बाइकको मूल्य ५७ लाख ९० हजार, अर्थमन्त्रीले भने-‘चढ्नेले कति आयकर तिरेको छ, हेर्नुपर्छ’

  २०७६ भदौ १० गते १३:०६     विकासन्युज

काठमाडौं । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोमा करिब तीन दर्जन ब्राण्डका कार, जीप, मोटर साईकल शोकेश गरिएका छन् । अर्थमन्त्री युवराज खतिवडाले मात्र एक दर्जन भन्दा बढी नयाँँ सवारीको पर्दा उघारे ।

त्यसमा एउटा बाइक पनि थियो । जसको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । उनले मूल्य नियालेर हेरे । बाइकको बिक्री संख्याबारे चासो राखे र स्टलबाट फर्किए । नाडाका अध्यक्ष शम्भु दाहालसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले भने–‘यी बाइक चढ्नेले कति आयकर तिर्छन, हेर्नुपर्छ ।’ दाहाल लगायत नाडाका पदाधिकारी हासेँ ।

फोर्डको कारको कभर पल्टाएपछि खतिवडाको ध्यान बैंकको स्टलमा गयो । गाडीको स्टलको अगाडि बैंकको स्टल । सानो, कुचुक्क परेको, लाइट कम भएको । तर त्यहि स्टलमा अर्थमन्त्री निकै बेर रोकिए । ग्लोबल आईएमई बैंकले आफ्नो स्टलमा ९.९९ प्रतिशत ब्याजमा कर्जा दिने जानकारीसहितको फ्लेक्समा मन्त्री खतिवडाको आँखा पुग्यो । स्टलमा भएका कर्मचारीलाई अर्थमन्त्रीले सोधे- कति समयको लागि हो यो ब्याज ? कर्मचारीले  जवाफ दिन सकेनन् ।

अर्थमन्त्रीले फेरी सोधे । ‘अहिले ९.९९ मा कर्जा दिनुहुन्छ । कति समयपछि ११ प्रतिशत बनाउनु हुन्छ, कति समयपछि १३ प्रतिशत बनाउनु हुन्छ ?’
‘अर्थमन्त्रीले सहि प्रश्न गर्नुभयो’–नाडा अटो शो २०७६ का प्रबक्ता अनुप बरालले भने ।

नाडा अटो शो उद्घाटन समारोहमा व्यवसायीको केही आलोचना र केही प्रशंसा गरेका अर्थमन्त्री प्रदर्शनी हल छिनुपूर्व ‘जोकी’ मुडमा थिए । पसिना पुस्दै एक घण्टा भन्दा बढी स्टलहरु भ्रमणमा बिताएका अर्थमन्त्री खतिवडाले कुनै पनि गाडीको स्टेरिङ समाएनन् ।

अर्थमन्त्रीको हातबाट उद्घाटन गर्न एउटै स्टलमा एक भन्दा बढी बाइक र कारहरु कपडाले छोपेर राखिएको थियो, तर अर्थमन्त्रीले एउटा/एउटा मात्र पर्दार्पण गरे । बाँकीलाई हात हल्लाएर बाइबाई गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.