विश्व कप विकृतिः छतमा विदेशी झण्डा फरर, सडकमा मोटरसाइकल र्याली सरर

  २०७५ जेठ ३० गते १३:११     नारायण पौडेल

काठमाडौं । काठमाडौंका घरमा ब्राजिलका झण्डा फहराईए, धादिङमा अर्जेण्टीनाका पक्षमा मोटरसाईकल र्याली निस्कयो । आखिर हामी कता जाँदैछौं ? कुरा कुन देशको झण्डा किन फहराईयो भन्नेसँग मात्रै सिमित छैन् । कुन देशका पक्षमा मोटरसाईकल र्याली निकालियो भन्ने कुरासँग मात्रै पनि सिमित छैन् । कुरा त नागरिकको कर्तव्यको हो । हाम्रो प्राथमिकता र सोँचको हो ।

धादिङमा अर्जेण्टीनाका पक्षमा मोटरसाईकल र्याली निकाल्ने तयारी गर्दै नेपाली समर्थक र काठमाडौंको एक घरमा फहराईएको ब्राजिलको झण्डा

हामीलाई संबिधानले नै अधिकारसँगै कर्तव्यहरुको पनि सूचि उपलब्ध गराएको छ । हामीले अक्षुण्ण मुलुकका पक्षमा आफुलाई उभ्याउने हो । ब्राजिलको झण्डा फहराउने र अर्जेण्टीनाका पक्षमा र्याली निकाल्नेहरुको नियतमा शंका गर्ने ठाउँ छैन तर के उनीहरुले त्यसो गर्नु आवश्यक थियो ? प्रश्न यत्ति हो । सन २०१४ को विश्व कप ताका बंगलादेशले आफ्ना नागरिकलाई विदेशी मुलुकको झण्डा घरमा फहराउन नपाउने व्यवस्था गरेको थियो ।

भोली भारत र चीन विश्व कप फुटबल वा अन्य कुनै खेलमा प्रतिष्पर्धा गर्न उत्रेलान् । त्यति बेला कसैलाई आफ्नो घरमा भारतको झण्डा फहराउन इच्छा लाग्ला त कसैलाई चीनको झण्डा फहराउन मन लाग्ला । कसैलाई चीनका पक्षमा र्याली निकाल्न मन लाग्ला त कसैलाई भारतका पक्षमा । त्यति बेला हाम्रो राज्य के हेरेर बस्छ ? हाम्रा सडकमा भारत र चीन जिन्दावाद भनेर नारा लाग्यो भने के गर्ने ? किनकी नेपालीहरुको भारतसँग रोटी बेटीको सम्बन्ध पनि छ र चीनसँगको सम्बन्ध पनि उस्तै छ ।

यहाँ विश्वकप फुटबल प्रतियोगीतामा कुनै देशको टिमलाई समर्थन गर्न पाइँदैन भन्न खोजिएको किमार्थ होइन् । नेपाल सहभागी नभएको जुनसुकै खेलमा कुनै न कुनै देशको टिमलाई समर्थन गरिन्छ नै । त्यसमा पनि फुटबल जस्तो विश्वकै सर्वाधिक लोकप्रिय खेलमा कसै न कसैको पक्षधरता स्वभाविक हो । पंक्तिकारको पनि कुनै न कुनै देशको टिमले जितिदिए हुन्थ्यो भन्ने चाहना छ । तर सवाल के हो भने हामी अन्य देशको झण्डा फहराउन र र्याली निकाल्न किन उद्यत भयौं ?

सडकमा फलानो देश जिन्दावाद भनेर त्यो देशको झण्डा फहराउँदै नारा लगाउन मिल्छ की मिल्दैन् ? त्यो नेपाली नागरिकको प्राथमिकताको बिषय हो की होइन् ? नेपाल सरकारले त्यस्तो अवस्थामा के गर्नु पर्छ ? त्यस्ता गतिबिधी ठिक छन वा त्यसको नियमन आवश्यक छ ?

मोटरसाइकल र्याली निकाल्ने दुई देशका समर्थकबीच झडप भयो भने के गर्ने ? झण्डा फहराउने प्रतिष्पर्धामा दुई छिमेकीबीचको सम्बन्ध सदाका लागि बिग्रियो भने के गर्ने ? त्यसकारण सरकारले कुनै पनि देशको समर्थनमा नेपाली भूमिभित्र र्याली, सभा, सम्मेलन गर्न रोक लगाउँनु पर्छ । नेपाली नागरिकका घरका छतमा विदेशी झण्डा फहराउने गतिबिधी पनि सरकारले नियन्त्रण गर्नु पर्छ । बुढी मरि भन्दा पनि काल पल्कने सम्भावनाबारे पनि सरकारले समयमै सचेत हुनु आवश्यक छ ।

यस्तो छ काठमाडौं जिल्ला प्रशासन कार्यालयको  निर्देशन
आगामी विश्वकप २०१८ का खेलहरु क्लब, संघ, संस्था तथा निजी व्यवसायीहरुले आ–आफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जनको लागि प्रदर्शन गर्ने सन्दर्भमा निम्न लिखित शर्तहरुको अधिनमा रहेर मात्र प्रदर्शन गर्ने गराउने गरी सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

-खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने ।
-प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाइने ।
-खेलको हार जित लगायतका विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल -खेलाउन नपाइने ।
-सार्वजनिक स्थलमा गरिने प्रदर्शनका हकमा मादक पदार्थ खरिद, बिक्रि, ओसार–पोसार तथा सेवन गर्न गराउन नपाइने ।
-निजी व्यवसाय र प्रतिष्ठानका हकमा खेलको विषयलाई समेत लिएर हुन सक्ने असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा -सीसीटीभी निगरानीको व्यवस्था गरिएको हुनु पर्ने ।
-सार्वजनिक स्थलमा हुने प्रदर्शनले अव्यवस्थित रुपमा पार्किङ गरी हुन सक्ने ट्राफिक एवं सार्वजनिक आवागमनलाई अवरोध गर्न नपाइने ।
-होहल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा पार्न नपाइने ।
-प्रदर्शन स्थलमा भएका कुनै गतिविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवार आयोजक आफै हुनु पर्ने छ ।
-प्रदर्शन स्थलमा कुनै पनि अवाञ्छित क्रियाकलाप भएमा त्यसको नतिजाप्रति आयोजक आफै पूर्ण रुपमा जिम्मेवार हुनु पर्ने छ ।
आयोजकले शान्ति सुरक्षा सम्बन्धि विषयमा स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर मात्र प्रदर्शनको व्यवस्था मिलाउने ।-वासुदेव घिमिरे–सहायक प्रमुख जिल्ला अधिकारी

संबिधानको धारा ४८ मा नागरिकहरुको कर्तव्य लेखिएको छ ।

प्रत्येक नागरिकका कर्तव्य देहाय बमोजिम हुनेछन्ः
(क) राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्नु,
(ख) संबिधान र कानुनको पालना गर्नु,
(ग) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,
(घ) सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.