राष्ट्रिय गौरवका आयोजनामा सुस्तता र मेलम्चीको भविश्य

  २०७५ माघ २७ गते १६:२४     विकासन्युज

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छ । विगत लामो समयदेखि चर्चामा रहेको मेलम्ची र त्यहाँबाट आउने पानी खाने काठमाडौँ उपत्यकावासीको सपना अब कहिले पूरा होला ? यो भन्न सकिने अवस्था रहेन । इटालियन कम्पनी सीएमसीसँग सरकारले ठेक्का तोडेपछि बाँकी काम अब कहिले पूरा हुने हो ? आयोजनाको काम कसरी अघि बढ्ने हो केही टुंगो लागेको छैन । विगत लामो समयदेखि मेलम्ची चर्चामा छ, यो बीचमा कति पटक सरकार बने, कति पटक सरकार फेरिए । खानेपानी मन्त्रालय मन्त्री पनि धेरै जना भए, जति जना मन्त्री भएपनि उनीहरुले मेलम्ची आउने कुरा भन्न छाडेनन् । पछिल्लो समय खानेपानी मन्त्री बिना मगरले पनि गएको दशैं मै मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई खुवाउने भाषण गरिन्, तर परिस्थिति यसरी बद्लियो कि अब त्यहाँको पानी खान कतिवटा दशैँ आउनु पर्ने हो कुनै टुंगो छैन । सिएमसीसँग मेलम्चीको ठेक्का किन तोडियो ? यसका धेरै कारण छन् । सरकार वा ठेकेदार कम्पनी सिएमसी को जिम्मेवार छ भन्नेमा तर्कहरु बाझिएलान, तर हाम्रो सरोकार के हो भने मेलम्ची जस्तो राष्ट्रिय गौरवको आयोजना किन यसरी अलपत्र पर्यो, काठमाडौँ उपत्यकावासी खानेपानीको अभावमा कतिञ्जेलसम्म काकाकुल भइरहने ?

मेलम्ची त एउटा उदाहरण मात्र हो । एकाध बाहेक मेलम्ची जस्तै महत्वका राष्ट्रिय गौरवका आयोजनाको काम जुन रुपमा हुन पर्ने हो त्यसरी अघि बढेको पाइदैन । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेका ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित एकाध बाहेक अधिकांश आयोजनाको अवस्था प्रभावकारी नभएको पाइन्छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बाहेक अन्य आयोजनाको अवस्था सन्तोषजनक छैन । राष्ट्रिय योजना आयोगले तयार पारेको विवरणअनुसार हाल लगानी बोर्डले हेरिरहेको पश्चिम सेती जलविद्युत् आयोजनाको हालसम्म कुनै पनि प्रगति हुन सकेको छैन । विगत २१ वर्षदेखि सो आयोजनाको प्रगति शुन्य प्रायः रहेको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले प्रवद्र्धन गर्ने भनिएको आयोजनामा केही प्राविधिक विषयमा कुरा नमिलेको भन्दै फिर्ता गएको छ । सरकारले सो आयोजना कसरी अगाडि बढाउने भन्ने विषयमा आवश्यक निर्णय गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी संलग्न कार्यदल गठन गरेको थियो । सो कार्यदलले हालसम्म प्रतिवेदन तयार पारेको छैन । प्रतिवेदन तयारीको क्रममा रहेको बताइन्छ । यस्तै, राष्ट्रिय गौरव कै अर्को आयोजनाको रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाको पनि हालसम्म समग्र भौतिक प्रगति नौ दशमलव नौ प्रतिशत र वित्तीय प्रगति दश प्रतिशत मात्रै भएको छ । विगत पाँच वर्षदेखि सो आयोजना चर्चाको केन्द्रमा छ । यस्तै राष्ट्रिय गौरवको अर्को आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । तर, पछिल्लो समय हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याकोले तोकिएअनुसार काम गर्न नसक्ने अवस्था आएपछि निर्माणको गति सुस्त भएको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइसँग जोडिएको सिक्टा सिँचाइ आयोजनामा समस्या आएको छ । नहरमा समस्या देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा निर्माण व्यवसायी, परामर्शदाता र प्राविधिक कर्मचारीले जिम्मेवारी पूरा नगरेको पाइएपछि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । विगत १२ वर्षदेखि निर्माणमा रहेको सो आयोजनाको भौतिक प्रगति ५६ दशमलव सात प्रतिशत र वित्तीय प्रगति ५६ दशमलव छ प्रतिशत रहेको छ ।

यी त केही उदाहरण मात्र हुन् । सरकारी आयोजनाहरु समयमा सम्पन्न हुँदैनन्, अनियमितता नभएको आयोजना भेट्नै मुस्किल छ । नेपालमा यो रोग विगतदेखि अहिलेसम्म छ । के यो रोगलाई निराकरण गरी अघि बढ्न सकिंदैन ? पक्कापनि यो कुरा गम्भीर छ । वर्तमान २ तिहाईको सरकारले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गरिरहेको छ । यही तालले त्यो परिकल्पना पूरा हुन गाह्रो छ । नेपाली जनताहरु विकास निर्माणको सपना बाँडेको सुन्न चाहिरहेका छैनन्, उनीहरु त अनुभूति हुने खालका विकास चाहिरहेका छन् ।

विगतमा आश्वासन त धेरै सुनिसकेका छन् । अब राष्ट्रिय गौरवका आयोजनाहरु पूरा भएको, देश औद्योगिकीकरणमा गएको, देशबाट भ्रष्टाचार न्यूनीकरण भएको र विकासको बाटोमा लम्किरहेको देशका रुपमा नेपाललाई उभ्याउनु अहिलेको आवश्यकता हो । अन्त्यमा हामी के भन्न मात्र चाहान्छौँ भने मेलम्ची खानेपानी आयोजनाको काम छिट्टै पूरा होस्, काठमाडौँवासीले काकाकुलको समस्याबाट उन्मुक्ति पाउन्, राष्ट्रिय गौरवका आयोजनाहरुको काम तीब्र गतिमा अघि बढोस्, यसतर्फ राज्य गम्भीर बनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.