आफैं विश्वविद्यालय जाने योजनामा शंकरदेव क्याम्पस

  २०८१ वैशाख २७ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन भएको सरकारले दाबी गरिरहँदा अधिकांश कलेज विद्यार्थी नपाएर भौंतारिरहेको तितो यथार्थ कलेज सञ्चालकहरूलाई मात्र थाहा छ ।

विगतमा जस्तो छ्यासछ्यास्ती विद्यार्थी पाउन छाडेपछि कलेज कसरी सञ्चालन गर्ने भन्ने पीरको भारी बोकेर उनीहरू विद्यार्थी खोज्न दौडिरहेका छन् ।

कक्षा १२ सकिएपछि अधिकांश विद्यार्थी विदेश जान थालेपछि कलेजहरू धमाधम विकल्प खोजिरहेका छन् । कतिपय कलेज सञ्चालक त सेयरसमेत बेच्ने तयारीमा छन् ।

तर, काठमाडौं पुतलीसडकस्थित पुरानो क्याम्पस शंकरदेव भने क्याम्पसलाई विश्वविद्यालय बनाउने योजनामा छ ।

यसका लागि जोडतोडसाथ तयारी भइरहेको क्याम्पस प्रमुख प्राध्यापक कृष्णप्रसाद आचार्य बताउँछन् ।

आगामी दुई वर्षमा विश्वविद्यालय बनाउने तयारीमा रहेको शंकरदेव क्याम्पसमा अहिले विद्यार्थीको अवस्था के छ ? कसरी क्याम्पस आफैं विश्वविद्यालयमा रूपान्तरण हुन्छ ?

विकासन्युजले क्याम्पस प्रमुख प्राध्यापक आचार्यसँग यसबारे विस्तृतमा जिज्ञासा राखेको छ ।

विस.२००८ सालमा शंकरदेव क्याम्पस स्थापना भएको हो । नेपाल नेशनल कलेजको नाममा स्थापना भएको यो क्याम्पस २०३० सालमा नाम परिवर्तन गरेर शंकरदेव राखिएको हो ।

यो क्याम्पस बनाउनुमा शिक्षाविद् शंकर पन्तको ठूलो योगदान छ । क्याम्पसलाई चाहिने ९ रोपनी जग्गा र भवन उपलब्ध उनै पन्तले उपलब्ध गराएका थिए । सोही क्यामपसलाई अब विश्वविद्यालयमा परिणत गर्ने तयारीमा अहिलेका क्याम्पस प्रमुख आचार्य लागेका छन् ।

शंकरदेव कलेज व्यवस्थापन (म्यानेजमेन्ट) संकायका लागि सबैभन्दा उत्कृष्ट कलेजका रूपमा चिनिन्छ । शंकरदेव क्याम्पसमा अहिले व्याचलर्स र मास्टरर्समा गरी म्यानेजमेन्टका विभिन्न ८ वटा कार्यक्रम सञ्चालन भइरहेका छन् । जसमा त्रिभुनव विश्वविद्यालयको फण्डिङ बाट एमबीएस र बीबीएस कार्यक्रम सञ्चालनमा छन् भने अन्य पाँच वटा कार्यक्रम सेल्फ फण्डिङमा सञ्चालन भइरहेका छन् । जसमा बीबीए, बीबीए फाइनान्स, बीआइएम, बीबीएम, बीबीएम फाइनान्स छन् ।

अन्य कलेजहरूमा विद्यार्थीको संख्या घटे पनि शंकरदेवमा भने विद्यार्थीको संख्या नघटेको क्याम्पसको दाबी छ । गत भदौ र असोजमा भर्नाका लागि सूचना जारी गरेको एक सातामै कोटा पूरा भएर विद्यार्थीलाइ फर्काउनुपरेको बताउँदै क्याम्पस प्रमुख आचार्यले विद्यार्थीको अभाव नरहेको बताए ।

व्याचलर्सको स्पेसल कार्यक्रममा आवश्यक सीट संख्या ३ सय १९ हो । जसमा बीबीएमा ९९ बीबीए फाइनान्समा ६६, बीआइएममा ६६, बीबीएममा ८८ जनाको सीट छ ।

अन्य कलेजलाई विद्यार्थी पाउन धौ–धौ परेको बेला यो क्याम्पसमा विद्यार्थीको आकर्षण किन ? भन्ने प्रश्नमा क्याम्पस प्रमुख आचार्यले भने, ‘सबैभन्दा पहिलो त यहाँ फ्याकेल्टी राम्रो छ, अर्को पढाइ पनि राम्रो छ र यो क्याम्पस सरकारी र सस्तो अनि पनि पर्याप्त पूर्वाधार भएकाले विद्यार्थी आकर्षित छन् ।’

विद्यार्थी संख्या

अहिले शंकरदेव कलेजमा जम्मा विद्यार्थी संख्या १० हजार ७ सय २३ छ । जसमा व्याचलर्समा ७ हजार ८ सय ८० छन् । जसमा महिला ४ हजार ९ जना छन् । यस्तै मास्टर्समा २ हजार ८ सय ४३ जना विद्यार्थी छन् जसमा महिलाको संख्या १५ सय ८१ छ । भर्नामा विद्यार्थीको संख्या राम्रै भए पनि बीचमै पढाइ छाड्ने विद्यार्थीको संख्या भने त्यहाँ पनि डर लाग्दो छ ।

पहिलो वर्ष २४ देखि २५ सय विद्यार्थी भर्ना हुन्छन् । तर, उनीहरू चौथो समेस्टरसम्म पुग्दा जम्मा ८ सयमा झर्छन् । उनी यसमा त्रिभुवन विश्वविद्यालयले समयमा परिक्षा नलिनु र लिएको परिक्षाको नतिजा पनि समयमै निकाल्नु मुख्य कारण रहेको बताउँछन् । जसका कारण विद्यार्थीहरू विकल्प रोज्छन् । स्पेसल कार्यक्रमको रिजल्ट ४ वर्षभित्र हुन्छ । तर, टीयू अन्तर्गतका कार्यक्रममा ४ वर्षमा सकिने कोर्सलाई ६ वर्ष लाग्छ । जसका कारण विद्यार्थी भर्ना हुने तर बाहिरको तयारी गरिरहने र नाम निस्कने बित्तिकै बाहिर गइहाल्छन् । भर्ना भएका विद्यार्थी अन्तिम वर्षसम्म एक चौथाई मात्र रहने उनको भनाइ छ ।

त्रिविको लथालिंग अवस्थाले क्याम्पसहरूलाई विद्यार्थी कसरी टिकाउने भन्ने चुनौती थपिएको छ । समयमा परिक्षा नहुँदा, नतिजा नआउँदा विद्यार्थी टिकाउन गाह्रो छ । त्रिविको झन्झटिलो प्रक्रियाले अन्य आंगिक क्याम्पस पनि दिक्क भएका छन् । यही कारण पनि क्याम्पस प्रमुख आचार्य अब शंकरदेव क्याम्पसलाई विश्वविद्यालय बनाउने योजनामा छन् । ‘हामीसँग नभएको भनेको स्पेस हो, अरू सबै पूर्वाधार हामीसँग छ,’ उनी भन्छन्, ‘९ रोपनी जग्गा छ, अब अरू जग्गाको बन्दोवस्त गरेर आफै विश्वविद्यालयमा जान्छौँ ।’

देशको राजनीतिक अस्थिरता र व्यवस्थाका कारण त्रिवि सुधार्न नसकिएको उनको अनुभव छ । राजनीतिले शिक्षा क्षेत्रमा ठूलो प्रभाव परेको आचार्य बताउँछन् । त्रिविका शिक्षकलाई तलब खुवाउने, आर्थिक पाटोको काम गर्ने अर्थमन्त्रालय हो । अर्थमन्त्रालयमा छिटोछिटो मन्त्री फेरिँदा पनि समस्या भएको उनी बताउँछन् ।

नयाँ प्रविधिबाट पढाइ

क्याम्पस प्रमुख आचार्यले शंकरदेवमा पढाउन सुरु गरेको १६ वर्ष भयो । उनी कलेज आउँदा मार्करले बोर्डमा लेखेर पढाइन्थ्यो । तर, अहिले मल्टिमिडिमार्फत पढाइ हुन्छ । आचार्य २०७३ साल असार २० गते क्याम्पस प्रमुख भए । त्यसपछि बोर्ड मार्कर हटाएर उनले मल्टिमिडिया सुरु गरे । अहिले उनी फेरि दोस्रो पटक क्याम्पस प्रमुख भएका छन् ।

उनी २०८० असार २० गते दोस्रो पटक क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् । उनी अब सबै कक्षामा स्मार्टबोर्ड राख्ने तयारीमा छन् । स्मार्टबोर्ड भनेको नयाँ प्रविधि हो । जहाँ इलेक्ट्रीक पेन हुन्छ । जुन सामग्री आवश्यक पर्यो त्यो त्यहीबाट खोज्न पाइन्छ । स्मार्टबोर्ड कोठामा हुँदा विभिन्न देशका प्रोफेसरहरूले पढाएको कुरा विद्यार्थीले पढ्न पाउने उनी बताउँछन् ।

शंकरदेव कलेजबाट उत्पादन भएका विद्यार्थीले नेपालको ६० प्रतिशत बढी विभिन्न संघसंस्थाको नेतृत्व सम्हालेको कलेजको दाबी छ । ‘नेपालमा मात्र हैन, यहाँ पढेका विद्यार्थी विश्वका विभन्न देशमा पनि उच्च ओहदामा छन्,’ उनी भन्छन्, ‘यस्तै कारणले पनि शंकरदेवमा विद्यार्थीहरूको मोह बढिरहेको छ ।’

नेपाली शिक्षा पाठ्यक्रममा आधारित मात्र भयो, व्यवहारिक भएन भन्ने आरोप पनि बेलाबेला लागिरहन्छ । क्याम्पस प्रमुख आचार्य यसलाई स्वीकार्दै कलेजले व्यवहारिक शिक्षामा पनि जोड दिएको बताउँछन् । यो कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई सम्बन्धित उद्योग, कम्पनीमा गएर इन्टर्न गर्ने अवसर हुन्छ । व्याचलर्समा ४ वर्षभित्र र मास्टर्समा २ वर्षभित्रमा विभिन्न फर्म, फ्याक्टीको भ्रमण गराउने गरिन्छ ।

यसरी भ्रमण गरेका विद्यार्थीले स्थलगत अध्ययन गरेर रिपोर्ट बुझाउनुपर्छ । कलेजमा पढेको कुरा र बाहिर फिल्डमा कस्तो छ भन्ने बारे सम्बिन्धत व्यक्तिलाई ल्याएर अतिरिक्त कक्षा दिने गरेको उनको भनाइ छ । ‘यहाँ पाठ्यक्रममा मात्र केन्द्रित रहेर पढाइ हुँदैन,’ उनी भन्छन्, ‘कक्षाकोठाभित्र पढेका कुरालाई व्यवहारमा कसरी प्रयोग गर्ने भन्नेबारे पनि विद्यार्थीलाई सिकाइन्छ, यसरी पढाउँदा विद्यार्थीको पढाइमा थप उर्जा थपिन्छ ।’

शंकरदेव खस्किएको हो ?

धेरैजसो कलेजले विद्यार्थी नपाइरहेका बेला शंकरदेव भने अब्बल रहेको आचार्यको दाबी छ । ‘यो क्याम्पसमा पहिले पनि राम्रो पढाइ हुन्थ्यो, अहिले झन राम्रो भइरहेको छ,’ उनी भन्छन्, ‘पहिला विद्यार्थी र प्रहरीबीच झडप हुन्थ्यो, पढिरहेका विद्यार्थी र पढाइरहेका शिक्षकलाई प्रहरीले लाठी प्रयोग गर्थे, त्यस्तो बेला त पढाइ राम्रो थियो भने अहिले त नहुने कुरै भएन ।’

क्याम्पस प्रमुख भइसकेपछि….

आचार्य क्याम्पस प्रमुख भएपछि क्याम्पसको अवस्थामा धेरै परिवर्तन भएको छ । क्याम्पसका सबै भवनका छत बन्द गरिएको छ । दुई तला पनि थपिएको छ । भूकम्पले भत्किएका भवन पुर्ननिर्माण प्राधिकरणको २६ करोडको सहायतामा नयाँ भवन निर्माण भएको छ ।

आचार्यले नै बीबीए फाइनान्सकोे पाठ्यक्रमका लागि डीन कार्यालयसँग अनुमति लिएर पाठ्यक्रम तयार पारिएको छ । अहिले प्रत्येक कक्षामा नेट जोडिएको छ । तर, विद्यार्थीले फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल भने चलाउन पाउँदैनन् ।

क्याम्पसमा शिक्षकले कसरी पढाइरहेका छन् भन्ने पनि सर्च गरेर हेर्न मिल्ने आचार्य बताउँछन् । विद्यार्थीले इन्टरनेटमार्फत शिक्षकलाई सुझाव र खबरदारी गर्न सक्छन् । क्याम्पसमा खानेपानीको समस्या समाधानका लागि एनएमबी बैङकसँग सहकार्य ६ लाख रुपैयाँ लागमा खानेपानीको व्यवस्था पनि गरिएको छ ।

शिक्षक र व्यवस्थापनमा फरक

बाग्लुङमा जन्मेका आचार्य शिक्षण पेसामा लागेको २७ वर्ष भयो । उनलाई पढाउँदा जति आनन्द आउँछ, प्रशासनमा बस्दा त्यति आनन्द आउँदैन ।

‘आफूले पढाएको विद्यार्थी कुनै संस्थामा गएर लिड गर्छ वा राम्रो नतिजा ल्याएर पास गर्दा खुसी लाग्ने रहेछ,’ उनी भन्छन्, ‘बीबीए फाइनान्समा १८ जनाले ४.० जीपीए ल्याउँदा १७ जना शंकरदेव कलेजका थिए, यस्तो बेला निकै खुसी लागेको थियो,’ उनी सुनाउँछन्, ‘अर्को पूर्वाधार बनाएर शिक्षकले राम्रोसँग पढाएको देख्दा आनन्द लाग्छ ।’

तथ्यांकशास्त्र विषय पढाउँदै आएका आचार्यले १ वर्षदेखि पढाउन छाडेका छन् । त्रिविको सैबभन्दा धेरै विद्यार्थी भएको क्याम्पस शंकरदेव क्याम्पस हो । म्यानेजमेन्टको सबैभन्दा पायोनियर यो क्याम्पस हो । तर, सबभन्दा कम शिक्षक र कर्मचारी यही क्याम्पसमा छन् । यहाँ जम्मा ३४ स्थायी र २६ जना आन्तरिक करारका शिक्षकहरू छन् । शिक्षक र विद्यार्थीको रेसियो नमिल्नुमा विश्वविद्यालयको कमजोरी रहेको उनको भनाइ छ । विद्यार्थी अनुसारको शिक्षक र कर्मचारी उपलब्ध गराउन नसक्नु विश्वविद्यालयकै कमजोरी रहेको उनी बताउँछन् ।

शंकरदेवमा पढ्ने विद्यार्थीले विषयअनुसार फरक–फरक शुल्क तिर्नुपर्छ । बीबीएसमा अध्ययन गर्ने विद्यार्थीले पढाइ पूरा गर्न ५० हजार रुपयाँ शुल्क तिर्नुपर्छ । यस्तै बीबीए, बीबीए फाइनान्स पढ्ने विद्यार्थीले ४ लाख रुपैयाँ बढी शुल्क तिर्नुपर्छ भने बीबीएमको विद्यार्थीले साढे तीन लाख रुपैयाँ शुल्क तिरेर व्याचलर्स पढ्न सक्छन् ।

यही पैसाबाट शिक्षकलाई तलब खुवाउनेदेखि अन्य शैक्षिक सामाग्रीहरू ल्याउने गरेको उनको भनाइ छ । क्याम्पसले स्पेसल सेल्फ फण्डिङ सञ्चालित पाँच वटा कार्यक्रमअन्तर्गत एमबीए, एमबीएम, एमबीएम फाइनान्स, बीबीए, बीबीएम फाइनान्स पढ्ने विद्यार्थीलाई हरेक वर्ष १० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । क्याम्पसले पढाइमा राम्रो भएका तर आर्थिक अवस्था कमजोर भएका डेढ सय विद्यार्थीका लागि डोनर खोजेर छात्रावृत्तिमा पढाइरहेको उनले बताए । मास्टर्समा एउटा सेमेस्टरको १८ हजार छ भने ७२ हजारमा कोर्स सकिने उनले बताए ।

अबको योजना

उनी दोस्रो पटक क्याम्पस प्रमुख बनेको असार २० गते १ वर्ष पूरा हुन्छ । बाँकी ३ वर्षको अवधिमा उनी सबै पूर्वाधार तयार पारेर क्याम्पसलाई विश्वविद्यालयमा लैजाने तयारी गरिरहेका छन् ।

कानुनअनुसार विश्वविद्यालय हुन सय रोपनी जग्गा हुनुपर्छ । फ्याक्लटीमा एमफिल, पीएचडी हुनुपर्छ । त्यही किसिमको रिजल्ट हुनुपर्छ । ‘यसमा कोही पएचडी गर्दै हुनुहुन्छ, कोही गरिराख्नुभएको छ, हामीलाई फ्याकल्टीको समस्या छैन’, उनी भन्छ, ‘यसका लागि मैले विदेशमा लिएर प्रशिक्षण दिने योजना बनाएको छु ।’

उनले विश्विद्यालय बनाउनका लागि अरु कुनै समस्या नभएको तर जग्गाको आश्यकता भएकाले जग्गाको खोजीमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.