विकास समिति बैठकमा साँसदको प्रश्नः मेलम्चीको पानी कहिले आउँछ ?

  २०७५ पुष १२ गते १२:१४     विकासन्युज


काठमाण्डौ । साँसदहरुले मेलम्चीको पानी कहिले आउँछ भन्दै खानेपानी मन्त्री बिना मगरलाई र्याखर्याख्ती पारेका छन् । साँसदको विकास तथा प्रबिधि समितिको बैठकमा साँसदहरुले मेलम्चीमा मन्त्रालयले खेलवाड गरेको भन्दै र्याखर्याख्ती पारेका हुन् । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा मेलम्ची खानेपानी आयोजनाको विद्यमान अवस्थाको बारेमा छलफल भएको छ ।

बैठकमा सत्तारुढ दल नेकपा कै साँसद टोपबहादुर रायमाझी भने–मेलम्ची आउन अझै २ वर्ष लाग्छ, जनतालाई नढाट्नुस, झुटो रिपोर्ट नदिनोस् । मेलम्चीबाट चिनियाँ र इटालियन कम्पनी किन भागे ? आफ्नै कारणले भागे कि हाम्रा कारणले ? आफै भागे कि भगाइए–साँसद रायमाझीले जवाफ मागेका थिए ।

अर्का साँसद लीलानाथ श्रेष्ठले ठेकेदार किन भाग्यो र किन फर्कियो ? अब कसरी काम गर्ने हो ? सिएमसीले आफैँ गर्दा कहिले पानी आउँछ ? छोडेर जाँदा कहिले आउँछ भनी खानेपानी मन्त्रीसँग जवाफ माग गरेका थिए ।

त्यसैगरी साँसद गणेश पहाडीले ठेकेदार कम्पनी खारेजी हुँदैछ भने काम कसरी हुन्छ भनी प्रश्न गरेका थिए । साथै, अब पानी कहिले आउँछ भन्ने सम्बन्धमा स्पष्ट जवाफ माग गरेका थिए ।

मेलम्चीको पानी कहिले आउँछ ? जनताको तिर्खासँग खेलाँची नगरियोस्–अर्का साँसद प्रभु साहले समितिको बैठकमा प्रश्न गरे ।
पानी ल्याउँछु ल्याउँछु भनेर झुट कुरा गर्ने ? जनतालाई गलत सूचना दिने ? हचुवाको भरमा पानी आउँछ भन्ने ? पानी आइहाल्छ भन्ने ?– अर्का साँसद राजेन्द्र राइको धारणा थियो ।

समिति बैठकमा साँसद हितबहादुर तामाङले सिमसीले छोड्यो भने मेलम्ची नआउने धारणा राखे । उनले भने–सो आयोजनामा नेपालीले काम गर्न सक्दैनन् ।

छलफलमा खानेपानी मन्त्री बिना मगरको उपस्थिति रहेको थियो । मन्त्री मगरले ठेकेदार कम्पनीलाई ३५ करोड भुक्तानी दिन खोजेको तर, सिएमसी लिक्विडेशनमा जान लागेकोले पैसा दिन नसकेको बताइन् ।

मन्त्री मगरले समितिको बैठकमा भनिन्–मंसिर २१ गते देखि सिएमसीलाई पैसा दिन खोजको तर मिलेन । मेलम्ची आयोजनाको ९३ प्रतिशत काम सकिएको छ–मन्त्री मगरले बैठकमा बताइन् ।

सो आयोजनामा अहिलेसम्म २६ अर्ब ३ करोड खर्च भइसकेको मन्त्री मगरले जानकारी दिइन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी इ–सेमेन्टेस्टी(सिएमसी दी रेभेन्ना) मा कार्यरत सबै प्राबिधिक स्वदेश फर्किएपछि आयोजनाको काम के होला भन्ने चासो भइरहेका बेला बिहीबार विकास समितिमा छलफल भएको हो ।

भुकम्प र लगत्तैको नाकाबन्दीले निर्माण कार्य प्रभावित भएको भन्दै ठेकेदार कम्पनीले मेलम्ची खानेपानी आयोजनासँग १ अब ६५ करोड क्षतिपूर्ति मागेको थियो । तर आयोजनाले मागेजति रकम दिन नसक्ने भनेपनि विवाद डिस्प्युट रेफेक्सन बोर्ड(डीआरबी)मा पुगेको थियो ।

दुबै पक्षको विवादपछि बोर्डले ३५ करोड रुपैयाँ क्षतिपूर्ति ठेकेदार कम्पनीले पाउनु पर्ने निश्कर्ष निकाल्यो । यसमा दुबै पक्ष सहमत भएका थिए, तर लगत्तै कम्पनीले आयोजनासँग क्षतिपूर्ति बापतको रकम माग गर्यो । तर आयोजनाले दिन मानेन । सोही निहुँमा ठेकेदार काम छोडेर हिँडेपछि आयोजना ३५ करोड रुपैयाँ तत्काल दिन सहमत भएको थियो । तर कम्पनीले सो रकम लिन मानेन । ठेकेदार कम्पनीले थप ६० करोड रुपैयाँ मागी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.