सपनाको खेती नबनोस् ‘सिस्नेरी खोला’

  २०७६ मंसिर २ गते १९:५२     विकासन्युज

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा उपत्यकाको ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन थालिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्व सम्भाव्यता अध्ययन थालेको छ ।

गत शुक्रबार खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा बोर्डका पदाधिकारी सहितको टोलीले उक्त खोलाको अवलोकन र निरीक्षण गरेको छ । यो आयोजनालाई मेलम्चीको विकल्पका रुपमा हेरिएको छ । काठमाडौं जिल्ला राजधानी भनिएपनि अघोसित रुपमा ललितपुर पनि राजधानीको एउटा अंग बन्दै छ । काठमाडौंमा सँगै ललितपुर र भक्तपुरमा बस्ती बढ्दो छ । पानीको माग पनि बढ्दो छ । सिस्नेरीबाट पानी ल्याउने हो भने ललितपुर र भक्तपुरका धेरै ठाउँहरुमा खानेपानी आपूर्ति सहज बन्न सक्छ । भक्तपुरका लागि खानेपानी आपूर्ति गर्न महादेव खोलामा काम शुरु भएको बताइएको छ । भविष्यमा मेलम्चीको पानीमा कुनै समस्या सिस्नेरी वा महादेव खोलाको पानीले काठमाडौं उपत्यकाको खानेपानीमा समस्या समाधान गर्न केही सहयोग पुग्न सक्छ ।

सिस्नेरी फर्पिङ पम्पिङ स्टेशनबाट १४ किलोमिटर दक्षिणमा पर्दछ । जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो । यस आयोजना अन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा संकलन गरिनेछ र संकलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गर्न सकिने छ ।

सिस्नेरीमा बनाईने बाँधको लम्बाई १९० मिटर र चौडाई ७५ मिटर रहनेछ । सिस्नेरी बाँध स्थलदेखि सैंबु पानी प्रशोधन केन्द्रसम्म कूल १९ किलोमिटर रहेको छ । निर्माणाधिन काठमाडौं निजगढ द्रुत मार्ग हुँदै सिस्नेरीदेखि सैंबुसम्म पाईप लाईन निर्माण गरेर पानी लैजान सकिने छ । सिस्नेरीबाट दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्न सकिने प्रारम्भिक अनुमान छ । परियोजनाको लागत करिब २६ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

एक अध्ययनले सन् २०३० पछि काठमाडौं उपत्यकाको जनसंख्यालाई मेलम्चीको पानीले धान्न नसक्ने जनाएको छ । त्यस अवस्थामा यी दुई खोलाको पानी राजधानीबासीको प्यास मेटाउन राम्रो विकल्प हो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने योजनाले दुई दशकसम्म पूर्णता पाउने सकेको छैन । काठमाडौका जनताहरुको खाने पानीको लागि मकवानपुर सिस्नेरी खोलाबाट पानी ल्याउने यो योजना र सम्भाब्यता अध्यायन सारै राम्रो कुरा हो । यसमा खाली फोटो खिचाएर प्रचारबाजी गर्ने र गफैगफमा जनताहरुलाई आसै आस देखाएर भुलाउने मात्रै नहोस । साँच्चै नै जाँगर लगाएर ठोस कामको सुरुवात गरियोस र यसमा पनि कसैको कमाइखाने भाँडो नवनोस । यो परियोजना राजधानी बासीको लागि अर्को सपना खेती नबनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.