर लेटर’ पठाइएको छ । प्रस्तावित कम्पनीमा संस्थापक सेयर कति हाल्न सक्ने हो भनेर पठाइएको अफर लेटरका बारेमा बीमा कम्पनीहरुका संचालक समिति (बोर्ड) मा छलफल भइरहेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

‘कति सेयर हाल्न सक्नुहुन्छ भनेर अफर लेटर आएको थियो, हामीले त्यो लेटर संचालक समितिमा पेश गरेका छौं, बोर्डले छलफल गरिरहेको छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने ।

कम्पनी १० अर्ब रुपैयाँ चुक्ता पुँजी राखेर स्थापना गर्न लागिएको छ । कम्पनीको नाम अन्नपूर्ण रिइन्स्योरेन्स लिमिटेड प्रस्ताव गरिएको छ । चुक्ता पुँजी १० अर्ब रुपैयाँमध्ये ७ अर्ब ५० करोड रुपैयाँ संस्थापकको २ अर्ब ५० करोड रुपैयाँ सर्वसाधारणको सेयर हिस्सा रहने प्रस्ताव गरिएको छ । कम्पनीमा प्रमोटरको ७५ प्रतिशत र सर्वसाधारणको २५ प्रतिशत सेयर हिस्सा प्रस्ताव गरिएको हो ।

नयाँ कम्पनीमा सरकारी स्वामित्वका निकायहरु नागरिक लगानी कोष, कर्मचारी संचयकोष जस्ता कम्पनी तथा निकायले पनि सेयर हाल्ने गरी छलफल चलिरहेको छ । सरकारी निकाय र कम्पनीहरुले १ अर्ब रुपैयाँ, जीवन र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब, बीमा कम्पनीका प्रवद्र्धकहरुले १ अर्ब, बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब व्यवसायिक घरानाले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ ।

नयाँ कम्पनी खोल्न डा. उपेन्द्र महतो, उनका भाइ डा. बीरेन्द्र महतो, शंकर ग्रुपका कार्यकारी अध्यक्ष शाहिल अग्रवाल लगायत व्यक्तिहरु सक्रिय रहेका छन् भने कानुनी प्रक्रियाको काम शंकर ल फर्मले गरिरहेको छ ।

‘अहिले पुँजी जुटाउन प्रतिवद्धता लिईरहेका छौं । प्रस्तावित लगानीकर्ता उत्साहित पाएका छौं । पहिला कम्पनी दर्ता गरेर लाइसेन्सको लागि बीमा समितिमा जान्छौं’ स्रोतले भन्यो ।

सरकारले भौगोलिक र क्षेत्रगत हिसावले बीमा सेवा विस्तार गर्न चाहेको, अर्थतन्त्रको विस्तार, व्यवसायिक गतिविधिको विस्तारसँगै बीमा सेवाको विस्तार हुँदै गएको, पुनर्बीमाको लागि ९५ प्रतिशत निर्भरता विदेशी कम्पनीमा रहेकोले नयाँ पुनर्बीमाको सम्भावना रहेको प्रस्तावित व्यवसायिक योजनामा उल्लेख गरिएको छ । प्रस्तावमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सकिने उल्लेख गरिएको छ ।

सरकार पनि नयाँ कम्पनीको पक्षमा

स्रोतमा अनुसार अर्थमन्त्रालय नयाँ पुर्नबीमा कम्पनी खोल्ने पक्षमा रहेको छ । गत जेठ १ गते बीमा समितिको ५२औं वार्षिकउत्सवको भच्र्युअल कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले पुनर्बीमा सेवा विस्तारको लागि नयाँ कम्पनी पनि खोल्न सकिने बताएका थिए । सोही दिन उनले नेपाल पुनर्बीमा कम्पनीले सेवा विस्तार गर्न नसके नयाँ कम्पनी खोलेर जान पनि बीमा समितिलाई निर्देशन दिएका थिए ।

यसअघि बीमा समितिले तयार गरेको पुनर्बीमा पोलिसीको प्रस्तावलाई पनि अर्थमन्त्रालयले संशोधन गर्न निर्देशन दिएको थियो ।

विदेशी साझेदार ल्याउन समितिको सुझाव

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले नयाँ कम्पनी आउनुलाई सकारात्मक रुपमा लिएको छ । नेपाल पुनर्बीमा कम्पनीले अपेक्षा अनुसार व्यवसाय विस्तार गर्न नसकेकोले नयाँ कम्पनी आउँदा देशलाई फाइदा हुने विश्लेषण समितिको छ ।

समितिले सिंगापुरका पुनर्बीमा कम्पनीलाई विदेशी साझेदारको रुपमा ल्याउन सकिने अवस्था रहेको भन्दै सोही अनुसारको गृहकार्य गर्न नयाँ कम्पनीका पहलकर्तालाई अनौपचारिक सुझाव दिइरहेको छ ।

‘भारतीय पुनर्बीमा कम्पनीको पनि विश्व बजारमा राम्रै उपस्थिति छ तर भारतीय कम्पनीहरुले नेपालमा आउँदा ‘नलेज सेयरिङ’ र पूर्वाधारमा खासैमा योगदान गर्ने गरेका अनुभव छैन, युरोप वा अमेरिकातिरका कम्पनी अहिले नेपालमा आउने सम्भावना कम होला, त्यसैले हाम्रो सन्दर्भमा सिंगापुर वा अफ्रिकातिरका कम्पनी आउने सम्भावना छ, त्यस्ता कम्पनी आए भने नलेज सेयरिङ र पूर्वाधार (सफ्टवयर तथा हार्डवयर) मा ठूलो योगदान हुने सम्भावना हामीले देखेका छौं,’ समितिका एक अधिकारीले भने ।

नेपालमा अहिले सरकार, निजी क्षेत्र, बीमा कम्पनीहरु र सर्वसाधारणको लगानीमा नेपाल पुनर्बीमा कम्पनी संचालनमा छ । नयाँ कम्पनी आएमा नेपाल पुनर्बीमा कम्पनीले पनि प्रतिस्पर्धी रुपमा व्यवसाय विस्तारमा पहल गर्ने र त्यसले पुनर्बीमाको लागि नेपालबाट रकम बाहिर जान कम हुने तथा विदेशी कम्पनीहरुबाट पुनर्बीमाको रुपमा नेपालमा रकम भित्रन सक्ने सम्भावना बीमा समितिले देखेको छ ।

सम्बन्धित सामग्री

१० अर्ब लगानीमा अर्को बीमा कम्पनी खुल्दै, अर्थमन्त्री पनि नयाँ कम्पनीको पक्षमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.