बारम्बार विवादमा पर्यटन मन्त्री

  २०७६ माघ १ गते १३:०२     सम्पादकीय

युवा पुस्ताले मन पराएको युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको पाँच महिना पूरा भएको छ । पाँच महिनामा उनी पाँचौं पटक विवादमा परेका छन् । युवा मन्त्रीको केटौले पनले उनी प्रतिको विश्वास र भरोसा धर्मराउन थालेको छ । मन्त्री भए लगत्तै उनलाई बधाई दिन पुगेको एक नारीलाई मन्त्री भट्टराईले अंकमाल गरेको फोटो सामाजिक सञ्चालमा भाइरल बन्यो । फोटोका पात्रहरुले क्यामरालाई दोष दिएपनि धेरै मानिसले मन्त्री भट्टराईबाट गल्ती भएको टिप्पणी गरे ।

मन्त्री भट्टराईले पशुपतिको आर्यघाटमा आरती गर्नुपूर्व राष्ट्रिय गान गाउन दिएको निर्देशन पनि विवादास्पद बन्यो । आर्यघाटमा शब जलिरहेको हुने, आर्यघाट पुग्ने सबै मानिस शोकमा ढुबेको हुने र त्यस्तो बेलामा राष्ट्रिय गान गाउनुपर्छ भन्ने मन्त्री भट्टराईको निर्देशनको चौतर्फी आलोचना भयो । मन्त्रीका निर्देशनपछि आरतिपूर्व आर्यघाटमा राष्ट्रिय गान गाउन शुरु भएपनि चौतर्फी आलोचना भएपछि राष्ट्रिय गान गाउन बन्द गरिएको छ । मन्त्री भट्टराई यहाँ दोस्रो पटक चुके ।

भदौ २८ गते नेपालगञ्जबाट काठमाडौं आउने विमानमा निर्धा्रित समयभन्दा निकै ढिलो पुगेपछि मन्त्री भट्टराई तेस्रो पटक विवादमा परे । मन्त्री भट्टराई विमानमा ढिला पुगेको भन्दै विमानभित्रै होहल्ला भयो । यात्रुहरुले मन्त्रीलाई गाली गलौज गरे । बुद्ध एयरको उक्त उडान समय निर्धारित समयभन्दा झण्डै २ घण्टा पर धकेलिएपछि यात्रुहरु आक्रोशित भएका थिए । उक्त घट्नालाई लिएर शुरुमा मन्त्री भट्टराईले गणतन्त्रमाथि मण्डले आक्रमण भएको टिप्पणी गरे । उनको भनाईप्रति सामाजिक सञ्जालमा थप आक्रोश व्यक्त भएपछि घुमाउने शैलीमा माफि मागे ।

जनवरी एक तारिकमा दशरथ रङ्गशालामा आयोजित नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रमको असफलता उनको चौथो ठूलो कमजोरी थियो । राष्ट्रपति, मन्त्री, व्यवसायीहरुले भाषण गर्दै दीप प्रज्वलन गरेर नेपाल भ्रमण वर्ष २०२० उद्घाटन कार्यक्रममा अतिथि मात्र आए । २५ हजार दर्शक अट्ने रंगशालामा ५ हजार मानिस पनि छिरेनन् । कारण एउटै थियो भाषणमुखी कार्यक्रममा जान पैसा तिरेर टिकट लिनुपर्ने व्यवस्था । पैसा तिरेर कोही गएनन् । निर्धारित समयभन्दा साढे दुई घण्टापछि शुरु भएको कार्यक्रममा राष्ट्रपतिले भाषण गर्दा सबै कुर्सी खाली थिए ।

भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा अष्ट्रेलिया पुगेका मन्त्री योगेश भट्टराई त्यहाँ पनि विवादमा फसेका छन् । अष्ट्रेलिया राष्ट्रिय संकटमा परेको बेलामा उनी अष्ट्रेलियामा र्यालीसहित विजनेश प्रमोशनमा जानुले उनको निर्णय क्षमतामा धेरैले प्रश्न गरेका छन् । मन्त्री भट्टराईले त्यहाँको सरकारसँग अनुमति नलिई र्याली गर्न खोज्दा प्रहरीले रोकेको समाचार अहिले चर्चामा छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम साउथ एसिया डटकमले सिड्नी सिटीको सुरक्षाकर्मीले भ्रमण वर्षको कार्यक्रममा रोक लगाएको समाचार प्रकाशित गरेको छ ।

अष्ट्रेलियन सरकारले राष्ट्रिय विपतको घोषणा गरेको छ । यतिबेला अष्ट्रेलियन नागरिकलाई नेपाल भ्रमणको लागि निम्ता गर्न पर्यटन मन्त्री विदेश भ्रमणमा जानु, त्यहाँको सरकारसँग सहमति नलिई सडक र्याली आयोजना गर्ने प्रयास गर्नु र अष्ट्रेलियन सरकारले नेपालको मन्त्री सहभागि भएको र्यालीमा अवरोध गर्नुले नेपालको बेइज्जत भएको छ र नेपालीको शिर झुकेको छ । भट्टराई मन्त्री हुनुपूर्व आशालाग्दा नेताको रुपमा उदाएको थिए । मन्त्री भएको पाँच महिनामा पाँच वटा विवादमा परेपछि उनी उनीप्रतिको आशा र विश्वास धर्मराउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.