हामीलाई राख्न जेलको संख्या बढाउनुस्ः व्यवसायी, मन्त्री भन्छनः जेल आराम गर्ने ठाउँ हो

  २०७५ भदौ २८ गते १६:२८     विकासन्युज

काठमाडौं । ‘नयाँ कानुनले व्यवसायीलाई जेल हाल्ने कुरामै जोड दिएको छ, त्यसलाई नसच्याउने हो भने मन्त्रीज्यू, अब हामी उद्योगी व्यवसायीलाई राख्न जेलहरुको संख्या बढाउनुस ।’, बिहिबार नेपाल उद्योग बाणिज्य महासंघमा पुगेका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवलाई महासंघको ३ नम्बर प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले भने ।

उनले कानुनहरुले उद्योगी व्यवसायीले गलत काम मात्रै गर्छन भन्ने नजिर स्थापीत गरिरहेको र जेलनेलका कुरामै केन्द्रित रहेकाले तत्काल संसोधन नगरिए सबै व्यवसायी जेल पुग्ने अवस्था आउने पनि बताए ।

महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि व्यवसायीहरुलाई बजार अनुगमनका नाममा दुःख दिइएको बताए । गोल्छाले बजार अनुगमनमा सञ्चार माध्यमलाई सहभागी गराएर व्यवसायीको हुर्मत लिने काम बन्द गर्नुपर्ने धारणा पनि राखे ।

सरकारले निजी क्षेत्रलाई सकारात्मक रुपमा नहेर्दासम्म लगानी प्रवद्र्धन नहुने बताएका थिए । गोल्छाले नेपालमा उत्पादित वस्तुहरुको गुणस्तरका बारेमा सरकारले नै नागरिकमा चेतना बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उद्योग मन्त्रीको जवाफ
उद्योगी व्यवसायीहरुको दर्जनौं प्रश्नहरु सुनिसकेपछि मन्त्री यादवले सुरुमै भने–’मन्त्री पद छाड्न तयार छु तर बजार अनुगमन रोक्दिन् ।’
उनले अनुगमनमा जाँदा अनावश्यक दबाव आईरहेका बताउँदै दबाव दिन छाडेर सत्यका पक्षमा उभिन पनि व्यवसायीलाई सुझाव दिए ।
मन्त्री यादवले कानुनसँग नडराउन व्यवसायीलाई आग्रह पनि गरे । ‘व्यवसायीले कानुनसँग डराउनु पर्दैन, राम्रो गर्नेलाई त्यसले छुँदैन, जेल जानु पर्दैन, जेल जाने काम भनेको राजनीतिज्ञको हो, हामीलाई त जेल भनेको आराम गर्ने ठाउँ जस्तै हो’
मन्त्री यादवले राजनीतिज्ञ, उद्योगी र कर्मचारी प्रति नागरिकको विश्वास घट्दै गएको पनि बताए ।
‘राजनीतिज्ञ, उद्योगी व्यवसायी र कर्मचारी प्रति नागरिकमा आक्रोस छ, अब हामीले सुध्रनु पर्छ’, मन्त्री यादवले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.