लाभांशकाे पर्खाईमा रहेका सेयर लगानीकर्ताको कस्तो छ मनोबल ?

  २०७५ असोज १ गते १४:२०     नारायण पौडेल

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा काराेबारका लागि सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने समय भएको छ । लामो समय ओरालो लागेको सेयर बजारमा यतिबेला केहि उत्साहका संकेतहरु देखिन थालेका छन् । प्रतिफलको आश, घट्दो ब्याजदर, बोनस र हकप्रद सेयरको नयाँ कर गणना हट्ने हल्ला लगायतका कारणले लगानीकर्तामा केही उत्साह थपिएको देखिन्छ । कम्पनीहरूले धमाधम लाभांशकाे घोषणा गर्न थालेका छन् ।

ब्रोकरहरुले पनि सेयर खरिदकर्ताहरुको चाप बढेको बताईरहेका छन् । यहि सन्दर्भमा हामीले केहि ब्रोकर कम्पनीहरुमा पुगेर लगानीकर्ताहरुको मनोबल बुझ्ने प्रयास गर्यौं । उनीहरुले सेयर बजारका लगानीकर्ताहरुको मनोबल बढेको भएपनि ढुक्क भने नभैसकेको बताए ।

सेयर किन्ने पोजिसनमा छु

म अहिले सेयर किन्ने पोजिसनमा छु । विगत ३।४ दिनदेखि सेयर खरिद गर्ने सोँचमा छु । पर्ख र हेरको अवस्थमा छु । अहिले सेयर बजार न यता, न उताको अवस्थामा छ । बैंकहरुको सेयरमा कम जोखिम देखेर बैंककै सेयर किन्ने सोँच बनाएको हुँ ।

विगत ६।७ महिनादेखि सेयर खरिद गरेको थिईन् । अब केहि समय सेयर बजार बढ्छ । दशैं ताका भने बजार फेरी घट्न सक्छ । दशैं मनाउन पैसाको जोहो गर्नका लागि बेच्नेहरुको चाप बढ्छ । अनि बजार घट्छ । तर अहिले केहि समय भने बजार पक्कै पनि बढ्छ नै ।

किन्ने तयारीमा छु
विनोद वाग्ले, लगानीकर्ता
अहिले म किन्ने तयारीमा छु । लगानीकर्ताको मनोबल विस्तारै बढ्दै गएको छ । पछिल्लो डेढ बर्षमा सेयर बजार धेरै घट्यो । अहिले बढ्दा पनि धेरै बढिरहेको छैन् । केहि दिनदेखि ग्रीन सिग्नल देखिएको छ । म्युचुअल फण्ड र लगानीकर्ताहरुको लगानी केहि बढिरहेको छ । विगत बर्षहरुमा भन्दा यो बर्ष सेयर बजार केहि बढ्ने देखिन्छ ।

म पनि डेढ महिनादेखि सेयर खरिद गर्ने साेचमा छु । म करिब ५।६ महिनासम्म सेयर किन्ने र बेच्ने दुबै बन्द गरेर बसेको थिएँ । सेयर होल्ड गरेर बसेको थिएँ । लागत मूल्य भन्दा कममा गएर सेयर बेचिँन । अहिले भने लगानीकर्ताको मनोबल केहि बढेको छ ।  त्यसको कारण भनेको लाभांश घोषणा गर्ने समय हो । यो लगानीको प्रतिफल आउने समय हो । कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्छन् ।

स्थायी सरकार आएको छ, लगानी गर्ने विश्वसनिय आधार भएको क्षेत्र  सेयर बजार  नै हो । बोनस र हकप्रद सेयरमा लगाउने भनिएको कर हटाउन अर्थमन्त्रालय सकारात्मक देखिएको छ । त्यसकारण यतिबेला सेयर बजारमा उत्साह थपिएकै छ ।

अहिले सेयर बेच्ने मुर्खता गर्दिन
कमल भारती, लगानीकर्ता
म यतिबेला सेयर किन्ने वा बेच्ने अवस्थामा छैन् । सेयर होल्ड मात्रै गरिरहेको छु । यो लाभांश घोषणा गर्ने समय हो । किन्ने वा बेच्ने भनेको कात्तिकको पहिलो हप्तामा निर्णय गर्छु । त्यतिबेला बैंकहरुले घोषणा गर्ने नयाँ ब्यजदरपछि बजारमा के गर्ने भन्ने निष्कर्ष निकाल्छु । यतिबेला चाँही बजारमा खासै ठूलो परिवर्तन आईहाल्ने अवस्था देखिन्न ।

गत बर्ष पनि यहि बेला नविल बैंक, ज्योति र मुक्तिनाथ विकास बैंकले सेयर कर्जा निकालेका थिए । कात्तिकमा नयाँ ब्याजदर आयो । अहिलेका लागि बेचेर निस्कने निर्णय मुर्खतापुर्ण हुनसक्छ । यो होल्ड गरेर बस्ने समय हो ।

पर्ख र हेरको अवस्थामा छु
कुमार फुँयाल, लगानीकर्ता
म यतिबेला पर्ख र हेरको अवस्थामा छु । २ महिनादेखि सेयर किन्ने र बेच्ने दुबै काम गरिरहेको छैन् । बजार केहि बढ्यो भने बेच्ने सोँचमा छु । तत्काल सेयर किन्ने सोँच बनाएको छैन् ।

बजारमा धेरै पक्षले भूमिका खेलिरहेका हुन्छन्, त्यसमा धितोपत्र बोर्ड पनि स्पष्ट छैन् । बाणिज्य बैंकहरु २ अर्बबाट ८ अर्ब रूपैयाँमा पुगेका छन् । आम मानिसमा सेयरको पहुँच भने पुगेको छैन् । सेयरमा लगानी गर्दा भन्दा पनि बैंकमा राख्दा धेरै ब्याजदर पाउने अवस्था छ ।

त्यसकारण बजार माथी पुग्छ वा स्थिर हुन्छ भन्ने मलाई लागेको छैन् । दुई तिहाईको सरकार भनिएको छ तर पनि राजनीतिक स्थायीत्व चाँही देखिएको छैन् ।यद्यपी म बजारबाट भागिरहेको चाँही छैन् । पर्ख र हेरको अवस्थामा छु । अहिले कम्पनीहरुले लाभांश घोषणा गर्ने समय छ । साना लगानीकर्तालाई चाडबाड मनाउन सेयर बेच्नुपर्ने अवस्था छ । ठूला लगानीकर्ता यतिबेला नै खरिद गर्ने सोँचमा होलान् । बैंकले सेयर देला भन्ने अनुमान गरेर बजार बढेको हुन सक्छ तर बोनस दिन्छन की नगद लाभांश दिन्छन् एकिन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.