कोरोनाबाट बच्न स्वास्थ्य बीमा गर्न सकिन्छ ? यसो भन्छ बीमा समिति

  २०७६ फागुन २२ गते १०:४०     विकासन्युज

काठमाडौं । चीनबाट सुरु भएर संसारभर आतंक फैलाएको कारोना भाइरसको यकिन औषधी पत्ता लागेको छैन । कोरोना संक्रमण ७७ भन्दा बढी देशमा फैलिएको छ भने ९३ हजारभन्दा बढीलाई संक्रमण भएको छ, ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमण भएका व्यक्तिहरुको उपचार हुने दर भने ज्यादै धेरै छ । संक्रमित ९३ हजारमध्ये ५० हजारभन्दा बढी निको भएर घर फर्किसकेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संकट घोषणा गरिसकेको छ । कोरोना भाइरस उपचारको औषधी पत्ता नलागेको कारण यो संक्रमण भएको व्यक्तिको उपचारमा कति खर्च लाग्छ भन्ने यकिन अझै हुन सकेको छैन । अहिलेसम्म कोरोना संक्रमित सबैलाई सम्बन्धित देशले नै खर्च गरेर उपचार गरिरहेका छन् ।

विश्व संकट निम्त्याउने हैसियत राखेको कारोनो भाइरसबाट बच्चको लागि स्वाथ्य बीमा भने नहुने बीमा समितिले जानकारी दिएको छ । महामारीको बीमा नहुने भएको कारण कोरोना विरुद्ध बीमा गर्न नसकिने समितिको भनाइ छ ।

रोग लागेको अवस्थामा बिमितलाई आर्थिक सुरक्षण दिने कम्पनीहरुमा महामारीको बीमा योजना नहुने समितिको भनाइ छ । पछिल्लो समय विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यस्तो अवस्थामा बीमा मार्फत सुरक्षा प्राप्त गर्न नसकिने बीमा समितिले जानकारी दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको सिद्धान्तले महामारीलाई नसमेटने बताए ।

‘विश्वव्यापी बीमाको सिद्धान्त अनुुसार बीमाले महामारीलाई समेट्दैन, अन्य रोगको हकमा भने बीमा कम्पनीहरुले सुरक्षण दिँदै आएका छन्,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।

बीमा कम्पनीहरुले घातक रोगको बीमा योजना संचालन गरिरहेका छन् । कोरोना भाइसको लागि मात्रै भनेर बिमितले कुनै किसिमका लाभ पाउँदैनन् ।

बीमा गराउँनु पूर्व जाँचिन्छ यी २ कुरा

बीमा गराउँनुपूर्व बीमा कम्पनीहरुले व्यक्तिको आर्थिक अवस्थाको तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन्छन् । आर्थिक अवस्थाको मूल्याङ्कनपछि मात्रै व्यक्तिले बीमा गर्न पाउँछन् । त्यस्तै, स्वस्थ मानिसको मात्र बीमा हुने गर्छ ।

व्यक्तिको स्वाथ्यस्थिति चेकजाँच गरेर मात्र बीमा हुने समिति बताउँछ । व्यक्तिमा कोरोनाको संक्रमण देखिएको अवस्थामा बीमा हुँदैन । कुनै किसिमका बीमा गर्नुपूर्व उक्त व्यक्तीको स्वास्थ्य अवस्था कस्तो छ भनेर हेर्नु महत्वपूर्ण हुन्छ ।

अहिले विश्वमा फैलिएको कोरोना भाइसको चर्चा जताजतै सुन्न सकिन्छ । नेपालको छिमेकी राष्ट्र चीनबाट सुरु भएको यो रोग अहिले विश्वका विभिन्न ठाउँमा देखिन थालेसँगै मानिसमा त्रास बढेको छ ।

बीमाले जोखिममा आर्थिक सुरक्षण दिने भएकाले पछिल्लो समय कोरोना भाइसको बीमा गर्न मिल्ने कि नमिल्ने भन्ने चासो धेरैमा छ । महामारीको बीमा नहुने भएकोले यस्तो जोखिमबाट बच्न शतर्कता अपनाउनु पर्ने समितिको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.