राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहितका शीर्ष नेताको भाइटीकाः कसले को बाट लगाए ?

  २०७६ कार्तिक १३ गते ९:०७     विकासन्युज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा मंगलबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाएकी छिन् । चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । दुबै भाइले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए । त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् ।

उपराष्ट्रपतिबाट टीका ग्रहण
उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गरेका छन् । भाइटीकाका अवसरमा उनले रोल्पास्थित आफ्नै घरमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । टीका लगाइदिएपछि उनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । उपराष्ट्रपनि पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे । उपराष्ट्रपति पुनसँगै उनका भाइद्वय भीमप्रकाश पुन र दीपक पुनसमेतले दिदीबहिनीको हातबाट टीका लगाए ।

प्रधानमन्त्री ओलीको भाइटीका
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् ।

टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएका थिए । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।

दलका नेताको भाइटीका
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिहारको शुभसाइतमा आफ्ना दिदी बहिनीहरुबाट भाइटीका ग्रहण गरेका छन् । खुमलटारस्थित निवासमा अध्यक्ष दाहालले बहिनीहरु कमला, अप्सरा, सरस्वती, विष्णु र मिठुको हातबाट टीका लगाएका हुन् ।

यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नी दिदी कालिका भण्डारी तथा र बहिनीद्वय इन्दिरा न्यौपाने र वसुधा पोखरेलको हातबाट भाइटीका लगाए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भने यसपटक भाइटीका लगाएनन् । जुठो परेका कारण भाइटीका लगाउने कार्यक्रम नरहेको सभापति देउवाको स्वकीय सचिवालयले जनाएको छ ।

यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने जुठो परेका कारण भाइटीका लगाएनन् । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनमा पुगेर चार दिदीबहिनीको हातबाट टीका लगाएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.