सबैको एकै स्वर : बीमाको पहुँच ५० प्रतिशत पुर्‍याउने

  २०८१ जेठ १ गते १९:०५     विकासन्युज

Insurance CEO'sकाठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको नेपाल बीमा प्राधिकरण स्थापनाको ५५ वर्ष पूरा गरी ५६औं वर्षमा प्रवेश गरेको छ । बीमा ऐन, २०२५ बमोजिम वि.सं. २०२६ सालमा बीमा समिति स्थापना भएको थियो । बीमा ऐन २०२५ लाई प्रतिस्थापन गर्दै वि.सं. २०४९ सालमा बीमा ऐन, २०४९ लागू भयो । बीमा ऐन २०४९ लाई प्रतिस्थापन गरी हाल बीमा ऐन, २०७९ आएको छ । नयाँ बीमा ऐन, २०७९ लागू भए पश्चात् २०७९ कात्तिक २२ गतेदेखि तत्कालीन बीमा समिति नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भई स्वायत्त निकायका रूपमा कार्य गर्दै आएको छ ।

बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न, बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउन र बीमितको हित रक्षा गर्न प्राधिकरण प्रतिवद्ध रहेको कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउँछन् । सोही बमोजिम प्राधिकरणले आगामी आर्थिक वर्षमा बीमाको पहुँच ५० प्रतिशत पुर्याउने लक्ष्य राखेको उनले बताए ।

‘आगामी आर्थिक वर्षमा ५० प्रतिशत पहुँचको लक्ष्य हासिल गर्न बीमा कम्पनीहरूले पनि वार्षिक कार्यक्रम तथा बजेट बनाउनुपर्छ । त्यसपछि ५० प्रतिशत लक्ष्य सजिलै हासिल गर्न सकिन्छ,’ उनले भने, ‘बीमाको दायरा तल्लो क्षेत्रसम्म पुर्याउन विभिन्न जागरण अभियान चलाउन आवश्यक छ । त्यसका लागि कम्पनीहरूले बीमाको सेवामा विशेष ध्यान दिनुपर्छ ।’

बीमा सर्भेयर संघ नेपाल (निसा)का अध्यक्ष मोहन पुरुष ढकाल बीमा क्षेत्रको दायरा बढाउने र विस्तार गर्ने काम बीमा कम्पनी र बीमा प्राधिकरणको रहको बताउँछन् । बीमा विश्वासको व्यापार भएकोले बीमा कम्पनीहरूले यो विश्साव कायम राख्न सक्नु पर्ने उनको भनाइ छ ।

‘यो विश्वासलाई कायम राख्न सबै स्टेकहोल्डरहरूले हातेमालो गर्नुपर्छ । नबुझेका विषय एकले अर्कालाई सिकाउँनुपर्छ । एउटा गल्ति भयो भने बीमा क्षेत्रमा दाग लाग्न सक्छ । त्यसैले सजग भएर काम गर्नुपर्छ,’ उनले भने ।

उनका अनुसार बीमा प्राधिकरणमा दाबी भुक्तानी विवादका मुद्दाहरूको चाङ लागेका छन् । यी विवादित मुद्दाहरू समाधानका लागि बीमा प्राधिकरणले सर्भेयरको राय सुझाव लिने गरेको हुँदा सर्भेरहरूका लागि गर्वको विषय रहेको उनको भनाइ छ । साथै, बीमा क्षेत्रमा लामो समय काम गरेर अवकास पाएका व्यक्तिलाई नीति निर्माणमा संलग्न गराउनु पर्ने उनले माग राखे ।

‘बीमा क्षेत्रमा कहिले पनि अवकास हुँदैन । तर, केही केही क्षेत्रमा अवकास पाउँछन् । त्यस्ता अवकास पाएका व्यक्तिलाई नीनि निर्माणमा संलग्न गराउनुपर्छ । बीमा क्षेत्रमा वि.सं २०५० सालदेखि काम गर्दै आउनु भएका मान्छेहरू अहिले ३० वर्ष पुग्यो । ३० वर्षमा अब अवकास लिनुपर्छ । ती व्यक्तिहरूलाई नीति निर्माणमा आवद्ध गराउनुपर्छ,’ उनले भने ।

गार्डियन माइक्रोइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बीमासँग सम्बन्धीत सबै व्यक्ति तथा संस्थाहरूले इमानदार भएर काम गर्नुपर्ने बताए । उनका अनुसार सबैले इमानदार भएर काम गर्ने हो भने दायरा व्यापक र व्यवसाय वृद्धि हुने उनको भनाइ छ । त्यसपछि मात्रै प्राधिकरणको ५० प्रतिशत लक्ष्य हासिल गर्नसकिने उनले बताए ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री बीमा कम्पनीहरूको अभिभावक भएकाले बीमा प्राधिकरणका मार्गदर्शन अनुसार काम गर्याे भने यस क्षेत्रले फड्को मार्ने बताउँछन् । आर्थिक मन्दि सहज भएपछि बीमाको दायरा स्वतः बढ्ने उनको भनाइ छ ।

‘प्राधिकरणले नीति निर्देशन परिवर्तन गर्दा कम्पनीहरूसँग सुझाव सल्लाह लिनुपर्छ । कहिलेकाहीँ राम्रो काम गर्दा गर्दै नकारात्मक प्रभाव परेका उदाहरण छन् । जस्तो बीमा कम्पनीले बजारमा कुनै नयाँ प्रडक्ट लायो भने सबै प्रडक्टहरू हिट र बिक्री हुन्छन् भन्ने हुँदैन,’ उनले भने, ‘त्यसकारण बीमा क्षेत्र चलायमान गर्न सहकार्य गरेर अगाडि बढ्नुपर्छ । किनभने नियामक भएपछि कम्पनीलाई पेनाल्टी तोक्ने, कडा कारवाही गर्ने भन्दा पनि भइरहेका कामलाई सुविधा दिएर सहजीकरण गर्नुपर्छ ।’

नेपाल जीवन बीमक संघका अध्यक्ष पोशकराज पौडेल बीमा क्षेत्रका बारेमा बीमा उद्योगलाई गर्व गर्न लायक क्षेत्रका रूपमा स्थापित गर्न प्राधिकरणले भूमिका निर्वाह गरिरहेको बताउँछन् । उनका अनुसार बीमा कम्पनीहरूले वार्षिक रूपमा १ लाख बढी ग्राहकलाई ६० अर्ब भन्दा बढी दाबी भुक्तानी गर्दै आएका छन् ।

‘बजेटको पूर्वसन्ध्यामा सरकारलाई बीमाको महत्वबारे सन्देश दिन र सम्पूर्ण बीमाकर्मी बीमितलाई खबर गर्न विभिन्न कार्यक्रम गर्नुपर्छ,’ उनले भने, ‘बीमा उद्योगलाई गर्व गर्न लायक बनाउने प्राधिकरणले भूमिका निर्वाह गर्नुपर्छ । र, प्राधिकरणको ५० प्रतिशत पुर्याउने लक्ष्यलाई सबैले साथ दिनुपर्छ । समग्र क्षेत्रको सुरक्षाका लागि बीमा आवश्यक छ ।’

जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब पुगेकाले लगानी गर्न सक्षम पनि रहेको उनले बताए । कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान बढेकाले बीमा उद्योग गर्व गर्न लायक रहेको उनको भनाइ छ

प्राधिकरणका सञ्चालक समिति सदस्य कपीलदेव ओली बीमाको जागरणका लागि सबैको हातेमालो आवश्यक रहेको बताउँछन् । बीमा क्षेत्रमा लामो समय बिताउँदा धेरै हण्डर, ठक्कर, अप्ठ्यारा पार गरेको अनुभव रहेको बताउँदै उनले बीमा क्षेत्रलाई समृद्ध बनाउन सफलता पनि प्राप्त गरेको उनको भनाइ छ ।

‘व्यवसायीक प्रवद्र्धन, विकास, बीमालाई व्यवस्थित गर्न सबैको अतुलनीय योगदान छ । नियामक जन्मीदा अर्थमन्त्रालयको एउटा सानो इकाइबाट स्थापना भएको अहिले प्राधिकरण बनेको छ । स्वायत्त निकायका रूपमा काम गरिरहेको प्राधिकरणले नियमनको विकास, क्षमता अभिवृद्धि गर्दै अझै उचाईमा पुग्नुपर्छ ।’

प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमासँग सम्बन्धीत सबै व्यक्ति तथा संस्थाहरूको भूमिका फरक फरक भएपनि एउटै परिवार रहेको बताए । बीमा प्राधिकरण ५७ वर्ष पुग्दा बीमाको दायरा आजको भन्दा बढेको देख्न पाइने उनको भनाइ छ । नीति निर्देशिका, मार्गदर्शन जारी गर्नुभन्दा अगाडि बीमकहरूको सुझाव लिने गरेको उनले बताए ।

‘सरकारका नीति, रणनीति र पञ्चवर्षीय योजनामा बीमा प्रवद्र्धनका विषय समावेश हुनु आवश्यक छ । भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरूबाट सिर्जना हुने जोखिम विरूद्ध आर्थिक सुरक्षण गर्न पूर्वाधारहरू लगायत सबै सरकारी सम्पत्तिको बीमा गर्न सरकारबाट पहल हुने विश्वास छ,’ उनले भने ।

सबैको प्रयासमा सफलताका साथ अगाडि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको उनले बताए । उनका अनुसार कम्पनीहरूले न्यून आय भएका र विपन्न वर्गलाई लक्षित गरी गाउँगाउँमा सेवा विस्तार गर्नुपर्छ, नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल, बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

One comment on "सबैको एकै स्वर : बीमाको पहुँच ५० प्रतिशत पुर्‍याउने"

  • Raja Karki says:

    First of all , make payment of Corona Insurance.
    Insurance is done from your insurance company and you must be liable to make payment to the public.
    Dont pass your problem to the Goverment.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.