२०७६ वैशाख २३ गते १३:३७ विकासन्युज
एक पटक लगाएको पहिरन दोस्रो पटक नलगाउने, १ अर्ब ५० करोड रुपैयाँ खर्चेर हेलिकप्टर चढ्ने, १८ करोड रुपैयाँमा गाडीहरु किन्न जस्ता सुविधाभोगी चरित्रका विवादमा तानिदै आएकी राष्ट्रपति विद्यादेबी भण्डारीले संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा २१ पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गरिन् । पञ्चायतकालिन शाही सरकारले झै मेरो सरकार भनेर सम्बोधन गर्दा लोकतन्त्र र गणतन्त्रको लागि बलिदान दिनेहरुको अनुहारमा आक्रोस देखियो । सामाजिक सञ्जालहरुमा राष्ट्रपति भण्डारी र सरकारको चरम आलोचनाको साथै व्याङ्ग्य प्रहार शुरु भएको छ ।
सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले मेरो सरकार भन्नुमा राष्ट्रपतिको मात्र दोष छैन, प्रधानमन्त्री र सिङ्गो मन्त्रिपरिषद् जिम्मेवार छ । सरकारले तयार गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी शैलीमा राष्ट्रपतिले संसद्मा बाचन मात्र गरेकी हुन् । ‘मेरो सरकार’ राष्ट्रपतिको निजी आकांक्षामा प्रयोग भएको हो वा प्रधानमन्त्री केपी शर्मा ओलीको चाहानामा ती शब्द लेखिएका हुन् ? कुनै दिन सार्वजनिक हुने नै छ । संविधानको धारा ७५ को उपधारा ३ मा ‘नेपालको संघीय कार्यकारिणी सम्बन्धी सम्पूर्ण काम नेपाल सरकारको नाममा हुनेछ’ प्रष्ट लेखिएको र गणतन्त्र आएको ११ वर्षसम्म नेपाल सरकारको नाममा नीति तथा कार्यक्रम प्रस्तुत हुने अभ्यास र सस्कार विकास भईरहेको अवस्थामा यस पटक किन ‘मेरो सरकार’ लेख्नुपर्यो ? खोजी हुनेनै छ ।
प्रधानमन्त्री निवासका जग्गा, प्रधानन्यायधिश निवासका जग्गा गैरकानुनी रुपमा बेचविखन हुँदा सरकारले आरोपित व्यक्तिहरुको बचाउँ गर्नु, सरकारले सिंहदरबार, नाराहिटी संग्रालय, टुडिखेल, रंगशाला र विश्वविद्यालयहरु समेत बिक्रीमा राखेको सन्देशसहितको व्याङ्ग्यचित्र÷कार्टनहरु आमसञ्चार माध्ययमहरुमा प्रकाशित हुने र राष्ट्रपतिले ‘नेपाल सरकार’ सट्टा ‘मेरो सरकार’ भन्नुले सरकारमा पुगेका व्यक्तिहरुले व्यक्तिलाई नै सर्वोपरी बनाउन थालेको, शक्तिशाली पदमा बसको व्याक्तिहरुले राज्यको सार्वजनिक सम्पत्तिलाई आफ्नो निजी देख्न थालेको संकेत गर्दछ ।
त्यति मात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा धेरै ठाउँमा अशुद्ध वाचन गरेकी छिन् । उनले पटक पटक शब्द र शब्द समूहहरुको अशुद्ध उच्चारण गरिन् र दोहोर्याएर वाचन गरिन् ।
विश्लेषण, मध्यस्तकर्ता, उत्पादकत्व वृद्धि, भेन्चर क्यापिटल, सिक्कल सेल अनमिया जस्ता शब्द उच्चारण अशुद्ध रुपमा गरिन् । उनले ‘बहुदलीय प्रतिस्पर्धात्मक’ शब्द उच्चारणमा पनि गल्ती गरिन् र दोहोर्याएर शुद्ध वाचन गरिन गरिन् ।
त्यस्तै, ‘स्थायीत्व तथा सुशासन’ भन्नु पर्नेमा ‘स्थायीत्व तथा अनुगमन’ पढेकी थिइन् । उनले दोहोर्याएर शुद्ध वाचन गरिन् । उनले ‘मेरो सरकारले ‘. गरिने छ’ जस्तो व्याकरणीय त्रुटीपूर्ण वाचन गरेकी थिइन् ।
चोभारमा निर्माणधित प्रदर्शनी स्थल तथा सुख्खा बन्दरगाहाको निर्माण ‘तीन वर्ष भित्र’ भन्नु पर्ने ठाउँमा ‘तीन वर्ष अघि’ भनेर पढिन् र पुनः सच्चाईन् । उनले १ घण्टा ४७ मिनेट लगाएर सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा लिने नीति तथा कार्यक्रम वाचन गरेकी थिइन् ।
नीति तथा कार्यक्रम गर्दा उनलाई केही कठिन भएको उनको स्वास प्रस्वासको गतिबाट सजिलै अनुमान गर्न सकिन्थ्यो । उनले बेलाबेलामा लामो स्वास लिँदा तथा लामो स्वास फेर्दा माइकबाट त्यसको आजाव सुन्न सकिन्थ्यो ।
राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तथ्याङ्क पनि गलत पढिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले ६ दशमलव ८१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेको छ । तर राष्ट्रपति भण्डारीले ८ प्रतिशत आर्थिक वृद्धि हुने दावी गरेकी छिन् । ‘मेरो सरकार’बाट हुने यस्तो गल्ती कहिले सुध्रला ?
Copyright © 2025 Bikash Media Pvt. Ltd.