संसारकै सबैभन्दा लामो केबल कार नेपालमा बन्दै, बिरेठाँटीदेखि मुक्तिनाथसम्म ८३.६५ किलोमिटर

  २०७५ भदौ २८ गते ८:५२     विकासन्युज

काठमाडौं । संसारको सबैभन्दा लामो केबल कार नेपालमा बन्ने भएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथमा संसारकै लामो केबल कार निर्माण हुन लागेको हो । कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकार निर्माण गर्न लागिएको हो ।

हालसम्म विश्वमा १५ किलोमिटर भन्दा लामो केबलकार निर्माण भएका छैनन् । संसारकै लामो केबलकार निर्माण गर्न लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालीबिच १८ महिनाभित्रै विस्तृत परियोजना प्रस्ताव(डीपीआर) बनाउने सम्बन्धी सहमति पत्रमा हस्ताक्षरभएसँगै केबल कारको काम अघि बढेको हो ।

कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकारको निर्माण लागत करिब ३४ करोड अमेरिकी डलर बराबर हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ । यो केबल कार निर्माण भएमा पोखराबाट मुक्तिनाथसम्मको यात्रा केहि घण्टामै सिमित हुनेछ ।

डीपीआर निर्माण सम्बन्धी सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालीका अध्यक्ष अरुण कुमार सुवेदीले हस्ताक्षर गरेका हुन् ।

बिरेठाँटीमा मुल स्टेशनसहित केबलकारका ६ वटा स्टेशनहरु रहनेछन् । घोरेपानी, तातोपानी, लेते मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथमा सब स्टेशनहरु निर्माण हुनेछन् । २०७५ बैशाख १५ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले बिरेठाँटी मुक्तिनाथ केबलकारको डीपीआर तयार पार्न निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार बोर्डले मुक्तिनाथ दर्शन प्रालीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार प्रालीले आगामी १८ महिनाभित्र डीपीआर तयार गरेर बुझाउने छ ।

हिन्दु र बौद्ध धर्मावलम्बीहरुको पवित्र तिर्थस्थलका रुपमा रहेको मुक्तिनाथमा केबल कार निर्माणले पर्यटन प्रवद्र्धनमा ठूलो मदत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.