परीक्षा नियन्त्रण कार्यालयको गम्भीर त्रुटी

  २०७५ असार १७ गते ८:४२     विकासन्युज

परीक्षा नियन्त्रण कार्यालयले गत साता सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा व्यापक त्रुटी देखिएको छ । माध्यमिक तहको परीक्षा प्रकाशनमा भएको संभवत यो नै ठुलो त्रुटी हो । जसका कारण एक जना विद्यार्थीले नम्बर कम आएपछि आत्महत्यासम्म गरेका छन् । कार्यालयले विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी परीक्षाफल सार्वजनिक गरेपछि यस्तो अवस्था आएको हो ।

परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट विद्यार्थीले पाएको स्तरीकृत अंक भन्दा ग्रेड पोइन्ट एभरेज भटाभट बढ्न थालेपछि कार्यालयको प्राविधिक त्रुटि पत्ता लागेको थियो ।

कार्यालयले पर्याप्त, तयारी, रुजु र पुनरावलोकन नगरी परीक्षाफल प्रकाशित गर्दा प्राविधिक गडबडी भएको पाइएको हो । कार्यालयले हतारहतारमा परीक्षाफल प्रकाशित गर्दा यस्तो त्रुटि आएको थियो । कार्यालयले कूल विद्यार्थीको नतिजा के कति बढोत्तरी भयो ? भन्ने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन । यसबारे थप अध्ययन र छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कार्वाही गर्नुपर्छ ।

परीक्षाफल प्रकाशनमा गम्भीर त्रुटी देखिएपछि आफुलाई बचाउ गर्दै कार्यालयका कर्मचारीले पछिल्लोमा जुन अंक देखिन्छ, त्यही आधिकारिक र सक्कली हो भनेका थिए । पछिल्लो ग्रेड सिटअनुसार सबै ग्रेडमा विद्यार्थीको स्तर सामान्य वृद्धि भएको देखिएको छ । ए ग्रेड आउनेको ए प्लस, बी प्लस आउनेको ए ग्रेडसम्ममा हेरफेर भएकोछ ।

भर्ना मापदण्डअनुसार विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, व्यवस्थापन, मानविकी र शिक्षा अध्ययन गर्न न्यूनतम १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । जीपीए १.६ भन्दा बढी ल्याए पनि विषयगत रूपमा निश्चित ग्रेड ल्याउनुपर्ने हुन्छ ।

यसलाई आधार मान्ने हो भने मुलुककै शैक्षिक गुणस्तर गतवर्षको भन्दा खस्किएको पुष्टि हुन्छ । यसबाहेक अन्य समूहमा भने गतवर्षको भन्दा सुधार भएको छ । ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ९.५० प्रतिशत रहेकोमा यसपालि ९.५२ पुगेको छ । त्यस्तै २.८५ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ११.११ प्रतिशत रहेकोमा यसपालि १३.९० प्रतिशत पुगेको छ ।

एकातिर कम अंक ल्याउने समेत अध्ययन गर्न पाउने भएपछि विद्यार्थीले मेहनत गर्न छाडेको परीक्षाफलबाट स्पष्ट हुन्छ । सरकारले सञ्चालमा ल्याएको एसईईलाई सुधार गर्नुपर्ने देखिएको छ । यस्तै परीक्षाफल प्रकाशनमा गलत गर्नेलाई कार्वाहीको दायरामा ल्याउनुपर्छ । अर्को वर्षदेखि यस्तो समस्या नदेखियोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.