दीपक मल्होत्राले सुरु गरे व्यवसायिक कृषि खेती, आधुनिक कृषि विस्तार गर्ने योजना

  २०७७ वैशाख २९ गते १३:३८     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनले विभिन्न व्यापार व्यवसाय ठप्प छन् । विभिन्न क्षेत्रका उद्योग व्यवसायहरुले ठूलो नोक्सान व्यहोरिरहेका छन् । यही समयमा धेरै व्यवसायीको ध्यान  कृृषितर्फ मोडिएको छ ।

कोरोनाले नेपालको मात्र होइन विश्वको अर्थतन्त्रलाई नै निकै असर पारेको छ । यही समयमा कृषिलाई आधुनिकीकरण र थप उत्पादनमुखी बनाउनका लागि व्यवसायीहरुले कृषिमा जोड दिन थालेका हुन् ।

ती मध्येका एक व्यवसायी हुन् दिपक मल्होत्रा । नेपाली व्यापार व्यवसायको बजारमा दिपक मल्होत्राको नाम परिचित छ । नेपालमा पहिलोपटक मोबाइल सेट ल्याएर बिक्रीवितरण गर्ने व्यक्ति थिए दिपक मल्होत्रा ।

नयाँ नयाँ प्रविधि र व्यवसायमा आधुनिकीकरण गर्नमा इच्छा देखाउने मल्होत्राले मोवाइलप्रतिको इच्छा र त्यसको व्यवसाय गर्ने चाहनाले नै उनलाई यहाँसम्म पुर्यायो । नेपालमा मोबाइल सुरु नहुँदै सन् १९९६ तिरै मोवाइलको व्यापारमा लागेका उनी नेपाली बजारमा पहिलो सामसुङ मोबाइल बिक्रेता भनेर पनि चिनिन्छन् ।

उनी जुन क्षेत्रमा हात हाल्छन् त्यो क्षेत्र सफल हुन्छ भन्ने कुरामा दुई मत छैन । किनकी उनको कामप्रतिको जागरुता र निरन्तरताले उनलाई एक सफल व्यवसायीको संज्ञा पनि दिएको छ । आइएमएस ग्रुपका अध्यक्ष रहेका उनी नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत हुन् ।
सामसुङ मोवाइल मात्र होइन मल्होत्राले दर्जनौं व्यापार व्यवसाय गर्दै आएका छन् ।

सामसुङ मोवाइलको सर्भिस राम्रो र वारेन्टीमा विश्वसनीयता हुँदा बजार कायम राख्न उनलाई सजिलो पनि भएको छ । नयाँ नयाँ प्रविधि र व्यापारमा हात हाल्न रुचाउने उनको ध्यान अहिले आधुनिक कृषि गर्नेतर्फ मोडिएको छ । उनले सुनसरीमा आफ्नै २५ बिघा जग्गामा कृषि सुरु गर्ने भएका छन् ।

विश्वको अर्थतन्त्रलाई कोरोनाको महामारीले तहसनहस पारिरहेका बेला उनले एउटा नयाँ आइडिया कृषिमा लगानी गर्न उचित ठाने । उनले सुनसरीको अन्धुवामा आफ्नै २५ बिघा जमीनमा आधुनिक किसिमले कृषि गर्ने योजना बनाएको बताए । आधुनिक कृषि गर्ने योजना एक वर्ष अगाडिदेखि नै बनाउादै आएको भएपनि अहिले कोरोना महामारीले झन काम गर्न उत्प्रेरित बनाएको बताउँछन् ।

उनले २५ बिगाको प्लट जमीनमा कागती,धान, गहुँ  मकै र विभिन्न फलफूल खेती लगाउने बताए । ‘हामीसँग कृषिसँग सम्बन्धित विज्ञहरु हुनुहुन्छ, हामीले पुरानोभन्दा पनि नयाँ प्रविधिको साहयताले आधुनिकीकरणतर्फ जोड दिन्छौं,’ उनले भने ।

अहिले विभिन्न कृषि औजारहरु आयात गर्ने काम भइरहेको उनले बताए । त्यसपछि विभिन्न प्रकारका बिउ बिजनहरु आयात गरेर कृषिलाई बढी जोड दिने उनले बताए । ‘अहिले वाहिरबाट धेरै खाद्यान्न आयात हुन्छ, यसले देशको अर्थतन्त्रलाई पनि नोक्सान गर्छ, स्वदेशमै उत्पादन गरेको वस्तुलाई बजारीकरण गरी  बढी भएमा विदेशमा आयात गरे देशले धेरै आर्थिक भार व्यहोर्नु पर्दैन,’ उनले भने ।

लकडाउनको समयमा पनि काम भइरहेको उनको भनाइ छ । यो समयलाई अवसरका रुपमा लिएर काम गर्ने उत्प्रेणा पनि बढेको उनले बताए । देशको आर्थिक वृद्धिका लागि कृषिले धेरै नै योगदान गर्न सक्ने भएकोले अब कृषिमा बढी जोड दिनु पर्ने उनको धारणा छ । ‘कोरोनाले सबै देशको अर्थतन्त्रलाई धेरै असर गरेको छ, विदेशमा गएका युवाहरु पनि काम नपाएर स्वदेश फर्किरहेका छन्, उनीहरुलाई स्वरोजगार बनाउन पनि आवश्यक छ, त्यसको लागि कृषि उत्तम विकल्प हुन सक्छ,’ उनले भने ।

नेपालको विदेशी मुद्रामा आधारित अर्थतन्त्र भएकोले युवाहरु विदेशमा हुँदासम्म धेरै रेमिट्यान्स आउने तर अब उनीहरु स्वदेशमा आइसकेपछि रेमिट्यान्स घट्ने भएकोले त्यसको विकल्पमा अब स्वदेशी उत्पादनमा वृद्धि गर्नुपर्ने उनले बताए । कृषि खेतीलाई आधुनिकीकरण गरेर स्वदेशमा उत्पादित वस्तुलाई विदेशमा निर्यात गर्नसकेमा घटेको सोधान्तरको फाइदा यताबाट उठाउनु पर्ने उनले बताए ।
उत्पादित वस्तुलाई निर्यात गर्नका लागि विभिन्न विदेशी राजदुतावाससँग कुरा भइरहेको उनले बताए । ‘हामी परम्परागत कृषिमै रमाइरहेका छौं, अब आधुनिक कृषिमा जोड दिनुपर्छ, स्वदेशी उत्पादनलाई जोड दिएर निर्यातमा ध्यान दिनु पर्छ,’ उनले भने ।

जोखिम तथा विपतको समयमा पनि कम जोखिम हुने किसिमले काम गर्नको लागि हामी प्रविधिगत रुपले अगाडि बढाएर आफु कृषिमा आधारित व्यापारमा अघि बढेको उनले बताए । अब विस्तारै कृषि बजारीकरण र विस्तार गर्दै जाने उनको योजना छ । उनले यो लगत्तै झापामा पनि सुरु गर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.