४० मेगावाटको रघुगङ्गा जलविद्युत् आयोजना निर्माण शुरु, ३ वर्षमा बिजुली बल्ने

  २०७५ असोज १ गते ९:०७     विकासन्युज

म्याग्दी । ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको हो । आयोजना निर्माणका लागि ६ अर्ब रुपैयाँमा गत वर्ष मङ्सिर ५ गते जेपीसंग ठेक्का सम्झौता भएको थियो ।

ठेकेदार कम्पनीले नक्साङ्कन (डिजाइन) को काम सकेर बाँध, सुरुङसम्म पुग्ने सडक निर्माण र व्यवस्थापकीय काम शुरु गरेको रघुगङ्गाका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताए। पाण्डेका अनुसार मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाइएको छ । ठेकेदारले अहिले निर्माण पूर्वतयारीको कामलाई तीव्रता दिएको छ ।

प्रवेशबिन्दु घुमाउनेतालदेखि पिप्लेतर्फ ६०० मिटर सडकको ट्याक खुलेको छ । आवासगृह भवन निर्माण र विद्युत्गृह क्षेत्रमा काम गर्नका लागि झाडी, रुख हटाउने र उपकरण जुटाएर तयारी अवस्थामा राखेको छ ।

ठेक्का सम्झौताको स्वीकृतिका लागि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले छ महिना लगाउँदा ठेकेदार परिचालनमा ढिलाइ भएको हो । सिभिल निर्माणको काम ३९ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ ।

पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा विगत नदोहोरियोस् भन्ने सरोकारवालाको अपेक्षा छ । म्याग्दीको जलविद्युत् विकासको मेरुदण्ड मानिएको रघुगङ्गालाई सहजरुपमा समयमै सम्पन्न गराउनुपर्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए।यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.